बाढीले बगाउँदा पनि आत्तिएनन् सशस्त्रका गोताखोर रमेश, आफू बाँचेपछि मजदुरको जीवन बचाए

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीले चारैतिर हिलो, लेदो र ढुंगासहितको भीषण भेल ल्याइरहेको थियो। पानीको बहाव यति तीव्र थियो कि त्यसमा परेपछि बाँच्नु असम्भवजस्तै देखिन्थ्यो। तर सशस्त्र प्रहरी बल नेपालका गोताखोर प्रहरी नायब निरीक्षक रमेश थापा भने त्यस्तो अवस्थामा पनि आत्तिएनन्।

बिज्ञापन

बाढीको भेलले उनलाई नै बगाएर लैजाँदै थियो। शरीरमा ढुंगा र लेदोले ठक्कर दिइरहेको थियो। नाक र मुखमा हिलो मिसिएको पानी पसिरहेको थियो। तर उनले वर्षौंदेखि गोताखोरी तथा उद्धार तालिममा सिकेको सीपलाई सम्झिए र बहावसँग संघर्ष गर्नुको सट्टा त्यसलाई आफ्नो पक्षमा प्रयोग गर्ने प्रयास गरे।केही समय सास रोकेर उनी बाढीको बहावसँगै बगे। सुरक्षित स्थान खोज्दै किनारतर्फ पुग्ने प्रयास गरे। अन्ततः भेलले उनलाई एउटा ठूलो ढुंगासम्म पुर्‍यायो। उनले त्यही ढुंगा बलियोसँग समातेर आफूलाई रोक्न सफल भए।

बिज्ञापन

‘मलाई सबै कुरा याद छ। म डराइनँ। बाढी पार गर्छु भन्ने हिम्मत आइरह्यो,’ बाढीबाट जोगिएपछि रमेशले त्यो भयावह क्षण सम्झिएका छन्।तर उनको संघर्ष त्यतिमै सकिएन। केहीबेरपछि उनले अर्को व्यक्ति बाढीको भेलमा बग्दै आएको देखे। आफू भर्खरै बाढीबाट जोगिएको, शरीरका विभिन्न भागमा चोट लागेको र निकै कमजोर अवस्थामा रहे पनि उनले फेरि जोखिम मोले।

किनार नजिक आइपुगेका ती व्यक्तिलाई रमेशले हात दिएर बाढीबाट बाहिर निकाले। उद्धार गरिएका व्यक्ति बर्दियाका रामप्रसाद थारु थिए। भोटेकोशी क्षेत्रमा मजदुरका रूपमा कार्यरत थारुको टाउकोमा चोट लागेको थियो। शरीर हिलोले पुरिएको थियो र टाउकोबाट रगतसमेत बगिरहेको थियो।रमेशले उनलाई सुरक्षित स्थानमा पुर्‍याए। त्यसपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उद्धार गरी उनलाई सुरक्षित स्थानतर्फ लगिएको थियो।

बिज्ञापन

‘कालको मुखबाट फुत्केर आइयो। तालिम नगरेको भए बाँचिँदैनथ्यो,’ रमेशले त्यसबेलाको अवस्था सम्झँदै बताएका छन्।
भदौ १० गते बिहान रसुवाको भोटेकोशी क्षेत्रमा एक्कासि भीषण बाढी आएको थियो। बाढीले आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍यायो। त्यही क्षेत्रमा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरक्षाका लागि मैलुङमा सशस्त्र प्रहरीको अस्थायी सुरक्षा आधार शिविर थियो। रमेश थापाको कमान्डमा त्यहाँ २१ जना सुरक्षाकर्मी कार्यरत थिए।
बाढीको सूचना प्राप्त हुनासाथ रमेशले आफ्ना सहकर्मी तथा आयोजनाका कर्मचारीलाई सुरक्षित स्थानतर्फ पठाउन थाले। उनले आयोजनालाई जोखिमबारे जानकारी गराउनुका साथै प्रारम्भिक चेतावनी प्रणाली सक्रिय गराएर साइरन बजाउन लगाए।

उनका अनुसार बाढी आउन सक्ने सूचना पाएपछि करिब पाँच मिनेटमै सम्बन्धित पक्षलाई जानकारी गराइएको थियो। तर त्यसको केही मिनेटमै माथिबाट आएको भीषण भेलले पूरै क्षेत्रलाई घेर्‍यो।
आफ्नो टोलीका सदस्यलाई सुरक्षित स्थानतर्फ पठाइसकेपछि रमेश अन्तिममा त्यहाँबाट निस्किएका थिए। करिब १० फिट अग्लो पर्खाल नाघेर सुरक्षित स्थानमा पुग्ने प्रयास गरिरहेका बेला अचानक आएको बाढीको भेलले उनलाई समेत बगायो।

बाढीमा परेपछि उनले आत्तिएर प्रतिरोध गर्नेभन्दा आफूले लामो समयदेखि सिकेको गोताखोरी सीप प्रयोग गरे। केही समय सास रोकेर बहावसँगै बग्दै सुरक्षित स्थान खोजे। तीव्र बहावले पटक–पटक शरीरलाई ढुंगामा ठक्कर दिइरहेको थियो। हिलो मिसिएको पानी नाक र मुखमा पसिरहेको थियो। तर उनले आफ्नो मानसिक नियन्त्रण गुमाएनन्।

बाढीको बलसँगै केही दूरी बगेर आफ्नो शक्ति जोगाउने र सुरक्षित ठाउँ खोज्ने रणनीति उनले अपनाए। अन्ततः भेलले उनलाई एउटा ठूलो ढुंगासम्म पुर्‍यायो। त्यही ढुंगा समातेर उनी बाढीको बहावबाट जोगिए।बाढीबाट बाहिरिएपछि पनि उनको अवस्था सामान्य थिएन। शरीरका विभिन्न भागमा चोट लागेको थियो। हिलो र पानी नाक तथा मुखमा पसेका कारण उनलाई केही समय सास फेर्नसमेत कठिन भएको थियो ।

तर आफ्नो पीडा र जोखिमभन्दा माथि उठेर उनले फेरि उद्धारको काममा ध्यान दिए। बाढीमा अर्को व्यक्ति बग्दै आएको देखेपछि उनले आफूलाई सम्हाल्दै थारुको उद्धार गरेका थिए।
थारुलाई सुरक्षित स्थानमा पुर्‍याएपछि रमेशसहित अन्य सुरक्षाकर्मी उच्च भागतर्फ लागे। बाढीको बहाव निरन्तर बढिरहेको थियो। आसपासका पहरा खस्ने जोखिमसमेत थियो। त्यसैले उनीहरूले डाँडाको सुरक्षित उच्च भागमा आश्रय लिए।

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पुगे पनि त्यहाँ अवतरण गर्न पर्याप्त ठाउँ थिएन। त्यसपछि हेलिकप्टरको उद्धार बकेटमार्फत उनीहरूको उद्धार गरिएको थियो। उद्धारपछि उनीहरू विदुर हुँदै काठमाडौं आएका थिए।तर रमेशका लागि आफू बाँच्नु मात्र खुसीको विषय बन्न सकेन। उनको कमान्डमा रहेका चार जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्।

टोलीका सदस्यलाई उनले बाढी आउनुअघि नै सुरक्षित स्थानतर्फ पठाइसकेका थिए। त्यसैले उनीहरू पनि सुरक्षित रहेको हुनसक्ने आशा रमेशले गरिरहेका छन्। तर चार सहकर्मीको अवस्थाबारे अझै जानकारी नहुनुले उनलाई निरन्तर पिरोलिरहेको छ।

गोसाइँकुण्डमा जनैपूर्णिमाको मेला भएका कारण केही सुरक्षाकर्मी त्यतातर्फ पठाइएको थियो। उनीहरू सुरक्षित रहेको बताइएको छ। त्यस्तै, एक सुरक्षाकर्मीकी छोरीलाई नियमित रगत आवश्यक पर्ने भएकाले ती सुरक्षाकर्मी भदौ १० गते बिहानै विदुर गएका थिए। उनी पनि सुरक्षित रहेको बताइएको छ।

रमेश थापा करिब दुई दशकदेखि गोताखोरीमार्फत खोज तथा उद्धारको काममा सक्रिय छन्। यस अवधिमा उनले पानीमुनि खोजी तथा उद्धारका थुप्रै कठिन अभियानमा सहभागिता जनाएका छन्। जीवित व्यक्तिको उद्धारदेखि विभिन्न घटनामा शव संकलनसम्मका काममा उनले लामो अनुभव हासिल गरेका छन्।तर भोटेकोशीको त्यो बाढी उनको उद्धार यात्राकै सबैभन्दा भयावह घटनामध्ये एक बन्यो।

आफ्नै ज्यान जोखिममा परेको अवस्थामा पनि तालिम, धैर्य र अनुभवको सहारामा बाढीबाट निस्किएका रमेशले त्यसपछि बाढीमा बग्दै आएका एक मजदुरको जीवनसमेत बचाए।
विपद्को त्यो भयावह क्षणमा आफूलाई बचाउँदै अर्काको जीवन जोगाउने रमेश थापाको साहसिक कथा उद्धारकर्मीको सीप, संयम र कर्तव्यबोधको एउटा जीवन्त उदाहरण बनेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

परामर्शका लागि लोकसेवा आयोगमा पुग्यो संघीय निजामती सेवा विद्येयक

मन्त्रिपरिषद्को बैठक बस्दै : दुई सचिव बढुवाको सम्भावना

अख्तियार प्रमुख आयुक्त र न्यायधीश रेग्मीमाथि महाभियोग माग गर्दै निवेदन

प्रतिनिधि सभामा आज चार वटा विधेयक पेश हुँदै

बाढीले बगाउँदा पनि आत्तिएनन् सशस्त्रका गोताखोर रमेश, आफू बाँचेपछि मजदुरको जीवन बचाए

प्रधानमन्त्री कोषमा व्याट–३५ र ४० का शाखा अधिकृतहरूको सामुहिक सहयोग

चौथौंदेखि छैटौं तहका कर्मचारीको सरुवा

७२ कम्युटर अपरेटरहरुको सरुवा : १८ लाई गृह,२२ भूमि व्यवस्था तथा अभिलेख विभाग

बिशेष