काठमाडौं। अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूले सरकारको करार कर्मचारी व्यवस्थापनसम्बन्धी मन्त्रिपरिषद्को निर्णयको स्वागत गर्दै संघर्षमा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
बिज्ञापन
संघर्षरत कर्मचारीहरूको तर्फबाट जारी धन्यवाद ज्ञापनमा मिति २०८३ असार ३० र ३१ गते सिंहदरबार परिसरभित्र सम्पूर्ण अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू एकताबद्ध भएर आफ्ना विभिन्न माग राख्दै शान्तिपूर्ण रूपमा आवाज उठाएको स्मरण गरिएको छ। “आफ्नो लागि आफै संघर्ष गरौं” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै गरिएको आन्दोलनपछि मिति २०८३ असार ३२ गते बसेको मन्त्रिपरिषद् बैठकले करार कर्मचारी व्यवस्थापन गर्ने निर्णय गरेको भन्दै उक्त निर्णयको स्वागत गरिएको छ।
बिज्ञापन
विज्ञप्तिमा नेपाल सरकार तथा सम्पूर्ण मन्त्रिपरिषद्प्रति कृतज्ञता व्यक्त गर्दै आन्दोलनलाई सफल बनाउन योगदान गर्ने सम्पूर्ण कर्मचारी साथीहरूलाई विशेष धन्यवाद दिइएको छ। साथै कर्मचारीका जायज माग सम्बोधनका लागि सहजीकरण गर्ने प्रधानमन्त्रीको सचिवालय, संघीय संसद्का सांसदहरू, मुख्य सचिव, सम्पूर्ण निजामती कर्मचारी परिवार, विभिन्न सञ्चारमाध्यम, सुरक्षा निकाय तथा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिएको छ।
यद्यपि निर्णय हुनु मात्र पर्याप्त नभएको उल्लेख गर्दै विज्ञप्तिमा अब त्यसको प्रभावकारी कार्यान्वयन नै सबैभन्दा महत्वपूर्ण पक्ष रहेको जनाइएको छ। कार्यान्वयनका क्रममा समस्या वा अवरोध आएमा पुनः आवश्यक संघर्षका कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसबेला पनि सबै पक्षबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिएको छ।
बिज्ञापन
कर्मचारीहरूले भविष्यमा आइपर्ने चुनौतीहरूको सामना गर्न सम्पूर्ण अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई अनुशासित, संगठित र जिम्मेवार भएर आ–आफ्नो दायित्व निर्वाह गर्न आग्रह समेत गरेका छन्।
धन्यवाद ज्ञापनमा श्याम सापकोटा, कुमार राउत, जितेन्द्र मिश्र, चिरञ्जीवी नेपाल, विकास श्रेष्ठ र विमल प्रसाद आचार्यले सरोकार पक्षका तर्फबाट हस्ताक्षर गरेका छन्।


























