काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्। उनले सरकारले उठेका प्रश्नहरूको जवाफ संसदीय छानबिनमार्फत दिनुपर्ने भन्दै सत्यतथ्य बाहिर ल्याउन चुनौती दिएका छन्।
बिज्ञापन
शाहीले अर्थमन्त्रीले ‘दुई अर्ब होइन, दुई रुपैयाँ घोटाला भएको देखाऊ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै यदि सरकार आफ्नो पक्षमा विश्वस्त छ भने संसदीय छानबिन समिति गठन गरेर तथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन्। उनले दोषी र निर्दोष को हो भन्ने कुरा निष्पक्ष छानबिनबाट स्पष्ट हुने जिकिर गरेका छन्।
सामाजिक सञ्जालमा उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै ‘आफ्नै हात जगन्नाथ, जे गरे पनि हुन्छ’ भन्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्। सत्य सरकारकै पक्षमा रहेको दाबी गर्ने हो भने संसदीय छानबिनबाट किन डराउने भन्ने प्रश्नसमेत उनले उठाएका छन्।
शाहीले अर्थमन्त्रीले विभिन्न फाइल खोल्ने चेतावनी दिएको प्रसङ्ग उल्लेख गर्दै फाइल खोल्न कसैले नरोक्ने बताएका छन्। उनले त्यस क्रममा एमसीसी सम्झौतासम्बन्धी फाइलहरू पनि सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। एमसीसी सम्झौता तयार गर्ने तथा संसदबाट अनुमोदन गर्ने प्रक्रियामा भएका गतिविधिबारे समेत तथ्यसहित जानकारी सार्वजनिक गरिनुपर्ने उनको भनाइ छ।
बिज्ञापन
उनले लोकतान्त्रिक व्यवस्थामा पारदर्शिता, जवाफदेहिता र निष्पक्षता सबैका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै जनतालाई सत्य जान्न पाउने अधिकार रहेको बताएका छन्। त्यसैले उठेका सबै विषयमा छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने उनको माग छ।






























