प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन विपरित श्रम मन्त्रालयका उपसचिवहरुले चार पाँग्रे सवारी साधनको दुरुपयोग गरिरहेको पाइएको हो । कानुनत राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिका पदाधिकारीले मात्र सरकारी सवारी साधनको सुविधा पाउने कानुनी व्यवस्था भए पनि त्योभन्दा तल्लो तहका कर्मचारी तथा पदाधिकारीहरूले समेत व्यापक रूपमा चारपाङ्ग्रे सरकारी सवारी साधन दुरुपयोग गरेको फेला परेसँगै ७४५ भन्दा बढी चार पाँग्रे सवारी साधन फिर्ता ल्याएको घोषणा गरिरहँदा श्रम मन्त्रालयमा यस्तो सवारी साधनको चरम दुरुपयोग भइरहेको पाइएको हो ।
बिज्ञापन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही समय अघि कानुनले गाडीको सुविधा पाउने कर्मचारी बाहेक अन्यलाई गाडीको सुविधा नदिन निर्देशन गरेको थियो। सोही निर्देशन बमोजिम श्रम मन्त्रालयका उपसचिवहरुले समेत प्रयोग गरिरहेको चार पाङ्ग्रे गाडीको साँचो खोसेर गाडीलाई मन्त्रालयमा थन्क्याइएको थियो। तर प्रधानमन्त्री कार्यालयको उक्त निर्देशनलाई केही दिनमै लत्याइदिएका छन् युवा, श्रम तथा रोजगार मन्त्रालयले। उक्त मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव बाबुराम निर्देशनमा पार्किङमा थन्क्याइएको गाडीहरु उपसचिवले प्रयोग गरिरहेको पाइएको छ।उक्त मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी रहेका उनको कार्यशैली र निर्णयले मन्त्रालयको छवि नै धुमिल हुँदै गएको छ। मन्त्रालयमा गरिने कर्मचारी खटनपटन देखि अन्य निर्णयमा विवादित बनेका सहसचिव भण्डारी पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनलाई समेत अवज्ञा गरी कार्य प्रारम्भ गरेको पाइएको छ।
अनावश्यक खर्च कटौती गर्नुपर्ने भन्दै गरिएको निर्णयलाई साथ दिनुपर्ने ठाउँमा मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन नै अटेरी गरी कानुन बमोजिम सुविधा प्राप्त अधिकारी बाहेक अन्यले प्रयोगमा ल्याउनु वर्तमान सरकारको लागि लज्जास्पद भएको कर्मचारी वृत्तमा टिप्पणी हुन थालेका छन ।
विशेष स्रोतका अनुसार पछिल्लो केही दिनदेखि युवा, श्रम तथा रोजगार मन्त्रालयको गाडीहरु पहिले जस्तै नियमित रूपमा प्रयोगमा आइरहेको देखिन्छ । उक्त मन्त्रालयका गाडीहरु मन्त्रालयकै उपसचिवहरुले घर आवतजावतमा प्रयोग भइरहेको पाइएको हो । स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनपछि गाडीको साँचो मन्त्रालयमा बुझाएका उपसचिवहरुले गाडी कागजी रूपमा मन्त्रालयमा बुझाएर पछिल्लो समय गाडी भने प्रयोगमा ल्याएका छन्। निर्देशन पछि केही दिन भने उपसचिवहरु मोटरसाइकल यात्रा गरेका थिए। यसबारे मन्त्रालयका सचिव डा दिपक काफ्लेले उपसचिवहरुलाई चार पाग्रे सवारी साधन पुन प्रयोग गर्ने दिएको बिषयमा अनभिज्ञता प्रकट गरे।
उसो त कतिपय विभाग,मन्त्रालयदेखि कार्यालयसम्म उपसचिवदेखि शाखा अधिकृतहरुसम्मले अनुगमनका नाममा चार पाँग्रे सवारी साधन प्रयोग गरिरहेको पाइएको छ । उद्योग मन्त्रालयमातहतको उपभोक्ता हित संरक्षण विभागका उपसचिवहरुले अनुगमनका नाममा चार पाँग्रे सवारी साधनमा हुइकिरहेका छन् भने भौतिका उपसचिवहरुले शेयरिङका नाममा चार पाँग्रे सवारी साधन दुरुपयोग गरिरहेको पाइएको छ ।































