आख्यानकार सविता खनालको कृति ‘कायरा’ को लोकार्पण तथा परिचर्चा समारोह हालै सम्पन्न भएको छ । यस कार्यक्रम धुम्बाराहीस्थित होटेल स्मार्ट दरबारमा सम्पन्न भएको थियो ।
कार्यक्रमको सभापतित्व अल्केमी प्रकाशनका घनश्याम खड्काले गर्नुभएको थियो । स्थापित बालसाहित्यकार रामदेव पाण्डे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा महाकाव्यकार डा। नवराज लम्साल रहनुभएको थियो ।
बिज्ञापन
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले कायरा उपन्यासले नेपाली साहित्यमा सिमान्तकृतका मुद्दा र मानवीय संवेदनालाई सशक्त रूपमा उठाएकोमा खुशी व्यक्त गर्नुभएको थियो । कृति विमोचनपछि बोल्दै लेखिका सविता खनालले कायरा लेख्दाको अनुभवलाई सुनाउनुभएको थियो । साथै उहाँले आजको युवा पुस्ता, विद्यार्थी, शिक्षक, अभिभावक तथा सबै पाठकले यस्ता पुस्तकहरू पढनुपर्नेमा जोड दिनुभयो । जीवनका जटिलता , अनुभूतिजन्य विषय र आत्मसंघर्षलाई प्रस्तुत गर्ने कुरामा आफू प्रेरित रहेको लेखिकाको भनाइ रहेको थियो ।
कार्यक्रममा साझा प्रकाशनका सदस्य जयन्ता पोखरेल, राष्ट्रिय जनसाहित्य सङ्घ नेपालका महासचिव डा. कृष्ण सुवेदी (भारद्वाज मित्र) ले पनि कृतिको समिक्षात्मक परिचर्चा र कृतिकारको प्रसंशा गर्नुभएको थियो । कार्यक्रममा अन्य वक्ताका रूपमा ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष युमिसा पाण्डे, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त उपस्तिथि पनि हुनुहुन्थ्यो । यस्तै कार्यक्रममा साहित्यकार, कवि, उपन्यासकार, निबन्धकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कायरा फरक विषयको उपन्यास हो । मानव मनमा लुकेका संवेदना, साहस र आत्मसंघर्षका कथाहरूलाई उजागर गर्ने उपन्यास कायराले जीवनका सूक्ष्म प्रश्नहरूसँग पाठकलाई साक्षात्कार गराउने प्रयास गरेको छ ।


























