काठमाडौं । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१ स्थित श्री जागृति महिला सामुदायिक वन उपभोक्ता समूहको कोषमा व्यापक हिनामिना भएको आरोपमा समूहका पदाधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। आरोपपत्र अनुसार तत्कालीन अध्यक्ष मिना कुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारु र दर्तावाला लेखापरीक्षक तनुक लाल चौधरीको मिलेमतोमा सामुदायिक वन उपभोक्ता समूहको सार्वजनिक सम्पत्ति दुरुपयोग गरिएको देखिएको छ।
अनुसन्धानबाट आ.व. २०७७/०७८ मा सामुदायिक वनको भवन निर्माण कार्यमा प्राविधिक प्रतिवेदन अनुसार रु. ४,९५,२५१.७३ मात्र खर्च भएको अवस्थामा लेखापरीक्षण प्रतिवेदनमा रु. ८,०८,४५३.३१ खर्च देखाई रु. ३,१३,२०१.५८ हिनामिना गरिएको पाइएको छ। त्यसैगरी वन पैदावार संकलन खर्चतर्फ साधारण सभाबाट अनुमोदित रु. २,३७,८४३.०० भन्दा बढी रु. ३,५४,६२४.०० खर्च देखाई रु. १,१६,७८१.०० दुरुपयोग गरिएको उल्लेख छ।
उपभोक्तालाई ग्यास सिलिण्डर वितरणमा स्थलगत जाँचबाट रु. ५,०९,२००.०० पुष्टि भए पनि लेखापरीक्षणमा रु. ५,१६,९२०.०० देखाई रु. ७,७२०.०० हिनामिना गरिएको तथा हुँदै नभएको सडक ग्राभेलको काम भएको देखाई रु. ७७,६००.०० खर्च देखाइएको पनि आरोपपत्रमा उल्लेख छ।यसरी विभिन्न शीर्षकमा गरी जम्मा रु. ५,१५,३०२.५८ बराबरको सार्वजनिक सम्पत्तिको हिनामिना तथा हानिनोक्सानी भएको निष्कर्ष निकालिएको छ। साथै, लेखापरीक्षक तनुक लाल चौधरीले नापी किताब तथा आवश्यक बिल–भरपाई नहेरी प्रतिवादीहरूसँग मिलेमतो गरी तथ्य विपरीत लेखापरीक्षण प्रतिवेदन पेश गरेको आरोप लगाइएको छ।
अख्तियारले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर भएको ठहर गर्दै प्रतिवादीहरूलाई ऐनअनुसार कैद तथा जरिवानासहित सजाय मागदाबी गरेको छ।


























