डिजिटल युगको लोकतन्त्रले नेपाली राजनीतिलाई निर्णायक मोडमा पुर्याएको भन्दै नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपमहासचिव गणेश भण्डारीले ऐतिहासिक दलहरूका लागि अब ‘अन्तिम मौका’ आएको टिप्पणी गरेका छन्। उनका अनुसार साइबर युगको राजनीतिमा झुटा प्रतिज्ञा, सामाजिक सञ्जालमार्फत वाक्कटुता, चतुर्याइँ (स्पिन) र अतिरञ्जित प्रचार (प्रोपागान्डा) नै मुख्य चुनावी हतियार बनेका छन्। एल्गोरिदम, साइबर सेना र डिजिटल प्रोफाइलिङ नबुझ्नेहरू राजनीतिमा टिक्न नसक्ने र क्रमशः लोपोन्मुख हुने उनको ठहर छ।
बिज्ञापन
भण्डारीले आजको राजनीतिक यथार्थमा त्याग, तपस्या, लगानी, जनसेवा, भिजन र विकासका काम मात्र गरेर जनताको मन जितिन्छ भन्ने सोच कमजोर बन्दै गएको बताए। “राजनीतिको रंगमञ्चमा डिजिटल रणनीति नसमेट्नेहरू ओझेल पर्छन्, हराउँछन् र इतिहासको कुनामा थन्किन्छन्,” उनले उल्लेख गरेका छन्।
इतिहासले निर्माण गरेको चेतनाको निरन्तरता भन्दै उनले सुगौली सन्धिदेखि कांग्रेसको सशस्त्र संघर्ष, झापा आन्दोलनबाट एमालेको उदय र माओवादीको दशकौँ लामो युद्धसम्म नेपाली जनताले परिवर्तन र समृद्धिका लागि ठूलो मूल्य चुकाएको स्मरण गराए। यही ऐतिहासिक पृष्ठभूमिको परिणामस्वरूप अहिले देखिएको ‘जेन–जी आन्दोलन’ भावनात्मक उछाल मात्र नभई परिपक्व चेतनाको अनिवार्य परिणाम भएको उनको दाबी छ।
उनले पछिल्लो समय रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ जस्ता पात्रहरू वरिपरि देखिएको एकतालाई व्यक्ति–पूजा नभई दशकौँदेखि दलगत लुट, राजनीतिक भागबण्डा र अयोग्यतन्त्रले थिचिएको राज्य संरचनाविरुद्धको सामूहिक प्रतिरोधका रूपमा व्याख्या गरेका छन्। भदौ २३/२४ को आन्दोलनमा जेन–जी समूहका युवायुवतीको रगत बगेको घटनालाई उनले “राज्य सुधारको आवाजमा समर्पित सम्मान” भनेका छन्।
बिज्ञापन
यथास्थितिवादी दलहरू चेत नखुलीकन गुट–उपगुट र आत्मरतीमै रमाइरहेको आरोप लगाउँदै भण्डारीले अब पनि नयाँ–नयाँ प्रपोकाण्ड, अस्थिरताको भय र बाह्य उदाहरण देखाएर राजनीति गर्ने प्रयास हुने चेतावनी दिए। तर भुटानी शरणार्थी काण्ड, सहकारी पीडितहरूको पीडा, कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेप, संवैधानिक निकायको भागबण्डा र भ्रष्टाचारलाई शासन प्रणालीकै रूपमा अवलम्बन गरिएको तथ्यहरू भुलिन नहुने वर्तमान चेतावनी भएको उनको भनाइ छ।
उनका अनुसार राजनीतिक दलहरूको विकल्पमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता नयाँ होइन। तर अहिले देखिएको तीव्र उथलपुथल कुनै सनक नभई राज्य सुधारको अपरिहार्य विकल्प हो। “यहाँ प्रश्न व्यक्ति वा दलको होइन, संस्कारको हो; सत्ता होइन, जवाफदेहिताको हो; निरन्तरता होइन, परिवर्तनका लागि हो,” भण्डारीले जोड दिए।
अन्त्यमा उनले परिवर्तन रोजाइ नभई इतिहासले थोपरेको बाध्यता भएको र अब सबैले स्वीकार गर्नैपर्ने यथार्थ बन्दै गएको बताए।
“जय होस्, देशको भलो होस्,” उनको सन्देश छ।

























