अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारले उपसचिवसहित सह लेखापाल र एक पत्रिकाका प्रकाशकविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो । अख्तियारले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित नगरपालिकाका सहलेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजयकुमार साहविरुद्ध मुद्दा दायर गरेको हो ।
बिज्ञापन
गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । सडक मर्मत तथा कालोपत्रे गर्न ठेक्का लगाउँदा आपसी मिलेमतोमा बोलपत्र आव्हान गरिएको र बजेट दुरुपयोग गरेको अभियोगमा उनीहरूलाई अख्तियारले प्रतिवादी बनाएको हो ।
आयोगका अनुसार,आर्थिक वर्ष २०८०/ ८१ मा स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत बैरिया प्रवेशद्वारदेखि नगरदाहासम्म सडक कालोपत्र गर्न खरिद ठेक्का लगाउँदा आपसी मिलेमतोमा ठेक्का लुकाएर नजिकको मान्छेलाई ठेक्का दिएर उनीहरूले भ्रष्टाचार गरेको आयोगको आरोप छ ।
गत २५ चैत २०८० को बोलपत्र आह्वान भएको सूचना उक्त पत्रिकाको एक प्रतिमा मात्र प्रकाशित गरेको, तर प्रेस काउन्सिलको अभिलेखमा राखिएको उक्त दिनको पत्रिकाको हार्डकपी र पीडीएफ दुवैमा बोलपत्रको सूचना प्रकाशन नभएको पाइएको अख्तियारको भनाइ छ । पत्रिकामा बोलपत्रको सूचना प्रकाशित नै नगरी झुट्टा बिल, भरपाइ पेस गरी ६५ हजार रुपैयाँ सो पत्रिकालाई भुक्तानी दिएको पाइएको अख्तियारको आरोपपत्रमा छ ।
बिज्ञापन

























