आठ जना घाइते हुने गरि नाइके र चौकीदारबीच भएको झडपको छानबिन गर्न छानबिन समिति गठन भएको छ । कञ्चनपुर कारागारमा रहेका नाइके र चौकीदारले व्यवहारमा विभेद गरेको भन्दै सुरु भएको विवाद झडपमा परिणत हुँदा आठ जना घाइते भएका थिए ।
बिज्ञापन
शुक्रबार कारागारमा रहेका कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते भएका थिए । कारागारका नाइके र चौकीदारसँग अन्य कैदीबन्दीको झडप भएको थियो । नाइके र चौकीदार छनोट प्रक्रिया पारदर्शी नभएको र कैदीबन्दीलाई गर्ने व्यवहारमा समानता नभएको बिषयमा भनाभन हुँदा झडपको स्थिति बनेको थियो ।
प्रकाश मल्ल नेतृत्वको नाइके चौकीदारहरूविरुद्ध अन्य कैदीबन्दीहरूले सरकारले दिने दुई सिजनको कपडाको रकम दुरुपयोग गरेको, रासनमा पनि विभेद गरेको, कारागारभित्रै मदिरा, लागुऔषधजस्ता गैरकानुनी कारोबार गरेको, घरबाट आउने सामानसमेत पूरै हातमा नपुग्ने गरेको, आफूनिकटलाई मात्रै सेवा–सुविधा दिएकोजस्ता आरोप लगाएर नाराबाजी गरेका थिए। कैदीबन्दीहरूले नाराबाजी गर्दै नाइके, चौकीदारमाथि कानुनी कारबाही र सरुवाको माग गरेसँगै विवाद उत्पन्न भएको थियो ।
सो झडपमा परेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार अस्ति भएको झडपमा कैदीबन्दी किरणबहादुर सिंह, करन कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, रोशन शाही, मदन गिरी, सन्दीप भण्डारी, जनक खड्का घाइते भएका थिए । सोही बिषयमा छानबिन गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले तीन सदस्यीय छानबिन समिति गठन गरेका छन् ।
सो समितिको संयोजक तोकिएको छ, सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीलाई । यस्तै समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य रहेका छन् ।
बिज्ञापन
समितिलाई सात दिनको म्याद दिइएको छ ।

























