राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

मधुपर्कका निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्ले नेपाली साहित्य क्षेत्रमा उम्दा प्रतिभा हुन । उनी आफ्ना शब्द, भाषा अनि लालित्यमय कलामार्फत भुइँमान्छे, किसान, मजदुर र आम उत्पीडित वर्गको पक्षमा लेख्दै, बोल्दै र अभियानहरूमा समेत सक्रिय हुँदै आएका छन् । उनी नेपाली काव्य जगत्मा समेत एक सशक्त कविका रूपमा उपस्थित छन् भने निबन्ध लेखनमा उनको उत्तिकै प्रभावकारी भूमिका रहँदै आएको छ । विभिन्न पुस्तक, पत्रपत्रिकाहरूमार्फत हामीले वाग्लेलाई नियमित पढ्दै आइरहेका छौँ । पछिल्लो समय उनको ‘राष्ट्रनिर्माणमा दलित’ नामक पुस्तक बजारमा आएको छ । यस पुस्तकमा राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रतिनिधि दलित व्यक्तित्वहरूको चर्चा गरिएको छ । त्रिभुवनचन्द्र वाग्लेसँग सामाजिक व्यक्तित्व किरणचन्द्र वाग्लेले सहकार्य गरेर तयार गरेको यस पुस्तकले नेपालको निर्माणमा महत्वपूर्ण योगदान गर्ने १२१ जना दलित समुदायबाट प्रतिनिधित्व गर्ने दलित व्यक्तित्वका जीवनीलाई प्रस्तुत गर्ने जमर्को गरेको छ ।

दक्षिण एसियामा गढेको जात प्रथाको इतिहास ३५ देखि ४ हजार वर्षवरिपरि छ भन्नेमा धेरै बुद्धिजीवीहरू सहमत छन् । जात प्रथा यस्तो पीडा हो जो जात व्यवस्थाका रूपमा गढेको छ । एउटै समाजमा रहेका भिन्न श्रमजीवी समुदायले छोएको पानीसमेत पिउन नहुने भाष्यले हाम्रो समाजको चेतलाई भुत्ते बनाइदिएको छ ।
दलित समुदायलाई हामी श्रम, सिर्जना, कला–साहित्य आदिको महाअभियानमा सदा सरिक तर सधैँ उत्पीडनमा परेको समुदायका रूपमा समेत ब्याख्या गर्न सक्छौँ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला यसै पुस्तकमा भुमिका लेख्दै प्रश्न गर्छन्– ‘दलित पहिचान हो कि पीडा हो ? यही प्रश्नको उत्तर दिन वाग्ले बन्धुले व्यावहारिक मनोविज्ञानको प्रयोग गर्नुभएको छ ।’
कोइरालाले भनेजस्तै दलित पहिचानभन्दा धेरै पीडा हो । मानिसलाई सानो अपमान सहनसमेत गाह्रो हुन्छ । अपमानको ज्वाला मानवताको शत्रु हो । सम्मानको जिन्दगी बाँचिरहेकाहरूका निम्ति एउटा सानो अपमानले दिनरात निदाउन नसक्ने वातावरण बनाइदिन्छ । जब कि एउटा समुदाय नै हजारौँ वर्षदेखि विभेदको आगोमा जलिरहेको छ । अनुमान गर्नुस् यो समुदायको पीडा कुन पैमानामा होला ? वाग्लेद्वयको यो पुस्तकले दलित समुदायका अग्रणी व्यक्तिहरूलाई राष्ट्र निर्माणका ज्यामीका रूपमा व्याख्या गर्न प्रयत्न गरेको छ । यो एउटा सार्थक प्रयत्न हो भन्ने मलाई लागेको छ ।

आजको दलित आन्दोलनलाई दयाको भिख चाहिएको छैन बरु यो आन्दोलनलाई मुक्ति, सङ्घर्ष र अठोटको आन्दोलन बनाउन जरुरी छ । यो सङ्घर्ष, आन्दोलनले समानता, समता र मानवताको पैरवी गर्नुपर्छ ।
पुस्तकमा धेरै व्यक्तिहरूको छोटो चर्चा गरिएको छ । छोटकरीमा पनि धेरै व्यक्तिहरूका विषयमा जानकारी प्राप्त हुन्छ । यी त प्रतिनिधि पात्र मात्र हुन् । यो देशलाई देशजस्तो बनाउन, यो राष्ट्रलाई राष्ट्रजस्तो बनाउन, श्रमलाई जीवनको लय बनाउन प्रत्येक दलितहरूको रगत, पसिना र श्रमको खर्च भएको छ । पुस्तकले प्रतिनिधि दलित पात्रहरूमार्फत देश अर्थात् राष्ट्र बनाउने अभियानमा दलित समुदायको ऐतिहासिक योगदानलाई कदर गर्न खोजेको आभास हुन्छ ।
….
थुप्रै भारतीय सङ्ग्रामको नाम सुनेँ । जयप्रकाश नारायण र राममनोहर लोहियाको नाम थुप्रैका निम्ति आदर्श नाम बनिरह्यो । तर एकदमै कम सुनिएको नाम हो किसन दुसाध । नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको जनक्रान्तिसँगै भारतीय स्वतन्त्रता सङ्ग्राम (आन्दोलन) मा समेत सहभागी दुसाध एक अग्रणी दलित व्यक्तित्व थिए । दुसाधले नेपालको राजनीतिक इतिहासमा सप्तरी काण्ड भनेर चिनिने राजनीतिक काण्डको नेतृत्व गरेका थिए र पछि पक्राउ परेर जेलमा उनले सहादत प्राप्त गरेका थिए । यस्ता इतिहासबाट हराउन लागेका योद्धाको चर्चा गरेर लेखकद्वयले पुस्तकलाई एउटा खोज सामग्री पनि बनाउन खोजेका छन् । किसन दुसाधहरू इतिहासमा सीमित हुनु हुन्न ।
रेडियोमा बज्ने एउटा गीत छ । गीतको बोल छ :
बस बैनी घरधन्दा गरी
जान्छु सहर तिर्छु रिन केही गरी
बैनी कमला, बुनेर लेऊ मलाई जाले रुमाल ।
यस्तो महत्वपूर्ण गीत गाउने कृष्ण दर्जीलाईसमेत पुस्तकले प्रकाशमा ल्याएको छ । उनी नुवाकोटका रहेछनु । मैलेचाहिँ पहिलोपटक यही पुस्तकमार्फत नाम सुन्ने अवसर पाएँ ।
त्यस्तै अर्को साङ्गीतिक नाम हो गणेशबहादुर परियार । गणेशबहादुरको तीन पुस्ताले नेपाली साङ्गीतिक जगत्लाई निकै महत्वपूर्ण योगदान दिए । उनका पिता दिलबहादुर नेपाली दाजु शुभबहादुर सुनाम, दीपक र मनोहर नेपाली नेपाली सङ्गीतका उज्ज्वल नक्षेत्र बने । पुस्तकमा यो प्रसङ्गको चर्चा पनि गरिएको छ जुन महत्वपूर्ण छ ।
भेदभावविरुद्धको आन्दोलन, प्रजातान्त्रिक तथा जनजीविकाका आन्दोलनमा दलित समुदायबाट प्रतिनिधि पात्रका रूपमा गणेशबहादुर परियार, गोल्छे सार्की, छविलाल विश्वकर्मा, जितु गौतम, जीवन परियार, टीआर विश्वकर्मा, टेकबहादुर रैका (आउजी), तिलक परियार, धनमानसिंह परियार, पदम सुन्दास, पदमसिंह विश्वकर्मा, भागवत विश्वासी नेपाली, मीनबहादुर विश्वकर्मा, रणेन्द्र बराली, राममाया च्यामेनी, रूपलाल विश्वकर्मा, हरिशङ्कर परियार, हीरालाल विश्वकर्मालगायतको योगदानलाई छोटकरीमा चर्चा गरिएको छ । इतिहासका पानामा नभेटिने मान्छेहरूसमेत यता भेटिएका छन् ।

बिज्ञापन

हामीले नाम खासै नसुनेका झाप्रे दर्नालले धेरै आधुनिक बाजाहरू विदेशबाट समेत झिकाएर नेपालमा बजाउने वातावरण मिलाएका थिए । सङ्गीतलाई आधुनिक बनाउने अभियानमा यो सार्थक पहलकदमी थियो । उनकै सन्तान चर्चित सङ्गीत समीक्षक रामशरण दर्नालले नेपाली सङ्गीत र बाजाहरूलाई चिनाउन महत्वपूर्ण योगदान गरे । उनले लेखेको पुस्तक साङ्गीतिक क्षेत्रमा महत्वका साथ पढिन्छ । यस पुस्तकमा दर्नाल परिवारको सङ्क्षिप्त चर्चा गरिएको छ । झलकमान गन्धर्वको सारङ्गी त नेपाली समाजको एउटा सुन्दर बिम्ब नै हो । झलकमानजस्ता मानिसहरूले जनताको भाकालाई टपक्कै टिपेर सारङ्गी धुनमार्फत ती सङ्गीतलाई जीवन्त बनाइरहे । यी कालजयी गायकको पनि पुस्तकमा चर्चा भएको छ ।

बिज्ञापन

बल्ल प¥यो निर्माया माकुरी जालैमाजस्ता दर्जनौँ गीतहरूमार्फत तिर्थबहादुर गन्धर्वले नेपाली लोक साङ्गीतिक क्षेत्रमा सानदार भूमिका निर्वाह गरे । साधारण शिक्षा मात्र लिएका गन्धर्वले नेपाली सङ्गीत क्षेत्रलाई असाधारण योगदान दिए । यो कुनै डिग्रीभन्दा कम योगदान हुँदै होइन । रेडियो नेपालमा कुनै समय देवकुमार नेपालीका लोकगीत पनि खुब बजे । अहिले रेडियो नेपाल पनि कमै सुनिन्छ । तर रेडियो नेपालमा ती गीतहरू यदाकदा अहिले पनि बज्लान् ।

साङ्गीतिक जगत्का प्रतिनिधि पात्रहरूका निम्ति पनि यो पुस्तकका पानाहरू खर्च भएका छन् ।

बिज्ञापन

उसो त नेपाली साङ्गीतिक आकाशलाई जीवन्त र कालजयी बनाउन मूर्धन्य सङ्गीत साधकहरू उल्लेख्य मात्रामा दलित समुदायबाट प्रतिनिधित्व गरेका छन् । यस पुस्तकमा त्यसीमित पात्रहरू मात्र आएका छन् । यो सीमितता स्वाभाविक हो किनकि यो एउटा पुस्तक र केही पेजमा अटाउने विषय नै होइन ।
बखतवीर बुढाप्रीर्थीले धुन भरेको राष्ट्रिय गान त एकपटक खुब बजायो नेपालको राज्यसत्ताले । तर जातीय भेदभावलाई हटाउन महत्वपूर्ण योगदान भने गरेन । झारा टार्ने कानुन त बन्यो, प्रभावकारी भएन । आज पनि राजु परियारका गीतहरू लाखौँलाख श्रोताहरूको मनमा बसेका छन् । भेदभाव, छुवाछूत र पक्षपातको शृङ्खलालाई मेट्न सकिएको छैन ।
समरबहादुर भित्रकोटी जसले राजनीतिक गीतसङ्गीतका भाका हाले, राजनीतिक आन्दोलनमा सहभागी भए । यस्ता पात्रहरूबारे पुस्तक बोलेको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनलाई योभन्दा ८ दशक पहिला सघाउने मान्छे को थियोे होला र ? त्यो पनि महिला समुदायबाट । त्यो पनि दलित महिलाबाट । हो, एकजना इतिहासप्रिय मान्छे थिइन् राममाया च्यामेनी जसले वीर सहिदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र सर्वोच्च नेता गणेशमान सिंहलाई सघाएकी थिइन् । उनले राणाहरूको यातनागृहबाट आन्दोलनकारी र बन्दीका आफन्त र साथीभाइहरूलाई चिठीपत्र आदानप्रदान गरेकी थिइन् । सायद इतिहासमा यस्ता पात्र पनि थिए भन्दा जोकोही परिवर्तनशील मान्छेलाई गौरव नै लाग्छ । एउटा गौरवमय नाम थियो राममाया च्यामेनी । उनका बारे पनि पुस्तकमा थोरै चर्चा छ ।

भगत सर्वजित विश्वकर्मा हुन् वा शम्भु हजरा, विष्णु परियार हुन वा विजयकुमार सुनाम, वसन्तकुमार विश्वकर्मा हुन् वा लालवीर सुनार, लालबहादुर विश्वकर्मा हुन् वा लाटा कामी, बिजुल विश्वकर्मा हुन् वा बाङ्गे सार्की, बलबहादुर सुन्दास हुन् वा बलबहादुर परियार, बलदेव राम हुन् वा प्रकाश चित्रकार, रिपलाल विश्वकर्मा हुन् वा रामप्रीत पासवान दर्जनौं  दलित समुदायबाट सङ्घर्षको उचाइ चुम्दै नेपालको निर्माणमा महत्वपूर्ण योगदान गरेका पात्रहरूको चर्चा गरिएको पुस्तक जानकारीमूलक सामग्रीका रूपमा रहेको छ । कतिपय समाजले बिर्सन खोजेका पात्रहरू पनि प्रकाशमा आएका छन् । यो हिसाबले लेखकद्वयलाई बधाई दिनु उपयुक्त छ ।

यो समीक्षामा सबै पात्रहरूबारे उल्लेख गर्नु सम्भव छैन । त्यसैले यहाँ सीमित पात्रहरूको मात्र चर्चा गरिएको हो ।

पुस्तकमा विभिन्न भूगोलका पात्रहरू आएका छन्, बहुविधामा योगदान गरेका पात्रहरूबारे जानकारी लिन सकिन्छ । राष्ट्रिय जीवनमा युगीन अनुभव सँगालेका व्यक्तिहरूको परिचय पुस्तकमा रहेकोे छ । तर पनि महिला पात्रहरूलाई सीमित रूपमा मात्र स्थान दिइएको देखिन्छ । यो सीमिततालाई लेखकद्वयले ध्यान दिएको भए उत्तम हुने थियो । जीवनीमूलक यी सामग्रीलाई अझै केही पृष्ठहरू बढाएर खोजलाई अझै तन्काएको भए व्यक्तित्व विवरणलाई अझै उत्कृष्ट बनाउन सकिन्थ्यो । आगामी दिनमा अझै रोचक, जानकारीमूलक र तथ्यगत सामग्री लेख्न सक्षम हुनुस्, लेखकद्वयलाई शुभकामना छ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

पृथ्वी हाम्रो,  माया हो

बिशेष