सशस्त्र प्रहरी बलको संरचना फेरि विस्तार हुँदै तीन नयाँ उपररथी (डीआईजी) पद थपिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन शाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलिजेन्स ब्युरोको नेतृत्व अब डीआईजी स्तरबाट हुने व्यवस्था गर्दै नयाँ दरबन्दी स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए।
बिज्ञापन
यसअघि यी शाखाहरूको नेतृत्व एसएसपी तहबाट सञ्चालन हुँदै आएको थियो। नयाँ दरबन्दी थपिएसँगै सशस्त्र प्रहरी बलमा डीआईजीको संख्या अब १८ बाट २१ पुगेको छ। यसमध्ये २ जनालाई प्राविधिक सेवा सम्हाल्ने व्यवस्था छ।
बिज्ञापन
मन्त्रिपरिषद्ले राजधानीको कीर्तिपुरस्थित निलबाराही गणलाई ‘दंगा नियन्त्रण गण’ मा रूपान्तरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। हाल एसपीको कमान्डमा रहेको गणलाई स्तर वृद्धि गरी एसएसपीको नेतृत्वमा चलाउने निर्णय गरिएको हो।
दंगा नियन्त्रण क्षमता विस्तारका लागि सशस्त्र प्रहरी बलले राजधानीमै छुट्टै गण आवश्यक भएको प्रस्ताव पेश गरेको थियो। सोही प्रस्तावलाई सरकारले स्वीकृति दिँदै संरचना पुनर्संयोजन अघि बढाएको हो।


























