काठमाडौँ । लगातार ९० दिनभन्दा बढी समयसम्म कार्यालयमा नदेखिएकी सर्भेक्षक मेनका खड्कामाथि सुर्खेत नापी कार्यालयले अन्तिम कारबाहीको प्रक्रिया अघि बढाएको छ। कार्यालयको हाजिरी अभिलेखअनुसार २०८० असार ४ देखि बिना बिदा अनुपस्थित रहँदै आएकी खड्कालाई यसअघिका सबै पत्राचार, १५ दिने स्पष्टीकरण र ३० दिने समयसीमा दिएर मागिएको सफाइमध्ये कुनै पनि प्रतिक्रिया प्राप्त नभएपछि यो कदम चालिएको हो।
बिज्ञापन
बिज्ञापन
कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनामा नापी विभागकै निर्देशनअनुसार खड्कामाथि निजामती सेवा ऐन, २०४९ को दफा ६६ र सेवा नियमावली, २०५० को नियम ११० अनुसार “अनुशासनिक कारबाही योग्य कसुर” पूरा भएको उल्लेख छ।
बिज्ञापन
अब अख्तियारले “भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने” सजाय किन नलागू गर्ने भन्ने विषयमा अन्तिम ३० दिने स्पष्टीकरण मागिएको छ।
यसअघि दुई चरणमा (१५ र ३० दिन) पत्र पठाए पनि कुनै जवाफ नआएपछि कार्यालयले यो अन्तिम चेतावनी स्वरूप सार्वजनिक सूचना जारी गरेको हो। अब तोकिएको ३० दिनभित्र खड्काले कार्यालयमा उपस्थित भई स्पष्टीकरण नदिए, ऐन–नियम अनुसार सेवा–सम्बन्धी कारबाही स्वचालित रूपमा अघि बढ्ने नापी कार्यालयले चेतावनी दिएको छ।


























