प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती

मसँग हातमा माक्सर्वादी स्रष्टा अशोक सुवेदीद्वारा सम्पादित ‘प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती’ रहेको छ । डेढ दशकअघि सम्पादित÷प्रकाशित यस पुस्तकमा साहित्य र वैचारिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूका झन्डै एक शताब्दी अवधिका विचार र लेखहरू रहेका छन् । मूलतः कृष्णलाल अधिकारी तत्समयका क्रान्तिकारी, प्रगतिशील व्यक्तित्व हुन् भन्ने भाव पुस्तकमा समेटिएका लेखहरूले बोकेका छन् । ‘मकैको खेती’ पुस्तक कृष्णलाल अधिकारीकै हो र अभिधात्मक रूपमा कृषिप्रधान देशका किसानलाई मकैको खेती गर्न सिकाउने र लक्षणा र व्यञ्जनात्मक रूपमा क्रूर, जहानिया राणाशासनका विरुद्ध क्रान्तिचेत फैलाउने उद्देश्यले लेखिएको र पुस्तक लेखेकै कारण कठोर कारागार जीवनमा मृत्युवरण गर्नु परेकाले प्रथम साहित्यिक सहिदका रूपमा स्थापित गर्नु पुस्तकको मूल उद्देश्य रहेको पाइन्छ । मूलतः म इतिहासको अध्येता नभएकाले सङ्क्षिप्तमा पुस्तकको अध्ययनपछि मलाई लागेका केही कुरा सङ्क्षेपमा लेख्छु ।

बिज्ञापन

रामेछाप जिल्लाको विकट कठजोर गाउँमा जन्मिएका नायब सुब्बा कृष्णलाल अधिकारीले तत्समय एउटा कृति प्रकाशनमा ल्याए– मकैको खेती । निरङ्कुश, जहानिया र क्रूर राणाशासनको मुटु नै हल्लाउने केही शब्द र सन्दर्भहरू त्यस किताबमा प्रयोग भए । जस्तो मकैरूपी नेपाली जनतालाई सखाप पार्ने कीराहरूमध्ये रातो टाउको भएको कीरा र कालो टाउको भएको कीरा । शासकहरूमध्ये महाराज चन्द्रशमशेर रातो फरेज क्याप लाउँथे भने भीमशमशेर कालो क्याप लगाउँथे । यी दुईथरी कीराको सन्दर्भ एकातिर मकैमा लाग्ने कीरा पनि थिए भने अर्कातिर जनतामा लागेका कीरा पनि थिए । पोलाहा भोजराज काफ्लेहरूले यो कुरा दरबारमा पु¥याउँछन् । गाथगादी ताकेको र राणाशासनको अन्त्य चाहेको आरोपमा नायबसुब्बा कृष्णलाल अधिकारीलाई नौ वर्ष जेलसजाय तोकिन्छ । पहिला छ वर्ष जेलसजाय हुने भनिए पनि एक प्रति किताब नभेटिएको आरोपमा तीन वर्ष सजाय थप गरिन्छ । यहाँबाट बुझिन्छ– अङ्ग्रेज साम्राज्यवादका भक्त तत्कालीन राणा शासकहरूको अपराध र क्रूरता कस्तो र कुन हदसम्मको थियो !
विषयलाई तिखो बुझ्ने चन्द्रशमशेरलाई पोलाहाहरूले अथ्र्याइदिएका थिए– मकै भनेको देश र जनता हो । मकैलाई जस्तै भित्रभित्रै खाएर सखाप पार्ने कीराहरू राणा शासक चन्द्रशमशेर र भीमशमशेरहरू हुन् । पोलाहाहरूले यी विषयलाई झन् जटिल बनाए ।

बिज्ञापन

कतिपयले कृष्णलालको ‘मकैको खेती’ कृतिलाई सामान्य कृषिसम्बन्धी पुस्तक पनि भनेका छन् । यो तर्कले तत्कालीन शासक वर्गकै प्रतिनिधित्व गर्छ । उसो त कमलमणि दीक्षितहरूले समेत कृष्णलालको योगदानलाई सही ढङ्गले व्याख्या र मूल्याङ्कन गर्न नसकेको स्थिति छ । नायबसुब्बा भइसकेको र तत्कालीन समयका उच्च जातका कृष्णलाल अधिकारीले सचेततापूर्वक नै यी वाक्य लेखेको ठहर्छ । किनकि उनलाई यी वाक्यप्रति कहिल्यै पछुतो भएन । सत्य लेखेकोमा पछुतो कबुल गर्न अस्वीकार गरेकै कारण उनले कालकोठरीमा आफ्नो अमूल्य जीवन त्यागे ।

बरु उनले जेलभित्रै पनि युगीन कविताहरू लेखे । यसै पुस्तकमा पनि उनले लेखेको कविता र श्लोकहरूलाई व्याख्या गरिएको छ । कृष्णलाल अधिकारीको कवितांश यस्तो छ :
संसारमा कीर्ति छ धेर ठुलो
कीर्ति विना बन्दछ जीव लूलो
संसार छोडे पनि हेर क्वै दिन
आउनेछ एउटा जनतन्त्रको दिन ।
मानिसको जीवनलाई पूरै देवत्वकरण गर्न सकिँदैन । मानिसलाई हेर्ने सही दृष्टिकोण द्वन्द्वात्मक भौतिकवाद हो । कृष्णलालका सन्दर्भमा उनलाई द्वन्द्वात्मक तरिकाले नै हेरिनुपर्छ । यसरी हेर्दा उनको मूल चरित्र निरङ्कुशताविरुद्ध प्रगतिशील र क्रान्तिकारी नै देखिन्छ ।
सकेसम्म इतिहासलाई वस्तुगत र तथ्यगत बनाउन जरुरी छ । यस पुस्तकमा सबै खेमाका मानिसहरूको विचार समेटिएको छ । कतै–कतै केही प्रगतिशीलहरूको सीमा देखिएको छ । कतै पुराना मानिसहरू पानीमा ओभानो बन्न खोजेका छन् । धेरैजसो लेखहरूले कृष्णलालको योगदानलाई पर्गेल्ने प्रयत्न गरेका छन् । सत्तरी वर्षको अवधिमा लेखिएर थुप्रै ठाउँमा छरिएर रहेका लेखहरू समेट्नुका साथै माक्र्सवादी कोणबाट पुनर्मूल्याङ्कन गरी÷गर्न लगाई एकमुष्ट पुस्तकका रूपमा ल्याएर सम्पादकले आफ्नो माक्र्सवादी धर्म निर्वाह गरेका छन् । कृष्णलाल अधिकारीको व्यक्तित्वको अध्ययन गर्न चाहनेहरूका लागि यो एउटा दर्बिलो सन्दर्भ सामग्री बन्न पुगेको छ ।

बिज्ञापन

माक्र्सवादी सौन्दर्यशास्त्री मोहन वैद्य ‘किरण’ लेख्छन्– वास्तवमा भन्ने हो भने कृष्णलालको मूल देनलाई हामीले दुईवटा सन्दर्भ र अर्थमा सम्झिनुपर्छ भन्ने मलाई लाग्छ । मूलतः कृष्णलालको मकैको खेती कुनै विशिष्ट साहित्यिक कृति होइन । विशेषगरी यो कृषिसम्बन्धी कृति हो । मकैको खेतीमा निरङ्कुशताविरुद्ध केही प्रतीक र केही बिम्बको प्रयोग भएको हुनाले राणाकालमा यसप्रकारको बिम्बको प्रयोगले विद्रोहको झन्डा उठ्यो । एउटा आवाज सशक्त ढङ्गले मुखरित ग¥यो । यसैले ती बिम्ब र प्रतीकहरू सार्थक र मूल्यवान् बन्न गए । सांस्कृतिक÷साहित्यिक दृष्टिकोणले पनि ती बिम्बहरू मूल्यवान छन् भनेर हामीले बुझ्नुपर्छ ।
(‘प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती’ मा मोहन वैद्य ‘किरण’ को लेख : ‘कृष्णलाल अधिकारीको पुनर्मूल्याङ्कन सम्बन्धमा’, पेज १९१)
यस लेखमा किरणले कृष्णलालले त्याग र वीरताको कीर्तिमान कायम गरेको सन्दर्भ उल्लेख गरेका छन् । पुस्तकको भावलाई किरण र सम्पादकका दुईवटा लेखले लगभग समेट्छन् जस्तो लाग्छ ।
अशोक सुवेदीले मकैको खेती लेखेर कृष्णलाल अधिकारीले एकातिर नेपाली किसानलाई मकैको खेती गर्न सिकाएको र अर्कोतर्फ निरङ्कुश राणाशासनविरुद्ध विद्रोह गर्न सिकाएको उल्लेख गरेका छन् । यो इतिहासलाई बुझ्ने नयाँ र माक्र्सवादी तरिका हो ।
समग्रमा पुस्तकले कृष्णलाललाई द्वन्द्वात्मक तरिकाले बुझ्न सहयोग गर्छ । तत्कालीन शासक वर्गको हैकमविरुद्ध कृष्णलालले भोगेको सास्ती इतिहासमा जीवन्त दस्तावेज बनेको छ जो लगभग स्थापित सत्य हो ।

म केहीपटक कृष्णलालको जन्मस्थल कठजोर पुगेको छु । यस्तो मौकाको मेसो जोर्ने काम यस पुस्तकका सम्पादक अशोक सुवेदीले गरेका हुन् । कृष्णलाललाई जीवन्त राख्न केही कामहरू गर्न सकिन्छ । जस्तो कठजोरमा कृष्णलाल स्मृति पार्क बनाउन सकिन्छ । औपचारिक रूपमा उनलाई सरकारले तत्काल प्रथम साहित्यिक सहिद घोषणा गर्न जरुरी छ । कृष्णलालको फोटोलाई हुलाक टिकटका रूपमा प्रयोगमा ल्याउन सकिन्छ । पाठ्यसामग्रीका रूपमा उनको योगदानलाई विद्यालय र विश्वविद्यालयहरूमा पढाइनुपर्छ । प्रगतिशील इतिहासलाई जीवन्त राख्ने काम प्रगतिशीलहरूको पनि हो ।
नायबसुब्बा कृष्णलाल अधिकारी राणाहरूको क्रूर सजायका कारण जेलमै मारिए । उनको योगदानले जनतन्त्र चाहने लाखौँ मानिसलाई प्रेरणा दियो । निरङ्कुश राणा शासन नामक खोयाको घर ढाल्न मकै पर्व र कृष्णलाल अधिकारीको योगदान उच्च हुन गयो । इतिहासमा उनी अमर भएर रहे । साहित्य क्षेत्रले मात्र होइन, प्रजातन्त्रका अनुयायी सबैले कृष्णलाल अधिकारीलाई सम्झेकै छन् ।

काग धेरै बाठो भयो भने फोहोर खान्छ भन्ने नेपाली उखान छ । आफूलाई निकै टाठाबाठा सोच्ने राणाहरूले पछि यही किताबलाई राममणि आ.दी. का नाममा छपाउन लगाए पनि चन्द्रशमशेरलाई व्यङ्ग्य गरिएका केही वाक्य यथावत् नै रहे । यिनै सन्दर्भहरूले पनि कृष्णलाल, उनको बलिदान र मकैको खेतीविरुद्ध गरिएका सबै षड्यन्त्रहरू असफल भए । यो ऐतिहासिक पुस्तकले यी सबै सन्दर्भहरूको बेलिबिस्तार लगाएको छ ।

यही किताबमा डा. तारानाथ शर्माले लेखेको लेखको अंश पनि छ जुन पेज नम्बर ७० मा छ । शर्मा लेख्छन्– ‘१९७७ सालमा मकै पर्व उठ्यो, गयो । साहित्यिक अध्ययनमा यो नौलो र विद्रोहात्मक घटना हुन पुगेको छ । हुनत मकै पर्व उठाइसकेपछि चन्द्रशमशेर राणाले राममणि आ. दी. लाई लगाएर कृष्णलाल अधिकारीको पुस्तकलाई ‘कृषि शिक्षावली प्रथम भाग’ भन्ने नाउँमा छपाउन लगाए । कृष्णलाल अधिकारीको ‘मकैको खेती’ मा केही चन्द्रशमशेर राणालाई व्यङ्ग्यात्मक लक्ष्य गर्ने वाक्यहरू परेकै थिए ।’
(नेपाली साहित्यको इतिहास– २०३९ पृष्ठ ८३/ ८४)

यसरी प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती पुस्तकले साहित्यिक–राजनीतिक इतिहासको एउटा ऐतिहासिक जिम्मेवारी पूरा गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१२२ दल दर्ता,२८ प्रक्रियामा

विना अनुमति निषेधित क्षेत्रमा विदेशी लैजाने एजेन्सीलाई कारवाही

प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती

सुरक्षाकर्मी दुरुपयोगमा पूर्व मुख्यसचिवदेखि गृहसचिवसम्म, १७ फिर्ता

पूर्व राजाको अर्बाैको सम्पत्तिमा व्यापारीको रजाई

अटेरी सहसचिव कुलमानद्धारा पुरस्कृत : बरियता मिचेर विवादित बोहरालाई महानिर्देशक

स्वास्थ्य र सञ्चारमन्त्रीले अझैं बुझाएनन् सम्पत्ति विवरण, ८ मन्त्रीका विवरण गोप्य

जेनजी आन्दोलनमा भएको क्षति विवरण उपलब्ध गराउन पालिकाहरुलाई पत्राचार

बिशेष