काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार ठूलो स्तरको सरुवा र जिम्मेवारी पुनःव्यवस्था गरेको छ। मन्त्रालयले डा. राधिका थपलियालाई राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र (एनएचईएससीसी) को निर्देशकको जिम्मेवारी तोकेको छ।
बिज्ञापन
हालै कोशी प्रदेशमा स्वास्थ्य सचिवका रूपमा कार्यरत रहेकी डा. थपलिया केही समयअघि मन्त्रालयमा फर्किएकी थिइन्। मन्त्रालयले उनलाई यसअघि नै सो केन्द्रमा पदस्थापन गरेको थियो, तर तत्कालीन निर्देशक डा. केशवराज पण्डित अन्यत्र नपठाइएकाले उनी मन्त्रालयमै हाजिर रहेकी थिइन्।
बिज्ञापन
स्वास्थ्य मन्त्री डा. सुधा शर्माको निर्देशनमा मंगलबार औपचारिक रूपमा डा. थपलियालाई केन्द्रको निर्देशक पदको जिम्मेवारी तोकिएको हो। त्यही निर्णयअनुसार डा. पण्डितलाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।
यससँगै व्यवस्थापन महाशाखामा रहेका डा. पवनजंग रायमाझीलाई उपचारात्मक सेवा महाशाखामा स्थानान्तरण गरिएको छ। सो महाशाखामा पहिले निर्देशक रहेकी डा. सुधा देवकोटा डडेल्धुरा अस्पतालमा निर्देशक भएर गएपछि पद चार महिनादेखि रिक्त थियो।
बिज्ञापन
त्यस्तै, नारायणी अस्पतालका निर्देशक डा. चुमनलाल दासलाई पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता बोलाइएको छ।
मन्त्रालयले हालैका दिनमा स्वास्थ्य निकायहरूमा देखिएको प्रशासनिक रिक्तता र समन्वय अभाव समाधानका लागि आन्तरिक पुनर्संरचना प्रक्रिया अघि बढाएको जनाएको छ।


























