जेन–जी आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारलाई नेपाल आयल निगमले रोजगारी प्रदान गरेको छ। हवाई इन्धन डिपो, सिनामंगलले सुवास बोहोराकी आमा कैलीदेवी बोहोरालाई ज्यालादारी कर्मचारीका रूपमा नियुक्ति दिएको हो।
बिज्ञापन
बिज्ञापन
आन्दोलनका क्रममा सहादत प्राप्त सुवासको मृत्युपछि विचल्लीमा परेकी आमा कैलीदेवीलाई जीवन यापनमा सहयोग पुर्याउने उद्देश्यले रोजगारी दिएको डिपोका प्रमुख प्रदीप यादवले बताए। उनका अनुसार यो अवसर जेन–जी आन्दोलनका प्रतिनिधिहरुको सिफारिसमा प्रदान गरिएको हो।
बिज्ञापन
कैलीदेवी बोहोराको नियुक्ति कार्यक्रममा जेन–जी पक्षका शिव यादव, उपार्जुन चाम्लिङ, अप्सना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, खेमराज साउद र गुञ्जन साही पनि सहभागी थिए।
यसअघि, आन्दोलनमा ज्यान गुमाएका अर्का ओजेन बुढाका पिता मणिलाल बुढालाई चितवनस्थित भण्डारण क्षमता अभिवृद्धि परियोजनामा रोजगारी दिइसकिएको छ। त्यस्तै, कोटेश्वरमा मृत्यु भएका महेश बुढाथोकीका भाइ उमेशलाई सिमरास्थित हवाइ इन्धन कार्यालयमा सुरक्षा गार्डको रूपमा नियुक्त गर्ने तयारी भइरहेको यादवले जानकारी दिए।
समानुभूतिको रूपमा नेपाल आयल निगमको सिनामंगलस्थित हवाई इन्धन कार्यालयका करिब डेढ सय कर्मचारीले शहीद र घाइते परिवारका लागि दुई लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन्। उक्त रकम निगमका उपनिर्देशक रामहरि निरौलाले पाँच मृतकका परिवार र सातजना घाइतेलाई हस्तान्तरण गरेका थिए।
यसरी नेपाल आयल निगमले जेन–जी आन्दोलनका शहीद परिवारहरूलाई सम्मानका साथ रोजगारी र आर्थिक सहयोग प्रदान गर्दै समाजप्रतिको उत्तरदायित्व प्रदर्शन गरेको छ।