काठमाडौँ — सरकारी सेवामा ‘खतरनाक लेखा अधिकारी’ भनेर चिनिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव भुवन काफ्लेले पदबाट राजीनामा दिएका छन्। घरायसी कारण देखाउँदै राजीनामा दिएका काफ्ले वास्तवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन दबाबमा परेको कारणले सरकारी सेवा छाड्न बाध्य भएका स्रोतले जनाएका छन्।
बिज्ञापन
३/४ दिनअघि मात्रै राजीनामा दिएको पुष्टि महालेखा नियन्त्रक कार्यालयले गरेको छ। स्याङ्जा घर भएका काफ्ले २०६० सालमा लेखा अधिकृत बनेका थिए र सहसचिव बढुवा हुने लाइनमा परेका थिए। तर, स्वास्थ्य सेवा विभागमा रहँदा उनी संलग्न रहेका स्वास्थ्य उपकरण खरिद अनियमितता प्रकरण अख्तियारमा पुगेपछि उनको करियर एक्कासी ओरालो लागेको हो। अख्तियार स्रोतका अनुसार, सो प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
बिज्ञापन
२०७२ सालको भूकम्पपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि गठन गरिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा पनि काफ्लेले महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसपछि उनले मलेनिकाको कर्मचारी प्रशासन शाखा, सडक विभाग, स्वास्थ्य सेवा विभाग हुँदै कृषि मन्त्रालयसम्म निरन्तर ‘आकर्षक अड्डा’ सम्हालेका थिए।
सरकारी सेवाभन्दा निजी जीवन रोज्ने मनस्थिति बनाएका काफ्लेले दुवै छोरा अमेरिकामा सेटल गराइसकेका छन् र उनी पनि विदेश पलायन हुने तयारीमा रहेको बताइन्छ।
बिज्ञापन
सरकारी वृतमा अहिले चर्चा छ—काफ्लेको राजीनामाले ६० साले लेखा अधिकृतहरूको पंक्तिमा ठूलो हलचल ल्याएको छ। रविन कोईराला, ज्ञानेन्द्रराज ओझा, निरज केसी, दिनेश रेग्मी, मुनकुमार केसी, प्रकाश पुडासैनीलगायतका अधिकारी पनि अख्तियारको नजिक पुगिरहेका छन्।
अख्तियारमा बयान दिन थालेपछि भागाभागको अवस्था देखिएको छ। स्रोतहरू भन्छन्, “६० साले लेखा अधिकृतहरूको एउटा समूह अहिले संगठित रूपमा अख्तियार मिलाउने खेलमा लागेको छ।”
तर अख्तियार नजिकका अधिकारीहरू चेतावनी दिन्छन् —“काफ्ले पथबाट अरूको पनि अन्त्य हुने निश्चित छ।”
यस घटनाले सरकारी लेखा क्षेत्रको भ्रष्टाचारको जरो कति गहिरो छ भन्ने कुराको झल्को फेरि एकपटक देखाएको छ।