पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।
बिज्ञापन
विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको तीन वर्ष पुरानो अभियोगमा उनलाई आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले खुमलटारबाट नियन्त्रणमा लिएको हो । अहिले उनलाई लाजिम्पाटस्थित सिआइबी कार्यालयमा राखिएको छ ।
बिज्ञापन
महरालाई भन्सार ऐन, २०६४ तथा संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
२०७९ पुस १० गते दुबईबाट काठमाडौं ओर्लिएका एक चिनियाँ नागरिकले ल्याएको सुटकेशमा रहेको इलेक्ट्रिक सिगरेटमा साढे आठ करोड रुपैयाँ बराबरको सुन भेटिएको थियो ।
चिनियाँ नागरिक ली हानसोङले अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं हुँदै नेपालमा ल्याउँदै गरेको अवस्थामा उक्त भेप जफत भएको थियो। भेपभित्रको ८ करोड ५५ लाख २८ हजार रूपैयाँबराबरको सुन भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कामार्फत बेचबिखन गरी आपराधिक समूह बनाई संगठित रूपमा आपराधिक लाभ लिएको देखिएकोले महरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस अघि यही प्रकरणमा रवि लामिछाने गृहमन्त्री भएका बेला समातिएका उनी बयानपछि अदालतको आदेशले छुटेका थिए । महरालाई भोलि अदालतमा बुझाउने तयारी छ ।