लगातारको वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको विभिन्न खण्डमा ठूला पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ । यसबीच, वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको खुर्खोट–मन्थली–चरिकोट–काठमाडौं सडक खण्ड पनि दोलखाको कालिदह नजिकै पहिरो खसेपछि अवरुद्ध बनेको छ ।
बिज्ञापन
दोलखाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहितको टोलीले आइतबार बिहान उक्त क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणपछि सडक डिभिजन, सुरक्षाकर्मी र स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाउने कार्य सुरु गरिएको दोलखा सडक डिभिजनले जनाएको छ ।
बिज्ञापन
डिभिजन प्रमुखका अनुसार लगातारको वर्षाका कारण माटो चिप्लो र भारी उपकरण सञ्चालनमा कठिनाइ भएकाले सडक खोल्न केही समय लाग्ने अनुमान गरिएको छ ।
सडक खुल्नेबित्तिकै खुर्खोट–मन्थली–चरिकोट–काठमाडौं वैकल्पिक मार्ग सञ्चालनमा ल्याइने डिभिजनका अधिकारीले बताएका छन् । हालसम्म सो मार्गमा सवारीसाधन आवागमन पूर्ण रूपमा रोकिएको छ ।
बिज्ञापन
स्थानीय प्रशासनले यात्रुहरूलाई अनावश्यक जोखिम मोलेर यात्रा नगर्न तथा सम्बन्धित सडक कार्यालयले दिने सूचनाको प्रतीक्षा गर्न आग्रह गरेको छ ।