असोज ४ गते। नारायणघाट–मुग्लिन सडकखण्डको तुईन खोला पुल पश्चिमपट्टि अचानक भीषण गर्जन सुनियो। केही मिनेटमै ७०–८० मिटर माथिबाट बमझैँ ठूला–ठूला ढुंगाहरू खस्न थाले। करिब १६० मिटर सडक एकैचोटि पहिरोमा गाडियो। राजमार्ग अवरुद्ध। हजारौं यात्रु अलपत्र।
बिज्ञापन
बिज्ञापन
तर, त्यही क्षणदेखि अर्को मोर्चा खुल्यो—भीरमुनि एउटा “युद्ध”।युद्धका योद्धा भने बन्दुक बोकेका सैनिक होइनन्, भारी उपकरण चलाउने अपरेटरहरू थिए।
बिज्ञापन
साइट इन्जिनियर अर्जुन घिमिरे सम्झन्छन्—“सुरुमा पहिरो पन्छ्याउने काम युद्ध लडेजस्तै थियो। माथिबाट ढुंगा झरिरहेको थियो, जसको आवाज बम विस्फोटझैँ सुनिन्थ्यो। त्यो अवस्थामा पनि अपरेटरहरू एक इन्चपनि पछाडि हटेनन्।”
यन्त्रको स्टेयरिङ समात्ने हात काँप्थे, तर आँखा अडिग। प्रत्येक प्रहार, प्रत्येक ढुंगा खस्दा उनीहरूको मुटु धड्किन्थ्यो, तर उनीहरू रोकिएनन्।
असोज ७ गते अर्को ठूलो पहिरो खस्यो।
यसपटक पहिरो अझ ठूलो थियो—पहिलाभन्दा धेरै ढुंगाको मात्रा, अझ ठूला ढुंगाहरू, अनि जनताबाट बढ्दो दबाब।रात–दिनको थकान, गाली–गलौज, हावाहुरीजस्तो तनाव। तर अपरेटरहरूले फेरि पनि आफ्नो प्राणलाई सानो ठान्दै सडक खुलाउने शपथ लिए।
मेसिन चलाउने अपरेटरहरूमात्र होइन, उनीहरूको सुरक्षाका लागि संकेत दिने, निर्देशन दिने र निरन्तर रिपोर्टिङ गर्ने टोली पनि उतिकै जोखिममा थियो।
सब–इन्जिनियर सुजन थापा मगर र हरि श्रेष्ठ, सुपरभाइजर सुकबहादुर गुरुङ र ईश्वर क्षेत्री—यी नामहरू सतहमा धेरै चर्चामा आएनन्, तर जीवन–मृत्युलाई छेउमै राखेर दिनरात उपकरण संचालनमा खटिएका नायकहरू यिनै हुन्।
डिभिजन प्रमुख लामिछाने एन.पी. को भूमिकाबारे अपरेटरहरूले एकै स्वरमा भन्छन्—“हौसला दिनुहुन्न थियो भने हामी डराएर भाग्थ्यौं होला। उहाँले अभिभावकझैँ हाम्रो ढाडस दिनुभयो।”
सडक विभागका विज्ञ नरेशमान शाक्य र डा. मधुसुदन आचार्यले निरन्तर प्राविधिक सुझाव दिए। प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक, निर्माण व्यवसायी, स्थानीय प्रशासन, सबै अंगले हातेमालो गरे।
अवरोधकै बीचमा यात्रुहरू निराश थिए। कतिपयले गाली गरे, कतिपय रोए। तर पत्रकारहरूले ड्रोनमार्फत पहिरोको प्रत्यक्ष अवस्था देखाएर, “सडक चाँडै खुल्छ” भन्ने आशा नागरिकमा जगाइरहे।भरतपुर सडक डिभिजनको फेसबुक पेजमार्फत शरद बाबु पराजुलीले नियमित तथ्य दिँदा जनताको धैर्य केही बढ्यो।
करिब २७,००० घनमिटर पहिरो पन्छाएर राजमार्ग सुचारु भयो।यो कुनै सामान्य प्राविधिक काम थिएन—यो जीवन र मृत्युको बीचमा लडिएको युद्ध थियो।
साइट इन्जिनियर अर्जुन घिमिरे अन्त्यमा भन्छन्— “अग्रपंक्तिमा अपरेटरहरूले गरेको संघर्ष, सबै निकायको हातेमालो र नागरिकको धैर्यका कारण यो सम्भव भयो। यी अपरेटरहरू नै आजका वास्तविक वीर हुन्।”