हिप्पीहरूको गीतजस्तो उदास छ काठमाडौँको वातावरण । बीजी मलको कुनै कफी सपमा लेखक आरम्भ, नेताजी विषम प्हुगाल, कवि तथा शिक्षक प्रेमप्रकाश र म छौँ । काठमाडौँको यस विराट कोलाहलमा कुनै युवक पर्खिरहेको छ मेनपावरको एजेन्टलाई । कुनै युवती बेरोजगारी र चैतको राप दुवैले सेकिएर साबुन र मन्जन बेचिरहेकी छे । सडकको कुनै कुनामा अलपत्र परेका मानिसहरूका निम्ति भात पाक्दैछ । एकदुईजना मानिसहरू राजा फर्काउने दक्षिणपन्थी कर्ममा तल्लीन छन् ।
गणतन्त्र आएको दुई दशक भइसक्न लागेको छ । देशको शासन सत्तामा गणतन्त्रका लागि लडेका मानिसहरू पुगिसकेका छन् । आधारभूत रूपमा कस्तो परिवर्तन आयो, त्यसको मूर्त चित्र कोरिन सकेको छैन । जरुर केही परिवर्तन भएका छन् । यी परिवर्तनहरू पर्याप्त छैनन् ।
भनिन्छ कुनै देशको चेतनालाई पर्गेल्ने माध्यम हो त्यो देशको साहित्य । यो दुई दशक अवधिमा हामीले कस्तो साहित्य लेख्यौं ? कसलाई नायक अनि कसलाई खलनायक बनायौँ ? कुन वर्गको स्वार्थका निम्ति हाम्रा कलमहरू प्रयोग भए ? प्रश्न जरुर छन् । कविताहरू पनि प्रश्नका हकदार हुन् ।
….
मेरो हातमा प्रेमप्रकाशको कवितासङ्ग्रह ‘रगतको तर्पण’ छ । उवा, रोल्पाका प्रेमप्रकाश मगर समुदायका हुन् । जरुर प्रेमप्रकाशका कविताहरूले रोल्पाका आदिम सपनाहरूलाई सम्बोधन गरेका छन् । रोल्पाको आँतलाई छोएर उनले काव्यमा उडान भरेका छन् ।
रोल्पा एउटा शक्तिशाली बिम्ब हो । क्रान्तिको मुख्य आधारइलाका रोल्पामा नेकपा (माओवादी) ले जनकम्युन बनायो, रेडियो खोल्यो । कुनै दूर गाउँमा बसेर छापामारहरूले गीत, कविता र कथाहरू लेखे । जनताको शासन व्यवस्था स्थापना गर्ने उनीहरूको सपना यो युगको बलशाली सपना थियो । ती सपनाहरू बोकेर रोल्पाबाट कमरेडहरू काठमाडौँ छिरे । जसै कमरेडहरू सिंहदरबारतिर पुगे, उनीहरूले थबाङ, लिबाङ, उवा, सिस्ने र जलजलालाई भुले । सपनाहरू भुलिरहेका कमरेडहरूलाई एलिटहरूले आफ्नो ठाने । सपना देख्न बिर्सेका मानिसहरूलाई कविताले झकझक्याउनु पर्छ । प्रेमप्रकाशका कविताहरूले त्यस्तै भूमिका निर्वाह गरेका छन् जुन आजको दिनमा आवश्यक चिज हो ।
कविताहरूमाथि लेख्न सजिलो छैन । कविता मुलायम हुन्छ । मुलायमतामाथि कसरी लेख्नु ? कविता हृदय छुने झन्कार हो । हृदयका भाकाहरूलाई कुन शब्दमा लेख्नु ! कविता त चैत–वैशाखको आँत शीतल गराउने बतासजस्तो हुन्छ जो महसुस गराइमा धेरै मूर्त बन्छ ।
प्रेमप्रकाशको आग्रह छ– केही लेख्नुस् । म लेख्न सकिरहेको छैन जसलाई समीक्षा भनिन्छ । कविताको पनि समीक्षा कसरी गर्नु हौ ब्रो ?
बरु उनी लेख्छन्–
पहाड चिसो छ तर जमेको छैन ।
पहाडमा
चिसो हुन्छ पानीको आत्मा
गहिरा खोचहरूमा धस्सिएर
गल्छेडाहरूमा रुमलिएर
र अग्ला झरनाहरूबाट खसेर
हिँडिरहेछ नवजात नदीको मोहडा
(चिसो पहाड, रगतको तर्पण, पृष्ठ २३)
पहाडहरूको आँत चिसो भएको कुरा समकालको यथार्थ हो । पानीहरूको आत्माजस्तो बलशाली बिम्ब प्रयोग गरेर कवि प्रेमप्रकाशले नदीको गतिशीलताको कुरा गरेका छन् । गतिशीलता मानिसको पनि विशेषता हो । गतिशीलता राजनीति र समाजको पनि विशेषता हो । गतिशीलता अवश्य चाहिन्छ । प्रेमप्रकाशका कविताले गतिशीलताको पक्ष लिएका छन् । साहित्यलाई यथास्थितिको दलदलमा फस्न नदिनु पनि आजको साहित्यका निम्ति अत्यावश्यक कुरा हो । साहित्यजस्तो कुरामा पनि दक्षिणपन्थ हावी भयो भने त्यो देश कस्तो होला, सोचिरहन्छु ।
काठमाडौँको बादल लागेको दिन रोल्पाको मौसम सम्झिन्छन् कम्युनिस्ट आन्दोलनबाट दीक्षितहरू । संसद्को लचिलो, सुविधासम्पन्न र उत्तरआधुनिक कुर्सीबाट विरक्त भएर कोही–कोही रोल्पा छिर्छु भन्छन् । रोल्पासँग अब काठमाडौँ आइपुगेको कमरेडलाई दिन रातो रुमाल छैन । म यतिखेर कमरेड स्याउलालाई सम्झिरहेको छु । कमरेड स्याउलासँग बचेको आदर्श कमसेकम हाम्रो पनि आदर्श हो । बराल सरको डायरी, पूर्ण विराम र कृष्ण सेन ‘इच्छुक’ का कविता, अन्जान विरहीका कथा अनि मोहित र विद्रोहीका गीतहरूलाई यतिखेर रक्षा गर्नुभएको छ । यतिखेर हामीलाई थुप्रै प्रेमप्रकाशहरू चाहिएको छ । यतिखेर हामीले वर्गपक्षधरतालाई झन् मुखर बनाउनुपर्ने भएको छ । हाम्रो साहित्यलाई लु सुन चाहिएको छ । प्याज र लसुन नखाने हाम्रो पुरातन सोचाइ फेर्नु परेको छ । साहित्यले इच्छुक खोजिरहेको छ ।
उनी लेख्छन्–
त्यसैले ए विचारहरू
तिमी केवल टेबलमा मात्र बहस नगर
कागजमा मात्र सुतेर नबस
(विचार जरुरी छ, रगतको तर्पण, पेज ५७)
क्रान्तिकारी नेता पनि टेबल टकमा छन् । यो विश्व व्यवस्थामा टेबल टकमा विषय छ– किन छोटो छ फलानो सांसदको जुँगा ? फलानो नेताकी नातिनीको भात खुवाइमा के लैजाने होला उपहार ?
यस्तो कुरूप दृश्यलाई प्रेमप्रकाश काव्यिक रूपमा सम्बोधन र प्रहार गर्दै भन्छन्– विचारहरू सुतेर नबस । यसो भन्नुको अर्थ हो विचारहरू मूर्त हुनुपर्छ । विचारहरू चलायमान हुनुपर्छ । विचारले फेर्नुपर्छ मानिसको चेतनाको दायरालाई ।
प्रगतिशील साहित्य जसलाई हामी माक्र्सवाद नजिक ठान्छाँै । नेपालमा प्रगतिशील साहित्यलाई जड राजनीतिक चेतना, जिन्दावाद मुर्दावादमा सीमित गरियो । प्रगतिशील साहित्यकारले मानवीय मनमा उठ्ने प्रेम र त्यसले उत्पादन गर्ने भौतिक चेतनाको झिल्कोलाई लेख्न र देख्न सकेन । त्यसबारे पर्याप्त बहस पनि भएन । कवि प्रेमप्रकाशले केही उम्दा प्रेम कविता लेखेका छन् यस सङ्ग्रहमा । यी कविताहरू भावनात्मक र वैचारिक रूपमा सुन्दर छन् ।
जस्तो कि –
वसन्त भेट्न फूलहरू मुस्कुराएजस्तो
बिज्ञापन

पूर्णिामा खोज्न जून उदाएजस्तो
पातहरूसँग साउती मार्न हावा बहिरहेजस्तो
तिमीलाई भेट्न
म जुगजुगदेखि तड्पन खेपिरहेको छु
सागरमा समाहित हुन नदी बगिरहेको जस्तो
समिरा !
एक दिन जीवनको नदी थामिने रहेछ
(निजी ब्रह्माण्ड, रगतको तर्पण, पृष्ठ ९६)
बिज्ञापन
कविताले सत्यको पैरवी गरिरहेको हुन्छ । सत्य र प्रेमको सकारात्मक सम्बन्ध रहन्छ । हरेक कविताले निश्चित वैचारिक डोबहरू बनाएको हुन्छ । प्रेमप्रकाशका कविताले नेपाली समाजको पछिल्लो तीन दशकयता देखिएको परिवेशलाई समातेर आफ्नो वैचारिक कोण बनाएका छन् । पछिल्लो दशकमा व्यापक रूपमा उठिरहेको पहिचानको मुद्दालाई पनि उनले कविताको मालामा उनेका छन् । त्यसका निम्ति उनले मगरातको भूमिबाट बिम्बहरू टिपेका छन् । रैथाने सांस्कृतिक मान्यतालाई कविताहरूले सम्बोधन गर्नु निश्चय नै सकारात्मक कुरा हो ।
पहिचानको सङ्कट अहिलेको बिश्व व्यवस्थामा एउटा डरलाग्दो सङ्कट हो । चलचित्र भुठानमा प्रसिद्ध कलाकार हरिवंश आचार्य विष्णु दाइको भूमिकामा छन । भुटानी शरणार्थीको मनै छुने कथामाथि बनेको चलचित्र भुठानले तेस्रो मुलक पुगेको पात्रको मनोचरित्रलाई देखाउने प्रयास गरेको छ । आफ्नो सांस्कृतिक मान्यतालाई सम्झिरहेका पात्र हुन्, विष्णु दाइ । उनीसँग टेक्ने पराइभूमि त छ तर उनीसँग आफ्नो भन्ने केही छैन । आफ्नो मौलिकता गुमाएका मानिसहरूको स्वर पहिचानको स्वर हो । कवि प्रेमप्रकाशका कवितामा पहिचानको स्वर गज्जबले आएको छ । सचेत पहिचानको पहलु भुइँमान्छेकै मुद्दा पनि हो । यो मुद्दा र वर्गीय मुद्दालाई जोडेर उठाउँदा झन् सान्दर्भिक होला भन्ने मलाई लाग्छ ।
प्रेमप्रकाशका कविताहरू एकखालको वैचारिकी र दृष्टिकोण बोकेर उभिएका छन् । यी कविताहरूको विश्वदृष्टिकोण पनि छ । काव्यिक हिसाबले माझिएका कविताहरू यस सङ्ग्रहमा परेका छन् । क्राफ्टमा अझै माझिने ठाउँ छ । प्रेमप्रकाशले हिँडनुपर्ने बाटो पनि लामो नै छ । यतिखेर उनका कविताहरूलाई काठमाडौँले खासै सुन्न चाहेको छैन । हिसाबकिताबको आर्थिक वर्षमा उनीहरू व्यस्त रहँदा कविताले भने राजनीति गरिरहेको छ । सूर्य बीसीको भाषामा भन्दा मने कविता ठिक ठाउँमा छ ।