स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका सबै अस्पताललाई कुनै पनि परिस्थितिमा उपचार सेवा अवरुद्ध नगर्न स्पष्ट निर्देशन दिएको छ। मन्त्रालयले स्वास्थ्य सेवा नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक सेवा भएकाले त्यसलाई निरन्तर सञ्चालन गर्नु सबै स्वास्थ्य संस्थाको दायित्व भएको जनाएको हो।
बिज्ञापन
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा मंगलबार जारी विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट, दुर्व्यवहार र आक्रमणका घटनाप्रति मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। यस्ता घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित सुरक्षा निकायले आवश्यक प्रक्रिया अघि बढाइसकेको मन्त्रालयले जनाएको छ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणलाई लिएर स्वास्थ्यमन्त्री निशा मेहताले तत्काल सक्रियता देखाएकी छन्। घाइते चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँ ल्याउने व्यवस्था मिलाउनुका साथै मन्त्री मेहता स्वयं राष्ट्रिय ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। साथै, दोषीमाथि कडा कानुनी कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक सबै पहल जारी रहेको मन्त्रालयले जनाएको छ।
बिज्ञापन
मन्त्रालयले मंगलबार जारी गरेको अर्को अपिलमार्फत सबै सरकारी तथा निजी अस्पताललाई नियमित रूपमा उपचार सेवा सञ्चालन गर्न आग्रह गरेको छ। विज्ञप्तिमा स्वास्थ्य सेवा जीवनरक्षक, अत्यावश्यक र संवेदनशील सेवा भएकाले कुनै पनि कारणले नागरिकको उपचारमा बाधा पुग्न नहुने उल्लेख गरिएको छ।
मन्त्रालयले स्वास्थ्यकर्मीले सुरक्षित, सम्मानजनक र भयमुक्त वातावरणमा काम गर्न पाउनु उनीहरूको आधारभूत अधिकार भएको पनि स्पष्ट पारेको छ। स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिको सुरक्षा सुनिश्चित गर्दै बिरामीलाई सहज र निरन्तर उपचार सेवा उपलब्ध गराउन सबै अस्पताल, स्वास्थ्यकर्मी तथा सम्बन्धित पक्षलाई जिम्मेवार बन्न मन्त्रालयले आह्वान गरेको छ।
पछिल्ला समय स्वास्थ्य संस्थामाथि भइरहेका आक्रमणका घटनाले स्वास्थ्य क्षेत्रको सुरक्षा र सेवा प्रवाह दुवैमा चुनौती थपिएको भन्दै मन्त्रालयले यस्ता घटनाप्रति शून्य सहनशीलताको नीति अपनाइने संकेत दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएर स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने र नागरिकले निर्बाध स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ।

























