स्रोत नखुलेको साढे ६ लाख रकम नगदसहित एक उपसचिव पक्राउ परेका छन् । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङलाई ६ लाख ६५ हजार रुपैयाँ नगदसहित प्रहरीले विराटनगर विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
बिज्ञापन
विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा तामाङले बोकेको कालो रङको झोलाभित्र लुकाइराखेको अवस्थामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान गरी जम्मा ६ लाख ६५ हजार रुपैयाँ फेला परेको थियो । प्रहरीका विमानस्थलबाट स्रोत नखुलेको रुपैयाँसहित पक्राउ परेका तामाङले सुरुमा आफ्नो परिचय लुकाएका थिए । थप अनुसन्धान गर्दै जाँदै उनी राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति, मोरङका कार्यालय प्रमुख रहेको खुलेको हो । सो रकमको वैधानिक स्रोतबारे सोधपुछ गर्दा उनले सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल प्रहरी सुरक्षा गार्डले उनलाई नियन्त्रणमा लिइ सोही दिन जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाएका थियो ।
दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ गत साउन ३ गते बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जाने क्रममा विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा प्रहरीको नियन्त्रणमा परेका उपसचिवविरु जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

























