हरेक यात्रा एउटा गन्तव्यबाट मात्र सुरु हुँदैन, त्यो मनभित्र जाग्ने एउटा मौन आकांक्षाबाट पनि सुरु हुन्छ। तर घान्द्रुकतर्फको यो यात्रा भने हिमालले आफैँ बोलाएको निमन्त्रणाजस्तै लाग्यो। पोखरा नजिकिँदै गर्दा पूर्व क्षितिजमा अन्नपूर्ण हिमशृङ्खला विस्तारै बादलको आवरणबाट बाहिर निस्किन थाल्यो। केही क्षणमै माछापुच्छ्रेको अनुपम शिखर नीलो आकाशमा उज्यालो प्रार्थनाजस्तै उभियो। प्रकृतिले आफ्ना सबै रङहरू एकै ठाउँमा बटुलेर मानौँ एउटा दिव्य चित्र कोरेकी थिई। हिमालहरू समयभन्दा पुराना ऋषिहरूजस्तै अनन्त ध्यानमा लीन थिए। तिनको श्वेतता केवल हिउँको रङ थिएन, त्यो निर्मल चेतनाको प्रतीक थियो। बिहानको पहिलो सुनौलो किरणले अन्नपूर्णका शिखरलाई स्पर्श गर्दा लाग्थ्यो, सूर्यले पृथ्वीलाई होइन, आत्मालाई उज्यालो पारिरहेको छ।
बिज्ञापन
माछापुच्छ्रे आफ्नो अद्वितीय आकृतिसहित प्रकृतिको मौन गौरव बनेर उभिएको थियो। उसले कहिल्यै आरोहणको अनुमति दिएन, किनभने केही उचाइहरू जित्नका लागि होइन, श्रद्धाले निहार्नका लागि जन्मिएका हुन्छन्। अन्नपूर्णका शृङ्खलाहरूले आकाशसँग संवाद गरिरहेका थिए भने तल हरिया वन, झरना र सेता नदीहरूले पृथ्वीको हृदयलाई संगीतले भरिरहेका थिए। हावामा गुराँसको सुगन्ध थियो, पाखामा चराहरूको मधुर स्वर थियो, अनि क्षितिजमा फैलिएको हिमरेखाले जीवनको सबैभन्दा शान्त कविता लेखिरहेको थियो। प्रकृतिले कुनै शब्द प्रयोग गरेकी थिइन, तर उसका प्रत्येक दृश्यले हजारौँ दर्शन बोलेका थिए।
बिज्ञापन
त्यही क्षण मैले अनुभव गरेँ संसारको सबैभन्दा ठूलो मन्दिर हिमाली प्रकृतिको विराट काख हो। यहाँ कुनै मूर्ति छैन, तर प्रत्येक हिमशिखर देवत्वको प्रतीक बनेर उभिएको छ। यहाँ कुनै घण्टी बज्दैन, तर हावाको प्रत्येक सुसाइ प्रार्थनाजस्तो सुनिन्छ। यहाँ कुनै धर्मग्रन्थ पढिँदैन, तर नदी, वन, बादल र हिमालले अनादिकालदेखि जीवनको एउटै सत्य पढाइरहेका छन् जति माथि उठ्छौ, त्यति विनम्र हुन सिक। जति विशाल बन्छौ, त्यति मौन हुन सिक।
त्यसपछि मैले महसुस गरेँ कि म केवल घान्द्रुकतर्फ यात्रा गरिरहेको थिइनँ। म प्रकृतिको विश्वविद्यालयतर्फ हिँडिरहेको थिएँ, जहाँ अन्नपूर्ण गुरु थियो, माछापुच्छ्रे मौन दार्शनिक थियो, नदी समयको व्याख्याता थिई, वन धैर्यको पाठशाला थियो र आकाश अनन्तताको खुला ग्रन्थ थियो। काठमाडौंको कोलाहल विस्तारै पछाडि छुट्दै गइरहेको थियो, तर मनभित्र एउटा नयाँ शान्ति जन्मिँदै थियो। त्यसैले यो यात्रा कुनै गाउँसम्म पुग्ने यात्रा मात्र रहेन। यो बाहिरी संसारबाट भित्री चेतनातर्फ अघि बढ्ने आध्यात्मिक आरोहणको सुरुवात बन्यो।
बिज्ञापन
बस पृथ्वी राजमार्ग हुँदै अगाडि बढ्दै गयो। उपत्यकाका कङ्क्रिटका भवनहरू विस्तारै पछाडि छुट्दै गए। तिनको स्थान हरिया डाँडाहरूले लिन थाले। सडकसँगै बगिरहेको त्रिशूली नदीले यात्राभर साथ दिइरही। नदीलाई हेर्दा लाग्थ्यो, उसलाई समुद्र पुग्ने कुनै हतार छैन। ऊ केवल आफ्नो लयमा बगिरहेकी छे। जीवन पनि सायद यस्तै हुनुपर्छ। हामी गन्तव्यको चिन्तामा वर्तमान गुमाउँछौँ, तर नदीले वर्तमानमै आफ्नो सम्पूर्ण सौन्दर्य जिउँछे। प्रकृतिले त्यही क्षण पहिलो पाठ पढाइरहेको थियो।जीवन दौड होइन, प्रवाह हो।
मुग्लिन पुग्दा त्रिशूली र मार्स्याङ्दीको आलिङ्गन आँखाअगाडि खुल्यो। दुई फरक हिमाली काखबाट जन्मिएका नदीहरू यहाँ आएर एउटै लयमा बग्न थालेका थिए। एउटा नदीको वेगमा पहाडको उग्रता थियो भने अर्कोको प्रवाहमा धैर्यको गहिराइ। तर संगममा पुगेपछि कसैले आफ्नो परिचय जोगाउन खोजेन। दुवैले आफ्नो अहंकार नदीसँगै बगाइदिए। त्यहाँ न जित थियो, न हार; केवल समर्पण थियो। प्रकृतिले मौन भाषामा एउटा महान् सत्य उद्घोष गरिरहेकी थिई। अस्तित्वको सर्वोच्च रूप प्रतिस्पर्धामा होइन, सहअस्तित्वमा हुन्छ।
केहीबेर म त्यही दृश्यमा हराएँ। संगमको निरन्तर प्रवाहलाई नियाल्दा लाग्यो, मानिसका जीवन पनि यस्तै दुई नदीजस्ता हुन्। हाम्रो जन्मभूमि फरक हुन्छ, भाषा फरक हुन्छ, संस्कार फरक हुन्छ, विश्वास फरक हुन्छ, तर अन्ततः सबैको खोज एउटै हुन्छ। शान्ति, प्रेम र आत्मिक पूर्णता। बाहिरका विभाजनहरू समयले बनाएका हुन्; भित्रको चेतना भने सधैँ एउटै रहन्छ। त्यसैले बुद्धले भन्नुभएको थियो, “मन नै सबै कुराको मूल हो।” मन शुद्ध भए संसार पनि शुद्ध देखिन्छ; मन विभाजित भए संसार पनि विभाजित देखिन्छ।
संगमले मलाई अर्को सत्य पनि सम्झायो। नदीले कहिल्यै आफ्नो पानी आफैँका लागि बचाएर राख्दिन। ऊ निरन्तर बग्छे, दिन्छे र अन्ततः समुद्रमा आफूलाई विलीन गर्छे। मानिसले भने जीवनभर ‘मेरो’ र ‘तिम्रो’ को पर्खाल उठाइरहन्छ। प्रकृतिले त्यस्तो कुनै सीमारेखा कोरेकी छैन। सीमाहरू हाम्रो चेतनाले बनाएका हुन्। नदीले त केवल बग्न जानेकी छे, जोड्न जानेकी छे, जीवन दिन जानेकी छे। सायद त्यसैले नदीहरू सभ्यताका जननी कहलिएका हुन्।
बस फेरि आफ्नो यात्रामा अघि बढ्यो। तर मेरो मन भने केही क्षण अझै त्यही संगमको किनारमा अडिइरह्यो। मैले महसुस गरेँ। जीवनको सार एकअर्कामा मिसिन सक्ने विनम्रतामा रहेछ। त्रिशूली र मार्स्याङ्दीले त्यस दिन मलाई नदीको कथा मात्र सुनाएनन्। तिनले मानवता, एकता र आत्मसमर्पणको शाश्वत दर्शन पढाए।
पोखरा पुग्नेबित्तिकै आकाश खुल्यो। बादलको चिर्कोबाट अचानक माछापुच्छ्रे हिमाल मुस्कुरायो। फेवातालको नीलो पानीमा हिमालको प्रतिबिम्ब स्थिर थियो। त्यो दृश्य हेर्दा वास्तविकता र प्रतिबिम्बबीचको सम्बन्धबारे सोच्न थालेँ। हामीले देख्ने संसार कति वास्तविक छ? अनि हामीले बनाएको अहंकार कति स्थायी छ? तालले कुनै उत्तर दिएन। उसले केवल आकाशलाई आफ्नो हृदयमा सम्हालिरह्यो। मौनता कहिलेकाहीँ सबैभन्दा गहिरो उत्तर हुने रहेछ।
पोखराबाट हाम्रो यात्रा घान्द्रुकतर्फ मोडियो। सडक साँघुरिँदै गयो। शहरको भीड हराउँदै गयो। पहाडको शान्ति विस्तारै मनभित्र पस्न थाल्यो। किम्चेबाट उकालो सुरु भएपछि पाइलाहरू भारी भए। सास गहिरो भयो। तर आश्चर्य के थियो भने शरीर थाक्दै जाँदा मन भने हलुका हुँदै गइरहेको थियो। त्यसबेला लाग्यो यात्राले सबैभन्दा पहिले शरीर होइन, अहंकारलाई थकाउँछ। उकालोले मानिसलाई विनम्र बनाउँछ, किनभने प्रकृतिका अगाडि कुनै पनि मानिस ठूलो हुँदैन।
बाटोमा भेटिएका एक वृद्ध गुरुङले काँधमा डोको बोकेर सहज रूपमा उकालो चढिरहेका थिए। मैले मुस्कुराउँदै सोधेँ, “हजुरलाई थकाइ लाग्दैन?” उहाँले पनि मुस्कुराएर भन्नुभयो, “पहाडले थकाइ हटाउँदैन, थकाइसँग बाँच्न सिकाउँछ।” उहाँको त्यो वाक्य त जीवनको दर्शन थियो। हामी दुःख हटाउन खोज्छौँ, तर प्रकृतिले दुःखसँग मित्रता गर्न सिकाउँछ। स्वीकार नै शान्तिको पहिलो ढोका रहेछ।
केही समयपछि उकालोको अन्तिम मोड पार गर्दै गर्दा ढुङ्गाले छाएका घरहरू एकाएक आँखाअगाडि खुल्न थाले। मैले सहजै अनुभूति गरेँ। म घान्द्रुक आइपुगेछु। त्यो कुनै गाउँमा प्रवेश गरेको क्षण मात्र थिएन। त्यो त प्रकृतिले आफ्ना सबैभन्दा सुन्दर रहस्यहरू एकैचोटि खोलिदिएको क्षण थियो। अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको काखमा बसेको घान्द्रुक कुनै चित्रकारको कल्पना होइन, स्वयं प्रकृतिको उत्कृष्ट कलाकृति रहेछ। हिमालका श्वेत शिखरहरू नीलो आकाशसँग आलाप गरिरहेका थिए। तल हरिया वनले पृथ्वीलाई हरियो वस्त्र ओढाइदिएका थिए। ढुङ्गाका घरहरू मानौँ ती हिमालका सन्तानझैँ शान्त, स्थिर र गौरवपूर्ण देखिन्थे। फूलहरूले सजिएका आँगनमा हावाले मधुर स्पर्श गर्दै हिँड्दा सम्पूर्ण गाउँ एउटा जीवित कविताजस्तो अनुभूत हुन्थ्यो।
त्यहाँको सौन्दर्य मनले महसुस गर्ने अनुभूति थियो। बिहानको घामले ढुङ्गाका छानामाथि सुनौलो आभा छर्दा गाउँ लजाएकी नवयौवनाको अनुहारजस्तै उज्यालो देखिन्थ्यो। हल्का हावाले गुराँसका फूलहरू हल्लाउँदा लाग्थ्यो, प्रकृतिले आफ्ना कोमल भावनाहरू मौन नृत्यमार्फत व्यक्त गरिरहेकी छे। पाखापखेरामा फैलिएका हरियाली, चराहरूको मधुर स्वर, झरनाको अविरल संगीत र हिमालबाट झरेको शीतल हावाले वातावरणलाई यस्तो जीवन्त बनाइदिएका थिए कि प्रत्येक साससँग पृथ्वीको प्रेम अनुभव गर्न सकिन्थ्यो। त्यो आकर्षण कुनै क्षणिक मोह थिएन। त्यो त सृष्टि र चेतनाबीचको आत्मीय सम्बन्ध थियो, जहाँ प्रकृतिले आफ्ना सम्पूर्ण रूप, रस र रागलाई एकैसाथ अभिव्यक्त गरेकी थिई।
घान्द्रुक गुरुङ समुदायको सांस्कृतिक धरोहर हो। यो प्रकृति र संस्कृतिको अद्वितीय मिलनस्थल हो। गाउँका गल्लीहरूमा हिँड्दा परम्परागत जीवनशैलीका असंख्य रङहरू देखिन्थे। कतै वृद्ध आमाहरू ऊन कात्दै समयलाई धागोमा उन्दै थिए। कतै युवाहरू परम्परागत गुरुङ पोशाकमा आत्मीय मुस्कानसहित पाहुनाको स्वागत गरिरहेका थिए। कतै बालबालिकाको निष्कलङ्क हाँसो हिमाली हावासँग मिसिएर गाउँभरि गुञ्जिरहेको थियो। यहाँका ढुङ्गाका घरहरू इतिहासका पानाहरू थिए। यहाँका मानिसहरू जीवित संस्कृति थिए। यही कारण घान्द्रुक अनुभव गर्ने चेतना बनेर मनमा बस्छ। यहाँ प्रकृतिको विराट सौन्दर्य र मानवीय आत्मीयताको न्यानोपन एकअर्कामा यति सुन्दर ढङ्गले विलीन भएका छन् कि फर्किसकेपछि पनि मनको एउटा अंश सधैँ त्यही हिमाली गाउँको शान्त काखमा बसेर मुस्कुराइरहन्छ।
गाउँका मौलिक ढुङ्गाका घरहरूमा सञ्चालन गरिएका होमस्टेहरूले यात्रालाई अझ आत्मीय बनाइदिए। साँझ स्थानीय परिवारसँग बसेर ढिँडो, गुन्द्रुक, स्थानीय तरकारी र तातो चियाको स्वाद लिँदा लाग्यो, आतिथ्य कुनै व्यापार होइन, त्यो संस्कार हो। यहाँ पाहुनालाई ग्राहक होइन, परिवारको सदस्यजस्तै व्यवहार गरिन्थ्यो। सायद यही कारणले संसारभरका पर्यटकहरू बारम्बार घान्द्रुक फर्केर आउँछन्। उनीहरू मानवताको न्यानोपन अनुभव गर्न आउँछन्।
साँझ पर्दै जाँदा आकाश असंख्य ताराले भरियो। काठमाडौंमा यति धेरै तारा देख्न सम्भव छैन। त्यहाँ बत्ती धेरै छन्, त्यसैले आकाश हराएको छ। यहाँ अँध्यारो गहिरो थियो, त्यसैले ताराहरू झन् उज्याला थिए। त्यसबेला लाग्यो मानिसको जीवन पनि यस्तै हो। बाहिरी चमक बढ्दै जाँदा भित्री प्रकाश हराउँदै जान्छ। मौनताले मात्र आत्माको तारा देख्न सकिन्छ।
भोलिपल्ट बिहान अन्नपूर्ण हिमशृङ्खलामाथि सूर्यको पहिलो किरण पर्दाको दृश्य अवर्णनीय थियो। केही क्षणअघि चाँदीजस्तो देखिएको हिमाल अचानक सुनौलो भयो। त्यो दृश्यले मलाई एउटा गहिरो सत्य सम्झायो।प्रकाश बाहिरबाट आउँदैन, उसलाई ग्रहण गर्ने क्षमता भित्र हुनुपर्छ। एउटै सूर्यले सबै हिमाललाई समान रूपमा छोएको थियो, तर प्रत्येक चुचुरोले त्यसलाई आफ्नो ढङ्गले प्रतिबिम्बित गरिरहेको थियो। मानिसको जीवन पनि त्यस्तै हो। अवसर सबैलाई आउँछ, तर त्यसलाई उज्यालोमा बदल्ने सामर्थ्य प्रत्येकको चेतनामा निर्भर हुन्छ।
घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविर र माछापुच्छ्रे आधार शिविरतर्फ जाने पदमार्ग संसारकै लोकप्रिय पदयात्रामध्ये एक मानिन्छ। संसारका विभिन्न देशबाट आएका यात्रुहरू एउटै बाटोमा हिँडिरहेका थिए। उनीहरूको भाषा फरक थियो, तर अनुहारमा देखिने उत्साह एउटै थियो। प्रकृतिले कहिल्यै राष्ट्रियता सोध्दिन। हिमालले धर्म सोध्दैन। हावाले भाषा सोध्दैन। प्रकृतिका अगाडि मानिस केवल मानिस हुन्छ। यही समानताले यात्रालाई विश्वव्यापी बनाउँछ।
गाउँको माथिल्लो भागमा रहेको एउटा सानो गुम्बामा केही समय बिताएँ। प्रार्थनाका झन्डाहरू हावासँगै फर्फराइरहेका थिए। घण्टीको मधुर ध्वनि वातावरणमा फैलिएको थियो। मैले आँखा बन्द गरेँ। त्यहाँ कुनै चमत्कार देखिनँ। तर आफ्नै मनको कोलाहल स्पष्ट सुनियो। त्यसै क्षण मैले बुझें अध्यात्म बाहिर देवता खोज्ने यात्रा होइन, आफ्नै बेचैन मनलाई शान्त बनाउने साधना हो। हिमालले मानिसलाई उचाइ होइन, विनम्रता सिकाउँछ।
फर्किने दिन आयो। उही बाटो, उही खोला, उही डाँडा फेरि देखिए। तर म भने उही थिइनँ। यात्राले बाहिरी दृश्यभन्दा बढी भित्री दृष्टि बदलिदिएको थियो। पोखरा फेरि आयो। काठमाडौं पनि फेरि आयो। भीड, हर्न र हतार फेरि सुरु भए। तर मेरो मनभित्र घान्द्रुकको मौनता अझै जीवित थियो। मैले त्यहाँबाट कुनै महँगो वस्तु ल्याइनँ। कुनै स्मृतिचिह्न पनि किनिनँ। तर एउटा अमूल्य सम्पत्ति भने लिएर फर्किएँ। सरल जीवनको दर्शन, प्रकृतिप्रतिको श्रद्धा, संस्कृतिप्रतिको सम्मान र आत्माभित्रको मौनताको उज्यालो।
आज पनि जब जीवन अत्यन्त व्यस्त हुन्छ, म आँखा बन्द गर्छु। त्यसपछि मनमा फेरि घान्द्रुक देखापर्छ। ढुङ्गाले छाएका घरहरू देखिन्छन्। अन्नपूर्णको शान्त मुस्कान देखिन्छ। माछापुच्छ्रेको गौरव देखिन्छ। गुरुङ गाउँको आत्मीयता महसुस हुन्छ। अनि लाग्छ यात्राको अन्त्य गन्तव्यमा हुँदैन। यात्राको अन्त्य त्यही बेला हुन्छ, जब मानिसले आफूभित्रको हिमाल भेट्छ। र त्यो हिमाल बाहिरको कुनै शिखरभन्दा धेरै अग्लो हुन्छ।


























