मन्त्रिपरिषद्को बैठकले बढुवा,नियुक्ति,म्याद थप लगायतका निर्णयहरु गरेको छ ।
बिज्ञापन
केहीबेर अगाडि सम्पन्न बैठकले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डिआईजी) अन्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
यस्तै, सरकारले भूमि समस्या समाधान समितिको अध्यक्ष र तीन सदस्य नियुक्त गरेको छ । भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोला र सदस्यहरुमा काठमाडौँका अभिप्रसाद न्यौपाने, लमजुङका पद्मनिधि सोती र काठमाडौँका डा. रोना श्रेष्ठलाई नियुक्त गरिएको हो ।
सरकारले जेनजी आन्दोलनमा भएको दमन तथा क्षति जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिसका आधारमा सुरक्षा संयन्त्रका पदाधिकारीलाई गरिने कारबाहीबारे अध्ययन गर्न बनेको समितिको म्याद ४५ दिन थप गरेको छ ।
यस्तै सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमबाट ओजोन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग जोडिएको यो महत्वपूर्ण सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो।



































