नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरूले पाउँदै आएको तलबभत्ता अब मासिक होइन, अर्धमासिक रूपमा भुक्तानी गर्ने व्यवस्था लागू गर्ने तयारी गरिएको छ।
बिज्ञापन
अर्थ मन्त्रालयको निर्णयअनुसार सरकारी कर्मचारीको तलबभत्ता वितरण प्रणालीमा परिवर्तन गर्दै अब महिनामा एकपटक होइन, दुईपटक भुक्तानी गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको हो।
मिति २०८३ वैशाख ४ गते अर्थमन्त्रीस्तरबाट भएको निर्णय अनुसार अर्धमासिक रूपमा तलबभत्ता वितरण गर्ने व्यवस्था मिलाउन महालेखा नियन्त्रक कार्यालय, अनामनगर काठमाडौं लाई अनुरोध गरिएको छ।
हालसम्म सरकारी कर्मचारीहरूको तलबभत्ता महिना सकिएपछि एकमुष्ट रूपमा मासिक भुक्तानी हुँदै आएको थियो। तर अब नयाँ व्यवस्थाअनुसार तलबभत्ता महिनाको बीच र अन्त्यतिर गरी दुई चरणमा वितरण गर्ने प्रणाली लागू गर्ने तयारी गरिएको हो।
बिज्ञापन
सरकारी स्रोतका अनुसार अर्धमासिक भुक्तानी प्रणाली लागू भएपछि कर्मचारीहरूको नगद प्रवाह व्यवस्थापन सहज हुने, व्यक्तिगत खर्च व्यवस्थापनमा सहयोग पुग्ने र सरकारी भुक्तानी प्रणालीलाई आधुनिक तथा व्यवस्थित बनाउने उद्देश्य राखिएको छ।
यस निर्णय कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयले सरकारी लेखा प्रणाली, कोष तथा भुक्तानी व्यवस्थापन प्रणालीमा आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अघि बढाउने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्था लागू भएपछि नेपाल सरकारअन्तर्गतका संघीय कार्यालयहरूमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूले महिनामा दुईपटक तलबभत्ता प्राप्त गर्ने व्यवस्था कार्यान्वयनमा आउनेछ।

































