त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदाको नाममा व्यापक दुरुपयोग भएको तथ्यहरु खुलेको छ । विश्वविद्यालयका प्राध्यापक र कर्मचारी गरी ३९८ जना अध्ययन बिदामा गएर नफर्किँदा २ अर्ब २ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको तथ्य खुलेको हो । त्रिविका उपप्राध्यापक डा जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले ५ महिना बढी लगाएर खोज गर्दा ३९८ जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरिएको भेटिएको हो । प्रतिवेदनअनुसार यस्ता विदा लिनेको संख्या ३९८ प्रध्यापक रहेका छन् । जसमध्ये १९१ प्राध्यापक अध्ययन बिदा लिएर विदेशमा पढाइ पूरा गरी उतै रमाइरहेका छन् । यस्तै बिदा लिएर अध्ययन पूरा गर्नेहरू २०७ जना रहेका छन् ।
बिज्ञापन
छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिएर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी ३९८ जना प्राध्यापक छन् । यस्तो दुरुपयोगमा मुछिएकामध्ये हालसम्म १९ जना प्राध्यापकले रकम फिर्ता गरेका छन् । अध्ययन बिदामा गएर नफर्किएपछि १० प्रतिशत ब्याजसहित आफूले खाएको सबै रकम फिर्ता गर्नुपर्ने हुन्छ ।
यसरी अध्ययन विदा दुरुपोग गर्नेमा मानविकी तथा सामाजिकशास्त्र संकायमा ११४ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा १०६ जना र इन्जिनियरिङ अध्ययन संस्थानमा ९९ जना रहेको जनाइएको छ । त्यसैगरी, वन विज्ञान अध्ययन संस्थानमा २८ जना, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा १३ जना, चिकित्साशास्त्र अध्ययन संस्थानमा ९ जना, शिक्षाशास्त्र संकायमा ९ जना, व्यवस्थापन संकायमा १९ जना र कानुन संकायमा १ जना प्राध्यापक रहेका छन् । त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने उल्लेख छ । यदि ३ वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा ३ वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ ।
अध्ययन बिदा सकिएपछि शिक्षक नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाइपाइ आएको तलब भत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर शिक्षक कर्मचारीले कबुलियतनामा पनि गरेका हुन्छन् । सोही प्रावधान अनुसार,हालसम्म १९ जनाले ६ करोड बढी रकम फिर्ता गरिसकेको र रकम फिर्ता गर्न ४५ जनाको निवेदन प्राप्त भएको जनाइएको छ । यसरी रकम फिर्ता गर्नेमा पृथ्वीनारायण क्याम्पास पोखराका उप प्रध्यापक मित्रमणी सुवेदीले ४३ लाख १४ हजार, शिक्षासास्त्र केन्द्रीय विभागका उप प्रध्यापक हेमाकुमारी रावतले ४४ लाख ७३ हजार र पश्चिमाञ्चल क्याम्पस पोखराका उप प्रध्यापक ज्ञानप्रसाद गौतमले ७ लाख ५५ हजार,पद्मकन्या क्याम्पसका उप प्रध्यापक रेना श्रेष्ठले ९ लाख ७५ हजार, पोखरा क्याम्पसका उप प्रध्यापक शेषकान्त भण्डारीले ३६ लाख ३१ हजार पोखरा क्याम्पसका उप प्रध्यापक शम्भु पौडेलले ४४ लाख ८३ हजार रुपैयाँ रकम फिर्ता गरेका छन् ।
































