डा. सुमनराज ताम्राकारको हास्यव्यङग्य संग्रह `इतिश्री उवाच´ नेपाली व्यङ्ग्य साहित्यमा नयाँ प्राप्ति हो । इतिश्री उवाचलाई सतहमा हेर्दा हास्य–व्यङ्ग्य संग्रहजस्तो मात्र देखिए पनि यो पुस्तक व्यङ्ग्यात्मक र प्रश्नमुखी छ । समाजमा जरा गाडेर बसेका ढोंग, राजनीतिक क्षेत्रमा रहेकोे बेतिथि र कतिपय खोक्रोपनलाई लेखकले तीखो तर सुसंस्कृत व्यङ्ग्य गर्दै बेथितिको सुधार हुनुपर्छ भन्ने सर्तमा यो कृति उभिएको छ ।
कृतिमा देखिने पात्र, घटना र प्रसङ्गहरूले कतै टेलिसिरियल सम्झाइदिन्छन्, कतै समकालीन नेपाली राजनीति र सामाजिक व्यवहारको अमिल्दोपन आँखा अगाडि प्रस्तुत भएझै लाग्छ ।
बिज्ञापन
इतिश्री उवाचका व्यङ्ग्यहरूले हाँस्नका लागि मात्र प्रेरित गर्दैनन् सोच्न बाध्य पार्छ्न । हरेक रचनामा केही प्रश्न लुकेको छ—हामी आफैँ कति ठिक छौँ ? कति सचेत छौँ ? कतै भीडको नक्कलमा बगिरहेका त छैनौं ? यही प्रश्न–बोध नै यस कृतिको शक्ति हो ।
भाषा सरल छ तर अर्थ गहिरो । कतै चोटिलो कटाक्ष छ, कतै गम्भीर । यौन, जीवनशैली, सामाजिक विसङ्गति, मानवीय गुण–दोषलाई लेखकले व्यंग्यको विषय बनाएका छन् । डा. सुमनराज ताम्राकारको लामो लेखकीय अनुभव छ । जुन अनुभव इतिश्री उवाचमा स्पष्ट रूपमा झल्किएको छ ।
नेपाली व्यङ्ग्य साहित्यमा रुचि राख्ने पाठकका लागि मात्र होइन, समाजलाई अलि फरक आँखाले हेर्न चाहने सबैका लागि इतिश्री उवाच एक अर्थपूर्ण पुस्तक हो ।पनौतिका चार्डपर्वहरू र मकरमेला,गठेमङमल ( लघुकथा संग्रह ) , सांस्कृतिक धरोहर ( खण्ड १) नेवा नसा: ( नेवारी परिकार सम्बन्धि पुस्तक ), मात्र यौनका कुरा ( यौन स्वास्थ ) जस्ता पुस्तकका लेखक ताम्राकारको यो पछिल्लो पुस्तक हो ।
बिज्ञापन
डा . सुमनराज ताम्राकारको पनौती नगरपालिका , काभ्रे स्थायी ठेगाना हो । उनले प्रथम भरतराज पत्रकारिता पुरस्कार ( २०५६) , जनमत सम्मान ( २०७८) , सयपत्री सम्मान ( २०७९) प्राप्त गरेका छन् ।


























