नेपालमा बसेर शङ्कास्पद गतिविधि गरेको आरोपमा एक चिनियाँ र अर्काे एक अमेरिकन नागरिक पक्राउ परेका छन् । अध्यागमन विभागले चाबहिलबाट चिनिँया नागरिक र अमेरिकन नागरिकलाई ठैवबाट पक्राउ गरेको हो ।
बिज्ञापन
पकनाजोलमा फ्ल्याट लिएर बस्दै आएका चिनियाँ नागरिक २०१२ मा पर्यटक भिसामा नेपाल आएको र त्यसपछि १३ पटक व्यावसायिक भिसा लिएको भेटिएको छ । ६ वटा कम्पनीहरु यान सपिङ होटल एण्ड रेस्टुरेन्ट प्रालि, होल विथ रेस्टुरेन्ट यान, झोँङविन इन्टरनेशनल कार्गो कम्पनी, मोय यीङ होटल विथ रेस्टुरेन्ट, स्प्रिट मंकी इन्फर्मेसन टेक्नोलोजी र शाव जिअसुन होटल विथ रेस्टुरेन्ट स्थापना गरेर व्यावसायिक भिसा लिए पनि उनले विभिन्न विद्यालयहरूमा अध्यापन गर्दै आएको भेटिएको छ । पर्यटक भिसा र व्यावसायिक भिसामा नेपालमा बस्दा विदेशी नागरिकले काम गर्न नपाउने व्यवस्था छ ।
यस्तै, अमेरिकी नागरिक २०१७ मा पहिलो पटक नेपाल प्रवेश गरी सन् २०२० मा पुनः नेपाल आएर उनले सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्याल्भेरी सर्भिस सेन्टर प्रालि नामको कम्पनी स्थापना गरेका थिए । सो कम्पनीको ठेगाना ललितपुरका सैंबुमा उल्लेख गरेको भेटिएको छ । उनले ललितपुरको गोदावरीमा बालगृह सञ्चालन गरेको र बालबालिकालाई क्रिस्चियन धर्म प्रचारमा लगाउने गरेको विभागको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । बालगृहसम्बन्धी आधिकारीक बोर्ड नभएको, उक्त भवनमा आर्थिक अवस्था कमजोर भएका १२ जना वालिकाहरुलाई आश्रय दिएर राखेको र क्रिश्चियन धर्मसम्बन्धी गतिविधिमा संलग्न गराउने गरेको प्रारम्भित्र अनुसन्धानमा खुलेको छ ।
भिसाको उद्देश्य विपरीत शङ्कास्पद गतिविधिमा संलग्न रहेको विभागको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको विभागका निर्देशक टिकाराम ढकालले जनाएका छन् ।


























