नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा प्रहरी सेवामा प्रवेश गरेको आरोपमा नेपाल प्रहरीका एक वरिष्ठ अधिकृत कानुनी घेरामा परेका छन्।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पतालमा कार्यरत एसएसपी लालबाबु गिरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगको केन्द्रीय कार्यालय टंगालले मंगलबार दायर गरेको अभियोगमा गिरीले सेवा प्रवेशका क्रममा पेश गरेको एसएलसी प्रमाणपत्र नक्कली भएको दाबी गरिएको छ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गिरीले सन् १९८८ मा भारतको बिहारस्थित बिहार स्कुल एक्जामिनेशन बोर्ड, पटना बाट एसएलसी उत्तीर्ण गरेको देखिने प्रमाणपत्र पेश गरेका थिए। तर सम्बन्धित बोर्डमा आधिकारिक रूपमा बुझ्दा उनले त्यहाँबाट एसएलसी पास नगरेको पुष्टि भएपछि मुद्दा अघि बढाइएको हो।
अख्तियारका अनुसार पटनाको अभिलेखमा अन्तिम क्रमांक ५७६ रहेको भए पनि गिरीले बुझाएको प्रमाणपत्रमा क्रमांक ७१८ उल्लेख छ, जसले कागजात नक्कली बनाइएको संकेत गर्छ।
बिज्ञापन
गिरीले पछि २०५० सालमा पीसीएल नर्सिङ र २०६३ सालमा पोस्ट बेसिक ब्याचलर इन नर्सिङ अध्ययन पूरा गरेका थिए। उनी २०५२ साल पुस १६ गते प्राविधिक सईको रूपमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्।
रोचक पक्ष के छ भने, उनी अनिवार्य अवकाशमा जान अब करिब एक सातामात्र बाँकी रहँदा मुद्दा दायर भएको हो। ३० वर्षे सेवा अवधिका कारण उनी पुस १५ गते अनिवार्य अवकाशमा जाँदै थिए।

























