प्रहरी र प्रशासन मिलेमतोमा कसरी बदमासी गर्नेहरुलाई उन्मुक्ति दिइन्छ एउटा सानो घटना हेरौं :
अविवाहित युवतीले एक अवैद्य क्लिनिकबाट बच्चा जन्माइन् । त्यही अवैद्य क्लिनिक सञ्चालकलाई प्रशासनदेखि प्रहरीले कानुनी कारवाहीको दायरामा ल्याउनुपर्नेमा उल्टै प्रहरी र प्रशासनले संरक्षण गरेको भेटिएको छ ।
बिज्ञापन
सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा अवस्थित शिवशक्ति स्वास्थ्य क्लिनिक र त्यसका सञ्चालकलाई प्रहरी र प्रशासनले जोगाइरहेको भेटिएको हो । सरकारबाट फार्मेसी सञ्चालनको अनुमति लिएर उक्त क्लिनिकले सुत्केरीसमेत गराउँदै आएका थियो । अनुमतिबिना ल्याब, एक्स–रे मेसिन चलाइरहेको बिषयमा समाचार सार्वजनिक भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले नै छापा मारेर सामानहरु जफत गरेको थियो । तर, अहिलेसम्म बन्द गरिएको छैन । सिन्धुपाल्चोकको जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईँले उक्त पोलिक्लिनिकको दर्ता नै नभेटिएको प्रतिक्रिया दिइसकेकी छिन् ।
बिज्ञापन
सोही क्लिनिनबाट एक अविवाहित युवतीले बच्चा जन्माएकी छिन् । लामो समयदेखि काठमाडौंमा लिभिङ टुगेदरमा रहेकी र अविवाहित युवतीले सिन्धुपाल्चोकमा पुगेर सोही क्लिनिकबाट अवैद्य रुपमा बच्चा जन्माएको बिषय कर्मचारी प्रेसले यस अघि नै प्रकाशन गरिसकेको थियो । मेलम्चीकै एक २० वर्षीया दलित युवती जापान जानका लागि काठमाडौंमा आफन्तकोमा बसेर भाषा पढिरहेकी थिइन् । सोही क्रममा उनको बोहोरा थरको एक युवकसँग प्रेम बस्यो । ‘लिभिङ टुगेदर’ मा बस्दै आएकोमा उनी गर्भवती भइन् । उनीहरुले काठमाडौंमै गर्भपतन गराउने प्रयास गरे । तर, गर्भपतन सफल नभएपछि ती युवकले उनलाई औषधी खुवाएर आफू फरार भए युवती भने गर्भसहित आफ्नो माइती फर्किइन् । उनको परिवार छोरीको गर्भपतन गराउनका लागि कात्तिक ६ गते स्थानीय शिवशक्ति पोलिक्लिनिक पुग्यो ।
सोही क्लिनिकले ८ महिनाको शिशुलाई जन्म दिएपछि ती युवतीले शिशुलाई आफैसँग लैजान मानिनन् । उनले आफूसँग लैजान नमानेपछि पोलिक्लिनिककी स्टाफ नर्स शान्ता जिरेलले बच्चा फ्याँक्ने क्रममा स्थानीयले समातेका थिए । बच्चा फाल्न लैजाँदा सो क्लिनिकको कर्मचारीलाई रंगहोत भेट्टाएर केरकार गर्दा यो प्रकरणमा क्लिनिकले गरेको गम्भीर बदमासी बाहिर आएको हो । तर स्टाफ नर्स जिरेलले भने आफूले बच्चा नफ्याँकेको दाबी गरिन् । उल्टै बच्चाको ज्यान जोगाएको उनको जिकिर छ ।
बिज्ञापन
उनलाई ईलाका प्रहरी कार्यालय, मेलम्ची पठाएपछि मात्र घटना बाहिर आएको हो । प्रहरीले घटनाको मुचुल्का उठाएपनि अहिलेसम्म छानबिन अगाडि बढाएको छैन । प्रशासनले समेत यो क्लिनिक सञ्चालकलाई संरक्षण गरिरहेको छ ।
डेढ बर्षदेखि सिन्धुपाल्चोकको मेलम्चीमा सञ्चालित उक्त क्लिनिकले पटक पटक अवैद्य गर्भपतन यस अघि समेत यसैगरी गर्भपतन गराउँदा लफडा नै निस्किएको थियो । ८१ साल वैशाख १३ मा उक्त संस्था औषधि व्यवस्था विभागमा दर्ता भएको देखिन्छ । सोही संस्थाले पछिल्ला दिनमा अवैद्य गर्भपतन गराउँदै आएको स्थानीयहरुको आरोप छ । उक्त क्लिनिकका सञ्चालक तथा अध्यक्ष हुन आनन्द प्रसाद दाहाल,आफ्नै नातेदार छन् चिकित्सकको रुपमा कार्यरत । सोही संस्थाले अवैद्य रुपमा गर्भपतन गराइरहेको बिषयमा जिल्ला प्रशासनदेखि प्रहरी प्रशासनसम्म बिषय पुगेको छ तर यसरी अवैद्य रुपमा सञ्चालित उक्त क्लिनिकका सञ्चालकले प्रहरी र प्रशासनले मोटो रकम लिएर प्रकरण ढिस मिस पार्न लागिपरेको छ ।
यसरी अवैद्य सञ्चालित क्लिनिकबाट बच्चा जन्माइएपछि अहिले आमा र बच्चालाई माइती नेपालको संरक्षणमा पठाइएको छ भने घटना घटेको एक महिना हुन लागिसक्दासमेत अनुसन्धान शुरु भएको छैन ।
तर जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रमुख एसपी रामेश्वर कार्कीले केटी पक्षले जाहेरी नदिएकाले अनुसन्धान अगाडि नबढेको प्रतिक्रिया दिन्छन् । उनले जाहेरी दिनेबित्तिकै अनुसन्धान शुरु हुने बताए ।
तर युवतीकी आमाले प्रहरीमा जाहेरी दिइसकेको बताउँछिन् । प्रहरी र माइती नेपालमै जाहेरी दिइसकेका छौं । केटा तराईको हो । प्रहरीले खोजिरहेको होला, केही जानकारी दिएको छैन । ती केटीको आमाले भनिन् ।
अवैद्य गर्भपतन गराउँदै आएको क्लिनिकलाई प्रहरी र प्रशासनको उन्मुक्ति,स्थानीय आक्रोशित


























