जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहितका संवेदनशील सरकारी संरचनामा भएको तोडफोड र आगजनीको घटनापछि नेपाली सेनाले आफ्नै तीन जना कमाण्डरमाथि आन्तरिक छानबिन सुरु गरेको छ।
बिज्ञापन
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार ती कमाण्डरहरूलाई प्राथमिक स्पष्टीकरणका लागि सैनिक मुख्यालय, जङ्गी अड्डा झिकाइएको हो। उनले भने, “संवेदनशील स्थानमा खटाइएका कमाण्डरहरूलाई घटनाको वस्तुस्थिति बुझ्न मुख्यालय बोलाइएको हो। प्रारम्भिक बुझाइपछि मात्रै थप निर्णय लिइनेछ।”
बिज्ञापन
बस्नेतका अनुसार हालको अवस्थामा विस्तृत विवरण सार्वजनिक गर्न उपयुक्त समय नभएको र छानबिन समितिले प्रतिवेदन पेश गरेपछि मात्र औपचारिक निष्कर्ष आउने बताए।
जेनजी आन्दोलनका क्रममा सिंहदरबार, राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतलगायतका संरचना क्षतिग्रस्त भएपछि नेपाली सेनाको भूमिकामाथि प्रश्न उठ्दै आएको थियो। ती संरचना सुरक्षाको जिम्मेवारीमा खटिएका सेनाका कमाण्डरहरूले प्रभावकारी ढंगले जिम्मेवारी निर्वाह नगरेको भन्दै सेनाभित्र असन्तोषसमेत देखिएको बताइन्छ।
बिज्ञापन
अदालतका कर्मचारीहरूले पनि “सैनिकहरू उपस्थित भए पनि समयमै हस्तक्षेप नगरेका कारण क्षति रोक्न नसकिएको” बताएका छन्।
लगातार बढ्दै गएको आलोचनापछि सेनाले घटनाको सम्पूर्ण पृष्ठभूमि अध्ययन गरी अन्य जिम्मेवार अधिकृतमाथि पनि कारबाही प्रक्रिया अघि बढाउन सक्ने संकेत गरेको छ।