कर्मचारीतन्त्रलाई दलगत प्रभावमा पार्दै योग्यता र क्षमताभन्दा नजिकको सम्बन्ध र राजनीतिक आस्थालाई प्राथमिकता दिने प्रवृत्ति फेरि एकपटक सतहमा आएको छ । बझाङ जिल्लाको जनस्वास्थ्य कार्यालयमा कार्यरत वरिष्ठ जनस्वास्थ्य अधिकृत लालबहादुर धामी लाई हटाई युनियन निकट कर्मचारीलाई कार्यालय प्रमुख बनाइदिन सिफारिस गरिएको पत्र सार्वजनिक भएपछि चर्को आलोचना भएको छ ।
बिज्ञापन
नेपाल निजामती कर्मचारी युनियन, बझाङ शाखाले सामाजिक विकास मन्त्रालय, धनगढीलाई पठाएको पत्रमा धामीले “फरक विचार र आस्थाका आधारमा अन्य कर्मचारीलाई विना कारण दुख दिने र पक्षपातपूर्ण कार्य गर्दै आएको” आरोप लगाइएको छ । उक्त पत्रमा मन्त्रालयसँग धामीलाई अन्य जिल्लामा सरुवा गरी सोही कार्यालयमा कार्यरत बरिष्ठ खोप अधिकृत (सातौँ तह) भानुभक्त जोशी लाई कार्यालय प्रमुखको जिम्मेवारी दिन सिफारिस गरिएको छ ।
बिज्ञापन
तर सरकारी स्रोतहरूका अनुसार धामी लोकसेवा आयोगमार्फत प्रतिस्पर्धात्मक परीक्षा दिएर प्रवेश पाएका दक्ष अधिकृत हुन् र राष्ट्रपतिबाट सम्मानितसमेत भइसकेका छन् । त्यसैले युनियनको सिफारिसलाई मेरिटोक्रेसीमाथिको सीधा प्रहार र राजनीतिक हस्तक्षेपको नाङ्गो उदाहरण का रूपमा लिइएको छ ।
एक वरिष्ठ कर्मचारीले नाम नखुलाउने सर्तमा भने,
बिज्ञापन
“दल–निकट कर्मचारी संगठनहरूले कर्मचारीतन्त्रलाई कमजोर बनाएका छन् । योग्यता होइन, पार्टी–सिफारिस र युनियनको दबाबले पदस्थापन हुने अवस्था खतरनाक बन्दै गएको छ।”
स्थानीय कर्मचारीहरू पनि यस्ता सिफारिसहरूबाट असन्तुष्ट छन् । उनीहरूका अनुसार कुनै पनि सार्वजनिक निकायमा राजनीतिक आस्था होइन, कार्यक्षमता र इमानदारी पदस्थापनको मापदण्ड हुनुपर्ने हो ।
सामाजिक विकास मन्त्रालयका स्रोतले भने उक्त सिफारिस पत्र मन्त्रालयमा दर्ता भएको र अहिले अध्ययन प्रक्रियामा रहेको जानकारी दिएको छ ।
विश्लेषकहरूले भने, दलगत कर्मचारी संगठनहरू खारेज नगरेसम्म कर्मचारी प्रशासन राजनीतिक रंगमै फसिरहने चेतावनी दिएका छन् ।