बिज्ञापन
प्रामाणिक इतिहास लेखन विधिको आलोकमा नेपाली इतिहास लेखनको विकासक्रम वारेमा बौध्दिक बहस कार्यक्रम आयोजना भएको छ । कौशिक गोत्रीय रेग्मी बन्धु समाजद्वारा आयोजित उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रीय विभागका पूर्व सहप्राध्यापक कमल रेग्मीले प्रामाणिक इतिहास लेखन विधिको आलोकमा नेपाली इतिहास लेखनको विकासक्रम र इतिहास लेखनमा रेग्मीहरुको भूमिका विषयमा मुख्य कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत कार्यपत्रमा इतिहासलाई केवल पुराना घटनाहरूको विवरण मात्र नभई प्रमाण, अनुसन्धान र आलोचनात्मक विश्लेषणमा आधारित वैज्ञानिक अध्ययनका रूपमा परिभाषित गरिएको छ। इतिहास लेखनलाई तथ्यपरक र निष्पक्ष बनाउन पुरातात्त्विक, लिखित तथा मौखिक स्रोतहरूको बाह्य र आन्तरिक आलोचना मार्फत परीक्षण गर्नुपर्ने कार्यविधिमाथि प्रकाश पारिएको छ। नेपालमा इतिहास लेखनको विकासक्रमलाई नियाल्दा यो परम्परागत वंशावली र धार्मिक आख्यानहरूबाट सुरु भई उन्नाइसौँ र बीसौँ शताब्दीमा विलियम कर्कप्याट्रिक, ह्यामिल्टन र ड्यानियल राइट जस्ता विदेशी विद्वान्का साथै इतिहास शिरोमणि बाबुराम आचार्य, योगी नरहरिनाथ र धनवज्र वज्राचार्य जस्ता स्वदेशी विद्वान्हरूको प्रयासबाट प्राथमिक स्रोतमा आधारित आधुनिक र वैज्ञानिक दिशातर्फ मोडिएको देखिन्छ। पछिल्लो समय त्रिभुवन विश्वविद्यालयको इतिहास विभाग तथा विभिन्न अनुसन्धानकर्ताहरूको योगदानले एक्काइसौँ शताब्दीको नेपाली इतिहास लेखनलाई शासक र राजनीतिक घटनाको इतिहासबाट समाज, मानिस, संस्कृति र सीमान्तकृत वर्गको इतिहास तर्फ विस्तार गरेको छ।
बिज्ञापन
विशेषगरी नेपाली इतिहास लेखनको विकासमा रेग्मी विद्वान्हरूको भूमिका अतुलनीय रहेको कार्यपत्रमा जोड दिइएको छ। डा. डिल्लीरमण रेग्मीले Ancient Nepal, Medieval Nepal र Modern Nepal जस्ता प्रमाणमुखी कृतिहरूमार्फत प्राचीनदेखि आधुनिक कालसम्मको इतिहासलाई अंग्रेजी भाषामा अन्तर्राष्ट्रिय बौद्धिक जगतसम्म पुर्याउने काम गर्नुभयो। अर्का ऐतिहासिक व्यक्तित्व महेशचन्द्र रेग्मीले नेपालको इतिहासलाई दरबार र राजा-महाराजाको कथाबाट माथि उठाएर भूमि व्यवस्था, कर प्रणाली, किसान र जमिनदारको आर्थिक-सामाजिक सम्बन्धमा केन्द्रित गराउनुभयो। उहाँले Land Tenure and Taxation in Nepal र Thatched Huts and Stucco Palaces जस्ता गहन कृतिहरू तथा २१ खण्डको Regmi Research Series मार्फत अप्रकाशित ऐतिहासिक दस्तावेजहरू सार्वजनिक गरी नेपाली आर्थिक इतिहास लेखनको मजबुत जग बसाल्नुभएको थियो। यसरी रेग्मी विद्वान्हरूले नेपाली इतिहासलाई प्रमाणमुखी, बहुआयामिक र वैज्ञानिक बनाउन ऐतिहासिक योगदान पुर्याएको निष्कर्ष कार्यक्रममा व्यक्त गरिएको थियो।
सोही कार्यक्रममा त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद थापाले विशेष मन्तव्य व्यक्त गर्नुभएको थियो। डा. थापाले प्रामाणिक इतिहास लेखन विधिको महत्त्व, नेपाली इतिहास लेखनको ऐतिहासिक विकासक्रम र इतिहासलाई आर्थिक-सामाजिक दृष्टिकोणबाट समृद्ध बनाउन डा. डिल्लीरमण रेग्मी तथा महेशचन्द्र रेग्मी जस्ता रेग्मी विद्वान्हरूले खेलेको योगदानका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। इतिहास केवल पुराना घटनाहरूको विवरण मात्र नभई प्रमाण, अनुसन्धान र आलोचनात्मक विश्लेषणमा आधारित वैज्ञानिक विधा हो भन्दै उहांले कौशिक गोत्रीय रेग्मी बन्धु समाजले यस्तो महत्वपूर्ण विषयहरुमा श्रृंखलाबध्द कार्यक्रम आयोजना गरिरहेकोमा आयोजकलाई धन्यवाद दिनु भयो।
बिज्ञापन
समजका उपाध्यक्ष टिकाराम रेग्मीले श्रुतिका आधारमा प्राप्त ऐतिहासिक विषयहरुलाई प्रमाणिक वनाउने आधार कसरी स्थापित गर्ने विषय चुनौतीको रुपमा रहेको बताउनु भयो। अर्का उपाध्यक्ष डा. दानराज रेग्मीले शासकहरुले आफ्नो गाथा निर्माणको लागि इतिहास लेख्न लगाउने प्रचलनले इतिहासको प्रमाणिकतामा समस्या रहेको वताउनु भयो। दैलेखका जीवराज रेग्मीले समाजले गरेको यो कार्यक्रम अति प्रशंसनीय छ भनी वताउनु भयो भने ओम प्रकाश पराजुलीले समाजले गरेको कार्यक्रमको प्रशंसा गर्दै यस कार्यक्रमका संयोजक पूर्वीय दर्शन तथा प्रशासनका विशेषज्ञ डा. दामोदर रेग्मीको निर्देशनमा पि एच डि गर्दा इतिहास र यसको प्रमाणिकता राम्ररी बुझ्न पाएको बताउनु भयो।
कार्यक्रम संयोजक प्रशासनविद तथा समाजका महासचिव डा. दामोदर रेग्मीले यस्तै महत्वपूर्ण विषयमा हाल सम्म ११ वटा विभिन्न विषयहरुमा बौध्दिक बहस कार्यक्रम आयोजना गरिएको र यो कार्यक्रम विद्यार्थी प्राध्यापक अनुसन्धानकर्ताहरुको लागि उपयोगी रहेको वताउनु भयो।कार्यक्रमका अध्यक्ष तथा समाजका अध्यक्ष निल प्रसाद रेग्मीले प्रामाणिक इतिहास लेखन विधिको आलोकमा नेपाली इतिहास लेखनको विकासक्रमको वारेमा प्रस्तुत कार्यपत्र र विशेष मन्तव्यले इतिहास र यसको प्रमाणिकतावारे बुझ्न सहयोग पुगेको र समाजले थालेका अनुसन्धानमूलक कार्यक्रमहरुमा यसले थप सहयोग पुर्याएको बताउनु भयो।



























