सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार कार्यालय क्षेत्रमा शुक्रबार मध्यराति सुख्खा पहिरो खस्दा तातोपानी भन्सार कार्यालय र सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीमा भौतिक क्षति पुगेको छ। घटनामा कुनै मानवीय क्षति नभए पनि त्यहाँ कार्यरत सुरक्षाकर्मी र कर्मचारीले मध्यराति भागेर ज्यान जोगाएको बताएका छन्।
बिज्ञापन
स्थानीय कर्मचारीका अनुसार राति अचानक ठूलो आवाजसहित पहिरो खस्न थालेपछि ढुङ्गा र माटो उछिट्टिएर भवनतर्फ आउन थालेको थियो। “हामी मध्यराति भागेर ज्यान जोगायौं। केही ढिलो भएको भए ठूलो दुर्घटना हुन सक्थ्यो,” एक कर्मचारीले बताए।
बिज्ञापन
सशस्त्र प्रहरी बलका अनुसार शुक्रबार राति करिब १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेर ढुङ्गा उछिट्टिँदा बीओपीका विभिन्न संरचनामा क्षति पुगेको हो।
पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल पर्नुका साथै जस्ताको छानामा छ वटा प्वाल परेको छ। त्यस्तै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ।
बिज्ञापन
यसका साथै सशस्त्र प्रहरी निरीक्षकको बाथरुमको भित्तामा समेत प्वाल परेको छ। हिमाली ज्याकेट राखिएको स्थान, राष्ट्रिय झण्डा राखिएको पोल, जिन्सी स्टोर भवन तथा मुख्य प्रवेशद्वारअगाडिको सिँढीमा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ।
पहिरोले तातोपानी भन्सार कार्यालयको भवनमा समेत क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार भन्सार कार्यालयका केही संरचनामा क्षति पुगेको भए पनि विस्तृत क्षतिको विवरण संकलन भइरहेको छ।
घटनालगत्तै सुरक्षा निकायले क्षतिको मूल्यांकन, जोखिमको अवस्था अध्ययन तथा आवश्यक सुरक्षा व्यवस्थापनको काम अघि बढाएको जनाएको छ। पहिरोको जोखिम अझै कायम रहेकाले सम्बन्धित निकायले सतर्कता अपनाउन र आवश्यक सावधानीका उपाय अवलम्बन गर्न आग्रह गरेका छन्।




























