नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ साल असार ३२ गते भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने निर्णय कार्यान्वयनको प्रक्रिया तीव्र रूपमा अघि बढेको छ। मन्त्रालय तथा निकायहरूको नयाँ संगठन संरचना र दरबन्दी कार्यान्वयन गर्ने क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समायोजनपछिको संरचना कार्यान्वयनमा सबैभन्दा अघि देखिएका छन्।

बिज्ञापन

मन्त्रालयले पहिलो चरणमै आफ्नो तथा मातहतका राष्ट्रिय कितावखाना र सहकारी रजिस्ट्रारको कार्यालयको नयाँ संगठन संरचना तथा दरबन्दी विवरण औपचारिक रूपमा दर्ताका लागि २०८३ साउन ८ गते राष्ट्रिय कितावखानामा पठाएको थियो। राष्ट्रिय कितावखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले ती सबै विवरण द्रुत प्रक्रियामार्फत दर्ता गरिसकिएको पुष्टि गरेका छन्। उनका अनुसार नयाँ संरचनाअनुसार कुल २८३ पदको दर्ता सम्पन्न भइसकेको छ।

बिज्ञापन

सरकारले निर्णय कार्यान्वयनलाई प्राथमिकतामा राखेको अवस्थामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबैभन्दा छिटो आवश्यक प्रक्रिया पूरा गरेकाले नयाँ संगठन संरचना कार्यान्वयनमा अग्रणी मन्त्रालयका रूपमा देखिएको छ।

नयाँ संगठन संरचनाअनुसार मन्त्रालयमा एक विशिष्ट श्रेणीको सचिव रहने व्यवस्था गरिएको छ। त्यस्तै प्रशासन सेवातर्फ चार, न्याय सेवातर्फ एक र इन्जिनियरिङ सेवातर्फ एक गरी कुल छ सहसचिवको दरबन्दी कायम गरिएको छ। विशिष्ट श्रेणीदेखि श्रेणीविहीनसम्म गरी मन्त्रालयमा कुल १४० दरबन्दी स्वीकृत गरिएको छ। यसअघि समायोजन हुनुअघि दुवै मन्त्रालयमा गरी २२५ दरबन्दी कायम रहेको थियो। नयाँ संरचनासँगै दरबन्दी उल्लेख्य रूपमा घटाइएको छ।

बिज्ञापन

सहकारी क्षेत्रको संरचनामा पनि परिवर्तन गरिएको छ। समान प्रकृतिका कार्य गर्दै आएका सहकारी विभाग र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रलाई एकीकरण गरेर सहकारी रजिस्ट्रारको कार्यालय स्थापना गरिएको छ। नयाँ संरचनाअनुसार उक्त कार्यालयमा एक सहसचिवस्तरको रजिस्ट्रारसहित कुल ३७ दरबन्दी कायम गरिएको छ। यसअघि यी दुई निकायमा गरी ५५ दरबन्दी रहेका थिए।

राष्ट्रिय कितावखानामा भने अझ ठूलो पुनर्संरचना गरिएको छ। नयाँ व्यवस्थाअनुसार एक सहसचिवस्तरको महानिर्देशकको दरबन्दी मात्र कायम राखिएको छ भने यसअघि रहेका प्रशासन सेवाका दुई र शिक्षा सेवाका एक गरी तीन सहसचिवको दरबन्दी हटाइएको छ।

यससँगै कर्मचारी अभिलेख व्यवस्थापन प्रणालीमा पनि ठूलो परिवर्तन गरिएको छ। यसअघि छुट्टाछुट्टै सञ्चालन हुँदै आएका शिक्षक कितावखाना र प्रहरी कितावखानाको पृथक अस्तित्व समाप्त गरी ती दुवैलाई राष्ट्रिय कितावखानाका शाखाका रूपमा रूपान्तरण गरिएको छ। अब निजामती, शिक्षक र प्रहरी कर्मचारीका अभिलेख तथा सम्बन्धित कार्य एउटै आदेश प्रणाली र एउटै प्रशासनिक नियन्त्रणभित्र सञ्चालन हुने व्यवस्था गरिएको छ।

स्रोतका अनुसार समान प्रकृतिका तीनवटै निकायलाई एउटै नेतृत्व र प्रशासनिक नियन्त्रणअन्तर्गत सञ्चालन गर्ने अवधारणामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष सक्रियता देखाएको थियो। त्यसकै आधारमा पुनर्संरचनाको निर्णय कार्यान्वयनमा ल्याइएको हो।

पुनर्संरचनापछि राष्ट्रिय कितावखाना, शिक्षक कितावखाना र प्रहरी कितावखानामा रहेका कुल १३८ दरबन्दी घटाएर १०६ मा सीमित गरिएको छ। सरकारले संगठनलाई थप चुस्त, मितव्ययी र प्रभावकारी बनाउने उद्देश्यअनुसार दरबन्दी पुनर्संरचना गरिएको जनाएको छ।

सरकारको संगठन सुधार अभियानअन्तर्गत सुरु भएको यो प्रक्रिया आगामी दिनमा अन्य मन्त्रालय र निकायमा पनि क्रमशः लागू हुने अपेक्षा गरिएको छ। प्रशासनिक संरचनालाई आधुनिक, एकीकृत र परिणाममुखी बनाउने सरकारको लक्ष्यअनुसार संगठन तथा दरबन्दी व्यवस्थापनलाई तीव्र गतिमा अघि बढाइएको सरकारी अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

प्रहरीको फरार,सरकार प्रमुखको प्यार

तीन सातामा अनलाइनबाटै १७ सय आवेदन,१७७ को सरुवा

१६ महिनापछि प्रदेशबाट संघमा फर्कदै यादव,भट्टराई प्रदेशबाट फेरि प्रदेशमै

बिशेष