के एउटा मन्त्रालयबाट हुने निर्णय बच्चाको भाँडाकुटी खेलजस्तो हो ? एकाध घण्टा अगाडि एउटा निर्णय गर्ने,सो निर्णयको मसी नसुक्दै फेरि त्यसैलाई करेक्सन गर्ने ?
भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले यस्तै लापरवाहा चलिरहेको छ । सो मन्त्रालयले कर्मचारी खटन पटनमा गर्दा कतिसम्म लापरवाही गर्दछ भन्ने पछिल्ले एउटा उदाहरण हो अछामको रामारोशन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा । सो पालिकामा मन्त्रालयले एकै दिन दुई जना प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ । मन्त्रालयले एउटा कर्मचारीलाई आर्थिक र प्रशासनिक अधिकारसहित प्रमुख प्रशासकीयको जिम्मेवारी दिएको केही घण्टाभित्रै सो जिम्मेवारी खोसेर फेरि अर्काे व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेसँगै सो मन्त्रालयबाट कर्मचारी खटन पटनमा भइरहेको लापरवाही,विकृती र विसंगतीका घटनाक्रम सतहमा आएको हो ।
बिज्ञापन
मन्त्रालयले गत १ असारमा चलानी नम्बर १८११ को पत्र मार्फत पालिकाको बरिष्ठतम् कर्मचारी जगतबहादुर रावललाई आर्थिक र प्रशासनिक अधिकारसहितको जिम्मेवारी तोकिएको भन्दै पत्र पठाइएको केही घण्टार्म सो निर्णय उल्टाएर फेरि अर्काे व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृत तोकिएको पाइएको छ ।
मन्त्रालयको स्थानीय तह कर्मचारी शाखा हेर्ने सुरेन्द्र कुमार यादव हस्ताक्षरित पत्रमा सो पालिकाको २०८३ जेठ २९ को पत्रबाट आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिन लेखी आएको सम्बन्धमा पालिकाको बरिष्ठतम् कर्मचारी जगत बहादुर रावल (कर्मचारी संकेत नम्बर २३९७१२) लाई स्थानीय शिक्षा सेवा, शिक्षा प्रशासन,निरीक्षण समूह, अधिकृत सातौ तहका कर्मचारीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्म वा अर्को व्यवस्था नभएसम्मको लागि तहाँ कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी निर्णय अनुसार अनुरोध भएको भन्दै पत्राचार गरेका छन ।
सो पत्राचारको परिपत्र नसुक्दै मन्त्रालयले बुढीगंगा नगरपालिका, बाजुरामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत रहेका तारा दत्त भट्ट कर्मचारी संकेत नं १७३४१८ लाई रामारोशन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत तोकेको छ । यसरी मन्त्रालयले एकै दिन दुई वटा फरक चलानी नम्बरबाट पालिकाकै शिक्षा सेवाका जगत बहादुर रावललाई निमित्त र तारादत्त भट्टलाई कन्र्फम प्रमुख प्रशासकीय अधिकृत तोकेर अपरिपक्व र कच्चा काम गरेको टिप्पणी हुन थालेको छ ।





























