कोरला नाका हुँदै चीनबाट भित्रिएका बीवाइडी कम्पनीका विद्युतीय गाडी सशस्त्र प्रहरीले छाडेको छ । यो सँगै प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयको लडाँई सकिएको छ । सशस्त्र प्रहरीको ३३ नम्बर गुल्म जोमसोमले नियन्त्रणमा लिइएका ७ सय ७४ वटा गाडी सम्बन्धित गाडी धनीलाई जिम्मा लगाइएको बताएको छ । मुस्ताङको उत्तरी कोरला नाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बिवाइडी कम्पनीका ७७५ विद्युतीय सवारी साधनहरु नेपाल भित्रिएका थिए। ती मध्ये ६४९ विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेका थियो। ती विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत हुनसक्ने भन्दै सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।
बिज्ञापन
यस अघि प्रधानमन्त्री कार्यालयकै निर्देशनमा भन्सार छली गरी भित्रिएको आशंकामा गत २१ जेठमा कोरला नाकाबाट ३ सय ९४, जोमसोमबाट २ सय ६६, कास्कीको हेमजाबाट ९८ र पर्वत सदरमुकाम कुश्माबाट १७ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको थियो ।
सो घटना छानबिन गर्न भन्दै अर्थले उपसचिव भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । अर्थ मन्त्रालय मातहतबाट भएको बदमासीलाई अर्थ मन्त्रालयकै छानबिन समिति बनाएर क्लिन चिट दिएको बिषयमा संसदमा समेत प्रश्न उठिरहेको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने आवाज उठिरहेको भए पनि अर्थ मन्त्रालयबाटै भएको बदमासीलाई अर्थले क्लिन चिटसहितको प्रतिवेदन दिएर सो सवारी साधनहरु जिम्मा लगाइएको छ ।
सशस्त्र प्रहरीका अनुसार, जोमसोम बसपार्कमा राखिएका २६६ विद्युतीय सवारीसाधनमध्ये आइतबार र सोमबार गरी २२३ विद्युतीय सवारीसाधन गन्तव्यतर्फ पठाइएका छन्। जोमसोम बसपार्कमा अहिले २६६ विद्युतीय सवारीसाधनमध्ये ४३ मात्रै बाँकी छन्। भन्सार जाँचपास नभएका विद्युतीय सवारीसाधनको पनि आवश्यक भन्सार प्रक्रिया पुरा गरी गन्तव्यतर्फ पठाउने काम भइरहेको छ।
उता सोही नाका हुँदै बजेटको मुखमा ठूलो मात्रामा भएको भेप तस्करीलाई समेत गुपचुप राखिएको छ ।मुस्ताङस्थित कोरोला नाकाबाट जेठ १ गते राति बरामद गरिएको ५९१ कार्टुन भेप बरामद गरिएको थियो । जसको बजार मूल्य अनुसारको राजश्व ६० करोड रुपैयाँभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ। कानुनअनुसार यस्तो प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्दा ठूलो राजस्व असुलीसँगै ३ देखि ५ वर्षसम्म कैद सजायको व्यवस्था छ। तर स्रोतका अनुसार ५ सय ९१ कार्टुन मात्रै भेप बरामद गरिएको भए पनि सोही दिन करिब २४०० कार्टुन भेप लोड भएको र बाँकी भेप गायब बनाइएको स्रोतहरुको दावी छ । तर अनुसन्धान गर्ने निकायहरुले स्वतन्त्र अनुसन्धान गर्न नसक्दा सो प्रकरण समेत गुपचुप राखिएको स्रोतको दावी छ ।






























