पर्यटक भिसामा नेपाल आएका १० विदेशी नागरिकले नक्कली कागजातका आधारमा ‘अध्ययन भिसा’ लिएको पाइएको छ । ती विदेशीहरुको गतिविधि शंकास्पद देखिएको भन्दै अध्यागमन विभागको अनुसन्धानको क्रममा उनीहरुले किर्ते कागजातकै आधारमा अध्ययन भिसा लिएको खुलेको हो । प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको लेटर हेड किर्ते गरेर तयार पारिएको नक्कली सिफारिस पत्र दोहोरो परीक्षण नै नगरी शिक्षा तथा खेलकुद मन्त्रालयले ८ चिनियाँ तथा एक रसियन र एक कोरियन नागरिकलाई अध्ययन भिसा उपलब्ध गराउन अध्यागमन विभागलाई सिफारिस गरेको थियो । सोही आधारमा मन्त्रालयले गत जेठ २१ गते अध्यागमन विभागलाई भिसा सिफारिस गर्यो । जसमध्ये आठ जनाको भिसा जारी भइसकेको छ । भिसा पाउनेमा ६ चिनियाँ, एक कोरियन र एक रसियन नागरिक रहेका छन् । उनीहरुले भिजिट भिसामार्फत पटकपटक नेपाल आवतजावत गरेको देखिएको छ ।कागजात अनुसार २ वर्षे ‘एकाडेमिक अध्ययन भिसा’ सिफारिसका लागि वाल्मीकि विद्यापीठको लेटर हेडमा ‘प्राचार्य अच्युतप्रसाद लामिछाने’का तर्फबाट २०८३ जेठ ६ गते शिक्षा तथा खेलकुद मन्त्रालयको स्वयंसेवक परिचालन तथा भिसा सिफारिस शाखालाई पत्राचार गरिएको छ।
बिज्ञापन
अध्यागमन विभागले शंका लागेर छानबिन गर्दा विद्यापीठबाट गएको भनिएको पत्र नक्कली रहेको खुलासा भएको हो । अध्ययन भिसाका लागि नक्कली पत्र पेश गरेको आरोपमा दुई जना पक्राउ परेसँगै शिक्षा मन्त्रालयको बदमासी खुलासा भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–९ का सुबोध शुक्ला र चिनियाँ महिला वाङ जिन्काऊ समातिएसँगै यो प्रकरणमा लहरो तान्दा पहरो थर्कने भएको हो ।
अध्यागमन स्रोतका अनुसार,किर्ते कागजातका आधारमा शिक्षा मन्त्रालयका कर्मचारीले विदेशीलाई ‘अध्ययन भिसा’ सिफारिस गरेको खुलासा भएको हो । ती विदेशीहरुले शिक्षा मन्त्रालय कै सिफारिसमा अध्ययन भिसा लिएको स्रोतको दावी छ । काठमाडौं प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको नाममा खडा गरिएको नक्कली कागजातका आधारमा शिक्षा मन्त्रालयले एक वर्षको अध्ययन भिसा सिफारिस गरेको थियो। उक्त प्रकरणमा शिक्षा मन्त्रालयका अधिकारीहरु समेत जोडिएको बताइन्छ।
अध्यागमनका प्रवक्ता निर्देशक टिकाराम ढकालका अनुसार सबैको भिसा रद्द गर्ने प्रक्रिया अगाडि बढाइएको छ । भिसा लिइसकेका अन्य विदेशी नागरिकको खोजी भइरहेको उनले जानकारी दिए ।
बिज्ञापन






























