अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख,इन्जिनियर,सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले उनीहरुलाई १ करोड २६ लाख बढी नोक्सानी गरेको अभियोगसहित आज विशेष अदालतमा मुद्धा लगेको हो ।
बिज्ञापन
अभियोगपत्रमा सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविलाई प्रतिवादी बनाइएको छ । भेटेरिनरी कार्यालय भवन निर्माणको बोलपत्र प्रक्रियामा अनियमितता गरी राज्यलाई १ करोड २६ लाख ९६ हजारभन्दा बढी नोक्सानी पुर्याएको दाकीसहित अख्तियारले तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा प्रभात झा, इन्जिनियर अशोक कुमार सिंह र असिस्टेन्ट सब इन्जिनियर प्रेम कुमार सिंह,राधा कृष्ण निर्माण सेवाका प्रबन्धक कौशल्या कुमारी रजकलाई पनि प्रतिवादी बनाइएको छ ।
अभियोगपत्र अनुसार राम निर्माण सेवाले २ करोड ८९ लाख ६४ हजार २४१ रुपैयाँ कबोल गरेकोमा सो कम्पनीलाई ठेक्का नदिइ ४ करोड १६ लाख ६० हजार ५१० रुपैयाँ कबोल गर्ने राधा कृष्ण निर्माण सेवालाई ठेक्का दिइएको थियो । यसरी कम कबोल गर्ने कम्पनीलाई नदिई बढी रकम कबोल गर्ने कम्पनीलाई ठेक्का दिँदा राज्यलाई १ करोड २६ लाख ९६ हजार २६८ रुपैयाँ ७१ पैसा थप व्ययभार पर्न गई प्रत्यक्ष हानि नोक्सानी भएको देखिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले आरोपित कर्मचारीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरेको छ । साथै, गलत मूल्याङ्कन प्रतिवेदन तयार पारेकोमा थप सजायको समेत मागदाबी गरिएको छ ।






























