समयले कसरी कोल्टो फेर्दैछ भने,पहिला मालदार मानिएका कार्यालयमा जान,पोस्टिङ्ग हुन उच्च्देखि तल्ला तहका कर्मचारीहरुको दौडधूप चल्दथ्यो तर अहिले त्यस्ता कार्यालयमा जानबाट कर्मचारीहरु नै तर्कन थालेका छन् । बरु सिंहदरबारको उकुसमुकुस छाडेर प्रदेशतिर जान,स्थानीय तहमा जानतिरै कर्मचारीहरुको जोडबल शुरु भएको छ ।
बिज्ञापन
बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएयता निजामती प्रशासनमा यस्तो अनौठौं संकट देखा परेको कर्मचारीहरु बताउँछन् । पछिल्लो समय अर्थ मन्त्राल,गृह,संघीय मामिला मातहतको कार्यालयमा कर्मचारी खटन पटन गर्न खोज्दा यस प्रकारको संकट देखा परेको प्रशासन फाँटका कर्मचारीहरुले अनुभव सुनाएका छन् । जस्तो अर्थ मन्त्रालय मातहतको आन्तरिक राजश्व विभाग महिना दिनदेखि महानिर्देशकविहिन अवस्थमा पुगेको छ । दीपक भट्ट एण्ड कम्पनीको कनेक्सन देखिएको भन्दै सह सचिवहरु मदन दाहाल,महेश भट्टराई र महेश बरालहरु प्रदेशतिर खेदिए । यसरी तीन ‘म’ बाट नाम आउने सहसचिवहरु सरुवामा पर्दा रिक्त भयो आन्तरिक राजश्व विभाग । सो विभागलाई अहिले रमेश अर्यालले निमित्तको रुपमा चलाइरहेका छन् । अर्थ मन्त्रालयले उपमहानिर्देशक रमेश अर्याललाई नै महानिर्देशकको जिम्मेवारी सम्हाल्न बारम्बार आग्रह गर्दासमेत उनले अस्वीकार गरिरहेको बताइन्छ । अर्यालले महानिर्देशक हुन इन्कार गरेसँगै अर्थले अन्य बरिष्ठ सहसचिवहरूलाई महानिर्देशक बन्ने प्रस्ताव गर्दा समेत उनीहरू पनि त्यस पदमा जान इच्छा नदेखाएको जनाइएको छ ।
उता भन्सार विभागका महानिर्देशक श्याम भण्डारीमाथि समेत प्रश्न चिन्ह उठेको छ । विआइडी गाडी नेपाल भित्रदा करको दर हेरफेरको सूचना चुहिएको र एकै पटक १३ सय भन्दा बढी गाडीहरु रसुवा र कोराला नाका हुँदै भित्रिएको बिषयमा यो सूचना चुहाउने काम वा त अर्थमन्त्री र उनका टिम वा त कर्मचारी र उनका टिमबाट भएको भन्दै शंकाको घेरामा महानिर्देशक श्याम भण्डारीसमेत परेका छन् । अर्थ मन्त्रालयले भण्डारीको ठाउँमा अरु बरिष्ठ सहसचिवलाई पठाउन खोज्दा उनीहरुले समेत त्यहाँ जान अस्वीकार गरेको कारण भण्डारीलाई नहटाइएको बताइन्छ । पछिल्लो समय अर्थ मन्त्रालय मातहतका भन्सार विभाग, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रलगायत कार्यालयहरूमा कर्मचारी खटाउन अत्यन्तै कठिन भएको मन्त्रालय स्रोतले बताएको छ ।
उता,गृह मन्त्रालय पुग्ने र सिडियो खान मरिहत्ये गर्ने सहसचिवहरु समेत अहिले सकेसम्म सिडियोबाट हटाइदिनुहोस भन्ने प्रस्ताव गर्न थालेका छन् । गृहको कर्मचारी प्रशासनमा बसेका कर्मचारीहरुका अनुसार,सकेसम्म सहसचिव उपसचिव तहका कर्मचारीहरु सिडियो भएर जाने रहर घटेको देखिएको छ, प्रशासन स्रोतले जनाएको छ । यही र यस्तै कारण सबैभन्दा आकर्षक मानिएको त्रिवि अध्यागमनमा हालैमात्र सृजना थपलियालाई प्रमुख बनाएर खटाइएको गृहका अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय कुनै विभाग वा कार्यालयमा अनियमितता भेटिएमा सम्बन्धित व्यक्तिमात्र नभई सो कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कारबाही गर्ने र सरुवा गर्ने थालिएको छ । जस्तो रसुवा भन्सारमा भएको गडबडीमा उपसचिवसहित ९ जना कर्मचारीहरु सरुवामा परेका छन् भने कोराला नाकामा भने उच्च राजनीतिक नेतृत्वको संरक्षणमा त्यहाँका प्रमुखलाई जोगाइएको छ । सोही नाकाबाट करोडौं मूल्य बराबरको भेप तस्करी भएको र सो घटना साम्य हुन नपाउँदै ७७४ वटा विद्युतीय गाडी भित्र्याइएको बिषयमा अहिले अर्थमन्त्रीको समेत राजीनामा माग्न थालिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशसनका एक सहसचिवले समेत आफूले सो मन्त्रालयबाट सरुवा हुन खोजे पनि प्रधानमन्त्री कार्यालयले रोकिरहेको टिप्पणी गरे । यस्तै गृहका एक उपसचिवले सिंहदरबारको उकुसमुकुस छाडेर आफू स्थानीय तहमा जान तयार भएको र सोही अनुसार प्रयासमा गरिरहेको सुनाए । यी घटनाक्रमले निजामती प्रशासन अदभूतपूर्व संकटमा गुज्रिएको रुपमा कर्मचारीहरु टिप्पणी गर्न थालेका छन् ।































