रसुवा भन्सारका ९ तानिए, मुस्ताङको कहिले तान्ने ?

काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) आयातसँग जोडिएको बीवाईडी गाडी प्रकरणमा रसुवा भन्सार कार्यालयका नौ जना कर्मचारी अनुसन्धानको दायरामा तानिए पनि मुस्ताङ भन्सार कार्यालयमा देखिएको झन् गम्भीर कैफियतका बाबजुद अहिलेसम्म कुनै कर्मचारीमाथि प्रत्यक्ष कारबाही नभएको भन्दै प्रश्न उठ्न थालेको छ। यही कारण अहिले प्रशासनिक वृत्तमा एउटा प्रश्न व्यापक रूपमा चर्चामा छ—“रसुवाका ९ जना तानिए, मुस्ताङको कहिले तान्ने ?”

बिज्ञापन

बीवाईडी ब्रान्डका सयौं विद्युतीय गाडी आगामी आर्थिक वर्षको बजेटमार्फत कर वृद्धि हुने चर्चा चलिरहेका बेला अस्वाभाविक रूपमा भन्सार प्रणालीमा इन्ट्री भएको र केही गाडी भौतिक रूपमा नाकामा नपुग्दै जाँचपास प्रक्रिया सम्पन्न गरिएको आशंका सार्वजनिक भएपछि अर्थ मन्त्रालय, भन्सार विभाग तथा अन्य निकायहरू अनुसन्धानमा सक्रिय भएका छन्। प्रारम्भिक अनुसन्धानपछि सबैभन्दा पहिले रसुवा भन्सार कार्यालयका कर्मचारीहरू अनुसन्धानको घेरामा परेका छन्।

बिज्ञापन

भन्सार विभाग स्रोतका अनुसार रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईलाई विभागमा तानेर स्पष्टीकरण तथा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उनीसँगै अधिकृत ठाकुर गौतम, भन्सार अधिकृत खड्गबहादुर माझी, कम्प्युटर अधिकृत सबिना अधिकारी, कम्प्युटर अधिकृत प्रकाश पुडासैनी तथा नायब सुब्बा तेजबहादुर बलमाथि पनि अनुसन्धान केन्द्रित छ। त्यसैगरी विभागले हिजो मात्रै रसुवाबाट थप तीन कर्मचारीलाई तानेको छ। भन्सार अधिकृत बुद्धि चुडाल तथा नासु लोकेन्द्र बम र सुनिल गौतमलाई काजमा सरुवा गरिएको विभागले जनाएको छ।

स्रोतहरूका अनुसार रसुवा भन्सार कार्यालयबाट दर्ता गरिएका प्रज्ञापनपत्र, गेटपास अभिलेख, सीसीटीभी फुटेज, यार्डमा रहेका सवारीसाधनको वास्तविक अवस्था तथा जाँचपास प्रक्रियाको विस्तृत अध्ययन भइरहेकाले सम्बन्धित कर्मचारीहरू अनुसन्धानको केन्द्रमा परेका हुन्। अनुसन्धानकर्ताहरूले गाडी भौतिक रूपमा उपस्थित नभई कागजातका आधारमा मात्रै जाँचपास गरिएको थियो वा थिएन भन्ने विषयमा तथ्य संकलन गरिरहेका छन्।

बिज्ञापन

तर रसुवाभन्दा अझ बढी प्रश्न उठ्ने अवस्था मुस्ताङ भन्सार कार्यालयमा देखिएको भन्दै त्यहाँ किन कारबाही अगाडि बढाइएको छैन भन्ने विषयमा चासो बढेको छ। अनुसन्धानको दायरा अहिले मुस्ताङ भन्सार कार्यालयसम्म विस्तार भइसकेको छ। मन्त्रालय स्रोतका अनुसार मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत बिदुर चुडाल, मूल्यांकन शाखामा कार्यरत भन्सार अधिकृत अमरेन्द्र सिंह, गौर भन्सारबाट रसुवा हुँदै मुस्ताङ पुगेका नायब सुब्बा पवन गिरी, नासु जीवन देवकोटा तथा भोजराज अधिकारीको भूमिकासमेत अध्ययन भइरहेको छ।

यस विषयको अनुसन्धानका लागि भन्सार विभागका निर्देशक भूपालराज शाक्य, शाखा अधिकृत रमेश सुकमनी, अर्थ मन्त्रालयका उपसचिव, नेपाल प्रहरीका डीएसपी तथा सशस्त्र प्रहरी बलका डीएसपी सम्मिलित संयुक्त टोली सक्रिय रहेको स्रोतले जनाएको छ। अनुसन्धानमा संलग्न टोलीले भन्सार प्रणालीमा भएको इन्ट्री, गाडीहरूको वास्तविक उपस्थितिको अवस्था, कर भुक्तानी, जाँचपास र डिजिटल अभिलेखको विस्तृत परीक्षण गरिरहेको बताइएको छ।

मुस्ताङ भन्सार कार्यालय अनुसन्धानको केन्द्रमा पुग्नुको प्रमुख कारण जेठ १३ र १४ गते दुई दिनभित्र मात्रै ६४९ वटा बीवाईडी गाडी इन्ट्री भएको तथ्य हो। प्राप्त विवरणअनुसार जेठ १३ गते ४७५ वटा र जेठ १४ गते थप १७४ वटा गाडी इन्ट्री गरिएको थियो। उता रसुवा भन्सार कार्यालयबाट पनि जेठ १४ गते मात्रै ११८ वटा बीवाईडी गाडी इन्ट्री भएको देखिएको छ। यसरी दुई दिनको अवधिमा मात्रै कुल ७६७ वटा गाडी इन्ट्री भएको विवरणलाई अनुसन्धानकर्ताहरूले अस्वाभाविक गतिविधिका रूपमा हेरिरहेका छन्।

बजेटमार्फत विद्युतीय सवारीसाधनमा कर वृद्धि हुने चर्चा व्यापक भइरहेका बेला अचानक यति ठूलो संख्यामा गाडी भन्सार प्रणालीमा इन्ट्री हुनु आफैंमा अनुसन्धानको विषय बनेको छ। गाडीहरू वास्तविक रूपमा नाकामा पुगेका थिए वा थिएनन्, इन्ट्री र जाँचपास प्रक्रिया कानुनी मापदण्डअनुसार गरिएको थियो वा थिएन भन्ने प्रश्नको जवाफ खोज्ने प्रयास भइरहेको छ।

यही प्रकरणमा उत्तरी नाकाहरूमा लामो समयदेखि सक्रिय क्यारिङ व्यवसायी उद्धव राउतको नाम पनि विभिन्न स्रोतमार्फत चर्चामा आउन थालेको छ। यद्यपि उनको भूमिकाबारे आधिकारिक निकायहरूले कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।
बीवाईडी प्रकरणको अनुसन्धान चलिरहेका बेला मुस्ताङको कोरोला नाकासँग जोडिएको अर्को गम्भीर विषय पनि चर्चामा छ। जेठ १ गते राति कोरोला नाकाबाट बरामद गरिएको ५९१ कार्टुन भेप प्रकरण अझै रहस्यको घेरामै छ। भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको उक्त खेपमा करिब १ लाख २० हजार पिस इलेक्ट्रोनिक चुरोट रहेको बताइएको थियो। बजार मूल्य र राजस्व दायित्वका आधारमा यसको मूल्य करिब ६० करोड रुपैयाँभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ।

तर यति ठूलो परिमाणको प्रतिबन्धित वस्तु बरामद हुँदा समेत अनुसन्धान अपेक्षित गतिमा अगाडि बढ्न नसकेको भन्दै प्रश्न उठ्न थालेको छ। अनुसन्धानसँग जानकार स्रोतहरूका अनुसार बरामद गरिएको ५९१ कार्टुन मात्रै वास्तविक खेपको एक हिस्सा हुनसक्छ। सोही दिन करिब २४०० कार्टुन भेप नेपाल भित्र्याइएको सूचना सुरक्षा निकायसम्म पुगेको दाबी गरिए पनि त्यसतर्फ प्रभावकारी अनुसन्धान नभएको आरोप लागिरहेको छ।

घटनासँग जोडिएका केही व्यक्ति चीनतर्फ पलायन भइसकेको स्रोतहरूको दाबी छ। विशेषगरी सिन्धुपाल्चोकका विकास लामा चीनमा रहेको र केस मिलाउनका लागि केही व्यक्तिहरू हेलिकप्टरमार्फत आवतजावत गरिरहेको सूचनासमेत सुरक्षा निकायसम्म पुगेको बताइन्छ। यद्यपि यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन।

स्रोतहरूका अनुसार पक्राउ परेका व्यक्तिहरू केवल ढुवानी र व्यवस्थापनमा संलग्न व्यक्ति मात्रै हुन सक्छन्। वास्तविक योजनाकार, लगानीकर्ता तथा संरक्षणकर्ताहरू अझै अनुसन्धानको दायराबाहिर रहेको आशंका गरिएको छ। भन्सार एजेन्ट संघका एक पूर्व अध्यक्षको समेत संलग्नता हुनसक्ने चर्चा अनुसन्धान वृत्तमा चलिरहेको छ।

प्रतिबन्धित वस्तुको यति ठूलो खेप सामान्य व्यक्तिको पहुँचबाट सम्भव नहुने भन्दै अनुसन्धानमा संलग्न अधिकारीहरू स्वयंले माथिल्लो तहको संरक्षणबिना यस्तो गतिविधि सम्भव नहुने बताएका छन्। त्यसैले अहिले प्रश्न केवल बीवाईडी गाडीको मात्रै नभई मुस्ताङ भन्सारको समग्र कार्यप्रणाली, कोरोला नाकाको निगरानी प्रणाली तथा तस्करी नियन्त्रण संयन्त्रको प्रभावकारितामाथि समेत उठिरहेको छ।

रसुवा भन्सारका कर्मचारीहरू एकपछि अर्को गर्दै अनुसन्धानको दायरामा तानिइरहेका बेला मुस्ताङमा देखिएका थप गम्भीर प्रकृतिका घटनामा प्रत्यक्ष जिम्मेवारी बहन गर्ने कर्मचारीहरूमाथि किन कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन भन्ने प्रश्न झन् पेचिलो बन्दै गएको छ। अनुसन्धान निष्कर्षमा पुग्न अझै समय लाग्ने भए पनि अहिले प्रशासनिक वृत्तमा सबैभन्दा धेरै सोधिएको प्रश्न यही हो—रसुवाका ९ जना तानिए, अब मुस्ताङको पालो कहिले आउँछ ?

बीवाईडी गाडीदेखि भेप काण्डसम्म : अनुसन्धानको दायरामा को–को परे भन्सार कर्मचारी ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ सचिवको सरुवा,पाँचलाई अतिरिक्तमा

रसुवा भन्सारका ९ तानिए, मुस्ताङको कहिले तान्ने ?

१० बर्षमै सहसचिव : लगातार सात जिल्लाको सिडियो

बीवाईडी गाडीदेखि भेप काण्डसम्म : अनुसन्धानको दायरामा को–को परे भन्सार कर्मचारी ?

एशियाली खेलकुदको पुरुषतर्फको छनोट : नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने

प्रधानमन्त्री कार्यालयमा जगेडामा तानिए सचिव पुष्कर

भेप प्रकरण : भन्सारका नासु रेवन्त खड्का थुनामा, बयानमा सुन बिक्रीदेखि रकम बाँडफाँडसम्मको स्वीकारोक्ति

सृजनाको रेकर्ड ब्रेक : त्रिभुवन विमानस्थल अध्यागमनको पहिलो महिला प्रमुख

बिशेष