संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि औपचारिक छलफल प्रारम्भ गरिनेछ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । त्यसपछि सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्नेछन् भने दर्ता भएका संशोधन प्रस्तावहरू पनि प्रस्तुत गरिनेछ ।
आजैको बैठकमा सांसदहरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ ।
सरकारको वार्षिक नीति तथा कार्यक्रम सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममाथिको छलफललाई संसद्को यस अधिवेशनको महत्वपूर्ण कार्यसूचीका रूपमा हेरिएको छ ।



































