अवकाशअघि सचिव शर्माको ‘अन्तिम खेल’ २० अर्बे काँकडभिट्टा–लौकहीमा अधिकारी पठाउने तयारी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागकी सिनियर डिभिजन इन्जिनियर (सिडिइ) कल्पना अधिकारीलाई एशियाली विकास बैंक (एडिबी) अन्तर्गतको काँकडभिट्टा–लौकही पूर्वी खण्ड सडक आयोजनामा पठाउने तयारी भएपछि मन्त्रालयभित्रै विवाद चर्किएको छ। मन्त्रालय स्रोतका अनुसार करिब २० अर्ब रुपैयाँ बराबरको उक्त परियोजनामा उनलाई खटाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

बिज्ञापन

स्रोतका अनुसार सचिव केशव शर्मा हाल कार्यक्रमका लागि अमेरिकामा रहेका छन् र उनी आजै नेपाल फर्कने कार्यक्रम छ। नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेको र आफू चैत ९ गते अनिवार्य अवकाशमा जाने समय नजिकिँदै गर्दा उनले अवकाशअघि नै अधिकारीलाई उक्त परियोजनामा पठाउने तयारी गरिरहेको चर्चा मन्त्रालयभित्र भइरहेको छ।

बिज्ञापन

कर्मचारीहरूका अनुसार सचिव शर्माले अवकाशअघि नै महत्त्वपूर्ण आयोजना व्यवस्थापनमा प्रभाव पार्ने गरी निर्णय गर्न खोजेको भन्दै मन्त्रालयभित्र असन्तुष्टि बढ्दै गएको छ।

काँकडभिट्टादेखि केर्खासम्म करिब ४५ किलोमिटर सडक निर्माणको काम अहिले निर्माण व्यवसायी कालिका कन्स्ट्रक्सन र चिनियाँ कम्पनीसँगको संयुक्त उपक्रम (जेभी) मार्फत भइरहेको छ। आयोजनाअन्तर्गत करिब १० अर्ब रुपैयाँ बराबरको सडक निर्माण र झन्डै ६ अर्ब ५० करोड रुपैयाँ बराबरका पुल निर्माणका ठेक्का रहेका छन्। समग्र परियोजनाको लागत झन्डै २० अर्ब रुपैयाँ पुग्ने बताइएको छ।

बिज्ञापन

मन्त्रालय स्रोतका अनुसार उक्त आयोजनामा अधिकारीलाई पठाउन निर्माण व्यवसायी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेले पनि सक्रिय रूपमा लबिङ गरिरहेको चर्चा छ। यसअघि कालीगण्डकी करिडोरमा अधिकारी कार्यरत रहँदा पाण्डे नेतृत्वको निर्माण कम्पनीलाई विभिन्न काममा सहजीकरण भएको भन्दै अहिले पनि उनलाई काँकडभिट्टा–लौकही पूर्वी खण्डमा ल्याउन पहल भइरहेको बताइन्छ।

अधिकारीले भने यसअघि नै उक्त परियोजनामा जान चासो देखाउँदै आएकी थिइन्। मन्त्रालय स्रोतका अनुसार अहिले उनलाई त्यहाँ पठाउने प्रक्रिया लगभग टुंगो लाग्ने अवस्थामा पुगेको छ।

मन्त्रालयभित्र अधिकारीको नाम यसअघि पनि ठूला बजेटका आयोजनासँग जोडिँदै आएको छ। मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा खण्डमा करिब ४ अर्ब रुपैयाँ बराबरको ठेक्का लागेपछि उनले त्यहाँ जान चासो देखाएको र त्यस क्रममा त्यहाँ कार्यरत सिडिइलाई चैत महिनामै हटाएर आफू पुगेको आरोप उठ्ने गरेको छ।

त्यतिबेला मन्त्रालयका तत्कालीन सचिव रविन्द्र श्रेष्ठले यस्तो प्रवृत्ति रोक्ने प्रयास गरेका थिए। तर केही समयपछि मन्त्रालयको नेतृत्व सम्हालेका सचिव केशव शर्माले अधिकारीलाई पोखरा पठाउने निर्णय गरेको स्रोतले जनाएको छ।

त्यस्तै कालीगण्डकी करिडोरमा पनि उनी लगातार तीनपटक डिभिजन प्रमुख बनेर बसेको बताइन्छ। पाल्पास्थित कार्यालयमा तत्कालीन प्रमुख शंकर पौडेल कार्यरत रहेका बेला उनलाई चैत महिनामै हटाएर अधिकारीलाई नेतृत्व दिइएको घटना अहिले पनि मन्त्रालयभित्र चर्चा हुने विषय बनेको छ।

उक्त कार्यालयमा कार्यकालका क्रममा भुक्तानी प्रक्रियामा समेत विवाद भएको आरोप मन्त्रालय स्रोतहरूले लगाउने गरेका छन्। स्रोतका अनुसार अन्तिम भुक्तानीको समयमा उनले कार्यालयको खाता नै रोक्न लगाएको र लेखा अधिकृत रहेका आफन्तमार्फत कुनै पनि भुक्तानी नगर्न निर्देशन दिएको चर्चा थियो। त्यसपछि आफू कार्यालय प्रमुख बनेपछि मात्रै भुक्तानी प्रक्रिया अघि बढाइएको र त्यस क्रममा ठूलो कमिसन लिएको आरोपसमेत मन्त्रालयभित्रै सुनिने गरेको छ।

अहिले भने अधिकारी काँकडभिट्टा–लौकही सडक आयोजनामा पुग्ने तयारीमा सक्रिय रहेको बताइन्छ। सचिव केशव शर्मा चैत ९ गते अनिवार्य अवकाशमा जाने समय नजिकिँदै गर्दा अवकाशअघि नै उनलाई उक्त परियोजनामा पठाउने तयारी भइरहेको भन्दै मन्त्रालयभित्र कर्मचारीहरू असन्तुष्टि व्यक्त गर्न थालेका छन्।

मन्त्रालयका एक कर्मचारीले भने, “सिडिइहरूको नियमित सरुवा भदौमा हुने व्यवस्था छ, तर प्रभाव र पहुँचका आधारमा ठूलो बजेटका आयोजनामा सरुवा गराउने प्रवृत्ति बढ्दै गएको देखिन्छ।”

यस विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने आधिकारिक प्रतिक्रिया दिएको छैन। तर मन्त्रालयभित्र भने अवकाशअघि हुने सम्भावित सरुवा र ठूला आयोजनामा एउटै कर्मचारी बारम्बार पुग्ने प्रवृत्तिले सुशासनमाथि प्रश्न उठाएको भन्दै व्यापक चर्चा भइरहेको छ।

यसअघि पनि कर्मचारी प्रेस ले सचिव शर्माको अवकाशअघि सम्भावित सरुवा चलखेलबारे “अवकाशअघि सचिवको ‘ठूलो चलखेल’ : सुईहरूको सरुवा सूची तयार, कसलाई च्याप्ने कसलाई पेल्ने ?” शीर्षकमा समाचार प्रकाशन गरेको थियो। उक्त समाचार सार्वजनिक भएपछि सचिव शर्माले आफू घर जानुअघि कुनै पनि विवादित सरुवा नगर्ने भन्दै मन्त्रालयका सुई ( सुपरटेन्डेन्ट इन्जिनियर ) हरूसँग स्पष्टिकरण दिएका थिए।

स्रोतका अनुसार उनले त्यसबेला “नेपाली कागजमा लेख्न परे पनि लेख्छु, तर घर जानुअघि विवादित काम गर्दिनँ” भन्दै आश्वासन दिएका थिए। तर अहिले फेरि ठूलो बजेटको आयोजनामा सरुवा प्रक्रिया अघि बढेको भन्दै मन्त्रालयभित्रै प्रश्न उठ्न थालेको छ।

मन्त्रालयका एक सुईले भने सचिव शर्माको भनाइ र व्यवहारबीच ठूलो अन्तर रहेको टिप्पणी गरे। “उहाँ जे भन्नुहुन्छ, प्रायः त्यसको उल्टै हुन्छ,” ती अधिकारीले भने, “भनेको र गरेको मिल्दैन भन्ने गुनासो धेरै कर्मचारीको छ।”

सरुवा विवादकै विषयलाई लिएर केही अधिकारीहरूले आन्तरिक रूपमा आपत्ति जनाएका छन्। एक जना कर्मचारीले त सामाजिक सञ्जालमार्फत समेत असन्तुष्टि व्यक्त गरेका थिए।

यो पनि पढ्नुहोस्। 

२० अर्बको काँकडभिट्टा–लौकहीमा ‘शक्तिशाली’ सिडिइ कल्पना अधिकारी पठाउने तयारी, ठेकेदारको पाण्डेको लबिङ

अवकाशअघि सचिवको ‘ठूलो चलखेल’ : सुईहरूको सरुवा सूची तयार, कसलाई च्याप्ने कसलाई पेल्ने ?

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्रका दुई डीआईजीलाई थप एक वर्ष जिम्मेवारी

अवकाशअघि सचिव शर्माको ‘अन्तिम खेल’ २० अर्बे काँकडभिट्टा–लौकहीमा अधिकारी पठाउने तयारी

को – को बन्दै छन् मन्त्री ?

बढुवाको मुखैमा अर्काे सहसचिव निलम्बित

प्रधानमन्त्रीको पिएलाई बार्षिक डेढ अर्व बजेट रहेको कोषमा पाँच बर्षका लागि नियुक्ति

राजस्व अनुसन्धानका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध अनुसन्धान

‘ठूलो क्रान्तिकारी कदम नचाली कर्मचारीतन्त्र सुध्रदैन’

मलाई सफल पार्न आर्दश श्रेष्ठको ठूलो हात छ :प्रधानमन्त्री कार्की

बिशेष