प्रतिनिधि सभामा निर्वाचित १६५ सांसदमध्ये मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ सबैभन्दा जेष्ठ सदस्य रहेको भेटिएको छ । उनी सो जिल्लाबाट दुई हजार ४१५ मत ल्याउँदै विजयी हुँदा उपविजेता बनेकी नेकपाकी यशोदा सुवेदीले ४४६ मत प्राप्त गरिन् । गुरुङ विजयी भएपनि उनले सांसदको शपथ लिन पाउँछन् वा पाउँदैनन् भन्नेमा कानुनविद्हरुकै विचार बाझिएको छ ।
बिज्ञापन
कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले २०७९ फागुन १६ गते उनलाई दोषी ठहर गर्दै फागुन २५ गते १ करोड २१ लाख ८४ हजार ४०१ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । उनीविरुद्ध भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को स्वामित्वमा रहेको जग्गा भाडामा दिएको विषयमा भ्रष्टाचार चलेको थियो । सर्वोच्च अदालतका न्यायाधीश डा मनोज शर्मा र विनोद शर्माको इजलासले २०८० चैत १६ मा संसदमा भाग लिन पाउने फैसला गरेका थिए । उक्त फैसलाका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको थियो । हालसम्म उक्त मुद्दा विचाराधीन नै छ । गुरुङको उम्मेदवारी खारेज हुनुपर्ने भन्दै दयानिधि पौडेलले रिट दायर गरेका थिए । सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेपछि उनको उम्मेदवारी कायमै थियो । हाल गुरुङको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
उनले शपथ लिन पाउँछन वा पाउँदैनन् ? यो बिषयमा संघीय संसद सचिवालयका सचिव डा रोजनाथ पाण्डेसँग जिज्ञासा राख्दा निर्वाचित सांसदहरुले शपथ लिन पाउने विषयमा कुनै रोकतोक नभएको तर, पदमा बहाली हुने र नहुने कुरा मुद्दाको स्थितिमा भर पर्ने प्रतिक्रिया दिए । अहिले प्रतिनिधि सभामा निर्वाचित भएका १६५ सांसदमध्येका जेष्ठ हुन गुरुङ । उनी ७१ बर्ष पुगे । त्यस्तै ७१ वर्ष पुग्ने पुष्पकमल दाहाल प्रचण्ड पनि हुन । उनी भन्दा टेकबहादुर १५ दिनले जेठा छन् । यस्तै, नेपाली कांग्रेसको तर्फबाट अछाम १ बाट निर्वाचित भरतकुमार स्वार ७० वर्ष र म्याग्दी १ बाट निर्वाचित स्वतन्त्र संसाद महावीर पुन ७१ वर्षकै हुन् । यस्तै ६० कटेका एक दर्जन रहेका छन् भने यस पटक संसदमा युवाहरुको बाहुल्यता रहेको छ ।
काँग्रेसबाट समानुपातिकमा सबैभन्दा अगाडि रहेका अर्जुननरसिंह केसी रहेका छन् । सो पार्टीले प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले समानुपातिकमा १९ सिट ल्याउने देखिन्छ । कुल ३७ सिटको ३३ प्रतिशत छुट्टाउँदा १३ महिला उम्मेदवारलाई कांग्रेसले सांसद बनाउनुपर्छ । प्रत्यक्षमा एक सिट जितेकाले अब १२ महिला सांसद समानुपातिकबाट पठाउनुपर्नेछ। कथं अर्जुन नरसिंह केसी समानुपातिकभित्र तानिएको खण्डमा उनी नै जेष्ठ सांसद हुनेछन् र उनैले शपथ गराउनेछन् । संवैधानिक व्यवस्थाअनुसार जेष्ठ सदस्यले अन्य सांसदलाई शपथ खुवाउनेछन्। नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । नयाँ सभामुख र उपसभामुख चयन नभएसम्म यस्तो अभ्यास गरिन्छ।


























