प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)बाट प्रत्यक्षतर्फ उमेद्धार बनेका सबै पदाधिकारी पराजित भएका छन् । पदाधिकारीहरु मध्ये रामबहादुर थापा बादल र पद्या अर्याल समानुपातिकतर्फ बसेका कारण सुरक्षित रहेका छन् भने योगेश भट्टराईले त टिकटै पाएनन् । टिकट पाएर मैदानमा उत्रिएका अध्यक्ष,उपाध्यक्ष,महासचिव,सचिवहरु नै पराजित भएका हुन ।
बिज्ञापन
०४६ सालको जनआन्दोलनपछि शक्तिशाली पार्टीको रूपमा स्थापित भएको एमालेले २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा महत्त्वपूर्ण सिट जितेको थियो । २०७९ मा प्रत्यक्ष र समानुपातिक मतसँगै दोस्रो ठूलो दल बनेको पार्टीले माओवादीसँग एकता गरेर १७४ सिट जितेको सो पार्टीले हालै सम्पन्न निर्वाचनमा जम्माजम्मी सात स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि छ । सो पार्टीले हालसम्म समानुपातिकतर्फ ७ लाख २५ हजार मत प्राप्त गरेको छ ।
सोही पार्टीले गत २१ फागुनमा भएको निर्वाचनमा पार्टीका शीर्ष नेता केपी शर्मा ओली,उपाध्यक्षहरुका अलवा महासचिव शङ्कर पोखरेल लगायतका पदाधिकारीहरु पराजित भएका हुन । पार्टी अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट पराजित भएका छन् । ४८ साल यताका संसदीय खेलाडी मानिएका ओली ६४ सालमा माओवादीको ह्विम आउँदा यसैगरी पराजित भएका थिए । हालै सम्पन्न निर्वाचनमा ओलीले १८ हजार ७३४ मत मात्रै प्राप्त गरे भने रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले ४९ हजार ६१४ को फराकिलो मतान्तरले पराजित गरेका हुन । वालेनले त्यहाँबाट ६८ हजार ३४८ मत पाएर उनी विजयी भएका छन् ।
यस्तै पार्टीका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ मा पराजित भए । उनले १२ हजार ८६१ मत मात्र प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले ५६ हजार ५५० मतसहित विजयी भएका छन् । त्यस्तै, अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पनि लमजुङमा पराजित भए। उनले १६ हजार ८७६ मत ल्याए, जबकि रास्वपाका धर्मराज केसीले ३३ हजार ८९८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । यता,गोकर्ण विष्ट गुल्मी २ मा पूर्व डिएसपी तथा रास्वपाका नेता गोविन्द पन्थीसँग १६ हजार ८७८ मतले पराजित हुन पुगेका छन् ।
बिज्ञापन
महासचिव शङ्कर पोखरेल दाङ २ मा १२ हजार ३७९ मतान्तरले पराजित भए। राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन कुमार आचार्यले २० हजार ७४६ मत ल्याएर विजय हासिल गरे।एमाले उपमहासचिव लेखराज भट्ट कैलाली–४ मा पराजित भए । त्यहाँ रास्वपाका खेमराज कोइरालाले चुनाव जिते । कोइरालाले २८ हजार ५५६ मत ल्याए । ९ हजार ४४४ मतसहित भट्ट तेस्रो स्थानमा रहे । कांग्रेसका गोरखबहादुर विष्ट दोस्रो भए । विष्टले ११ हजार ३०१ मत ल्याए ।
उपमहासचिव रघुवीर महासेठ पनि पराजित भए । धनुषा–४ मा महासेठ तेस्रो भए । त्यहाँ रास्वपाका राजकिशोर महतोले चुनाव जिते । महतोले ४८ हजार २७० मत ल्याउँदा महासेठले ११ हजार ५२९ मत ल्याए । कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव दोस्रो भए । उनले १५ हजार ८०९ मत ल्याए । सचिव राजन भट्टराई तेस्रोपटक पराजित भए । उनी काठमाडौं–४ बाट पराजित भएका हुन् । त्यो क्षेत्रमा रास्वपाका पुकार बमले २९ हजार १२४ मत ल्याए । कांग्रेसका सचिन तिमिल्सेना आठ हजार ८२४ मत ल्याउँदा भट्टराईले पाँच हजार ७३३ मत मात्रै पाए ।
त्यस्तै, एमालेका सचिव भानुभक्त ढकाल तेह्रथुमबाट पराजित भए । उनी कांग्रेसका सन्तोष सुब्बासँग पराजित भएका हुन् । सुब्बाले ११ हजार ५६१ मत ल्याउँदा ढकालले १० हजार ६२८ मत पाए । अर्का सचिव महेश बस्नेत फराकिलो मतान्तरसहित पराजित भए । भक्तरपुर–२ मा रास्वपाका राजीव खत्री ३१ हजार ३३८ मतान्तरले हराउँदै सांसद निर्वाचित भएका हुन् । खत्रीले ४२ हजार ३३४ मत ल्याउँदा बस्नेतले १० हजार ९९६ मत प्राप्त गरे ।
एमाले सचिव शेरधन राई पनि पराजित भए । भोजपुरमा उनी श्रम संस्कृति पार्टीका ध्रुवराज राईसँग पराजित भएका हुन् । ध्रुवराजले १६ हजार ६६३ मत ल्याए । शेरधनले १४ हजार ७५० मत पाए ।
पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याल समानुपातिक सूचीमा छन् । सम्भवत अब एमालेको संसदीय फाँट हिजो माओवादीबाट आएका उनै रामबहादुर थापा वादलले सम्हाल्नेछन् । उपमहासचिव योगेश भट्टराईले भने टिकट नै हात पारेनन् ।उनको ठाउँबाट टिकट पाएका क्षितिज थेबे भने सो ठाउँबाट निर्वाचित भएका छन् ।


























