गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा र तोडफोड घटना जाँचबुझ गर्न गठित आयोगले आज (आइतबार) प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउँदै छ।
बिज्ञापन
प्रतिनिधिसभाको चुनावको परिणाम आइरहेका बेला जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाउने भएको छ।अनुसन्धानका क्रममा संकलन भएका प्रमाण र दस्तावेजहरूलाई वर्गीकरण गरेर आयोगको सचिवालयले शिलबन्दी गरिसकेको छ । ती कागजात पनि आयोगले प्रधानमन्त्रीलाई बुझाउनेछ । आज बिहान ११ बजे प्रतिवेदन बुझाउने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
गत ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगलाई सुरुमा तीन महिनाको कार्यादेश दिइएको थियो। आयोगले काम पूरा गर्न नसकेपछि सरकारले तीनपटक म्याद थपिसकेको छ। पहिलोपटक ८ पुसमा एक महिना र दोस्रोपटक ८ माघमा २० दिन थपिएको आयोगको म्याद २५ फागुनमा सकिँदै छ। आयोगले जाँचबुझको काम सके पनि निर्वाचन बिथोलिने डरले सरकारले नै चुनावपछिलाई धकेलेको थियो।
जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो। तीमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ।
बिज्ञापन


























