काठमाडौं । निर्वाचन आयोग ले धनुषा निर्वाचन क्षेत्र नम्बर–१ मा देखिएको अन्योलबारे स्पष्ट पारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भइसकेपछि मतपत्रमा रहेको ‘घण्टी’ चुनाव चिह्नमा खसेको मत के हुन्छ भन्ने जिज्ञासा बढिरहेको थियो।
बिज्ञापन
आयोगका अनुसार मतपत्र छपाइ प्रक्रिया अघि बढिसकेकाले प्रत्यक्षतर्फको मतपत्रमा घण्टी चिह्न यथावत् रहनेछ। तर कानुनी रूपमा उम्मेदवारी नै खारेज भइसकेपछि उक्त चिह्नमा खसेका मतलाई वैध मतका रूपमा गणना गरिने छैन। त्यस्ता मत स्वतः बदर मानिने आयोगको स्पष्टिकरण छ।
यस विषयमा पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया ले पनि कानुनी प्रावधान स्पष्ट रहेको बताए। उनले २०७९ सालको स्थानीय तह निर्वाचनमा एक गाउँपालिका अध्यक्षको उम्मेदवारी खारेज हुँदा सम्बन्धित चिह्नमा खसेका मत गणना नगरिएको उदाहरण स्मरण गराए। “उम्मेदवारी खारेज भइसकेपछि त्यो चिह्नमा परेको मत वैध मानिँदैन,” उनले भने।
आयोगले धनुषा–१ मा अब कायम रहेका उम्मेदवारहरूबीच मात्रै मतगणना हुने जनाएको छ। यसरी उम्मेदवार नभएको चिह्नमा मत खस्दा मतदाताको मत स्वतः बदर हुने भएकाले मतदातालाई सजग रहन पनि आयोगले आग्रह गरेको छ।


























