मन्त्री,सचिवदेखि उच्च पदस्थहरुमा विदेश भ्रमणको कतिसम्म लालचा प्रकट गर्दछन् भन्ने पछिल्लो उदाहरण हो,हालैको क्याविनेटको निर्णय ।
बिज्ञापन
मन्त्रिपरिषद्को पछिल्लो बैठकले एक मन्त्री,६ सचिवहरुको विदेश भ्रमण स्वीकृत गरेको छ । जसमध्ये सरकारले महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई अमेरिका पठाउने भएको छ । चुनाव गराउने मुख्य जिम्मेवारी पाएको अन्तरिम सरकारको म्याद मूलतः फागुन २१ सम्म मात्रै हो । तर अन्तरिम सरकारको मन्त्री भने कार्यकाल सकिएपछि अमेरिका जान लागेकी हुन । मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार मन्त्री श्रेष्ठ आगामी फागुन २५ गते अमेरिका गएर चैत पहिलो साता फर्कने छिन् । जसलाई मन्त्रिपरिषद्को अस्ति बसेको बैठकले स्वीकृत गरेको छ ।
क्याबिनेट बैठकले न्युयोर्कमा हुने राष्ट्रसंघीय महिलाको स्थितिसम्बन्धी आयोगको ७० औं सम्मेलनमा सहभागी हुन उनको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ । श्रद्धा श्रेष्ठ मंसिर २६ गते मन्त्री नियुक्त भएकी हुन् ।
उता,सोही क्याविनेटले ६ सचिवहरुको विदेश भ्रमण स्वीकृत गरेको छ । सरकारले कार्यविधि मिचेर अवकाश पाउनै लागेका सचिवलाई समेत विदेश पठाउन लागेको हो । कार्यविधि अनुसार अवकाश पाउनै लागेको कर्मचारीले सामान्यता विदेश भ्रमण गर्न पाउँदैनन्। अवकाश पाउन लागेका कर्मचारीको विदेश भ्रमण राज्यका लागि अनुत्पादक खर्च हो। यस नियमलाई मन्त्रालयका अन्य उच्च कर्मचारीहरूले पनि बारम्बार उल्लंघन गर्ने गरेका छन्।
आगमी चैत्र महिनामा अवकाश पाउन लागेका एक सचिवलाई सरकारी खर्चमा विदेश भ्रमण पठाउन लागिएको हो । सहसचिव जानु पर्ने कार्यक्रममा सचिव विदेश जान लागेको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालयका एक सहसचिव भन्छन्, माथिल्लो तहका कर्मचारीमा विदेश भ्रमण गर्ने लोभ यसरी बढेको छ कि आवश्यक नभएका कार्यक्रममा पनि सरकारी खर्चबाट विदेश भ्रमण गर्न गएको देखिएको छ। यहाँसम्मकी, विषयगत ज्ञान एउटा कर्मचारीसँग हुन्छ तर अर्को कर्मचारी ज्ञान नै नभएको कार्यक्रममा विदेश भ्रमणमा गएको देखिन्छ।’
बिज्ञापन
सरकारले फजुल खर्च रोक्न भन्दै कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्दै कार्यविधि बनाएको भए पनि यस्ता कार्यविधिहरु कागजमै सीमित हुँदै आएको छ ।

























