नेपाली कांग्रेसले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको प्रतिज्ञापत्रको पूर्णपाठ सार्वजनिक गरेको छ । सो पार्टीले २०० पृष्ठ लामो आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।कांग्रेसले घोषणापत्रलाई प्रतिज्ञापत्रको नाम दिएको छ । प्रतिज्ञापत्रमा कांग्रेसले भिजन १० समावेश गरेको छ । जहाँ एक दर्जन बढी बिषयबस्तुलाई काँग्रेसले मुख्य प्रथामिकतामा राखेको छ ।
बिज्ञापन
कांग्रेसले सुशासनका लागि प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्ने र मन्त्रालय घटाउने प्रस्ताव पनि अघि सारेको छ । काँग्रेसले संघमा १६ र प्रदेशमा ६ मात्रै मन्त्रालय बनाउने प्रतिज्ञा गरेको छ । काँग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्री अब दुई,दुई पटक मात्रै बन्न पाउने, गठबन्धन गरेर दल मिलाउनुपर्यो भनेर मन्त्रालय थप्ने व्यवस्था नगर्ने,सरकारी नियुक्तिमा दल होइन, अब्बल खोज्ने नीति अख्तियार गरेको छ । यस्तै नागरिकले पाउने सेवा कार्यालय केन्द्रित होइन, नागरिक केन्द्रित बनाउने कांग्रेसको प्रतिज्ञा छ । सेवा ढिलो भएमा क्षतिपूर्ति दिने व्यवस्था गर्ने समेत कांग्रेसले बताएको छ ।
कांग्रेसले संविधानसभा मार्फत २०७२ असोज ३ गते जारी भएको संविधानप्रति पार्टी पूर्ण प्रतिबद्ध रहेको जनाएको छ । तर संविधानमा उल्लेख भएको निर्वाचन प्रणालीमा कुनै पनि दलको बहुमत आउने सम्भावना नभएकाले निर्वाचन प्रणाली परिवर्तन गरेर बहुमत ल्याउन सक्ने बनाउने कांग्रेसले प्रतिज्ञापत्रमा समेटेको छ ।यस्तै संविधानको कुन-कुन धारामा संशोधन गर्ने र नयाँ के कानुन बनाउने भन्नेबारे स्पष्ट योजना पार्टीले प्रतिज्ञापत्रमा समेटेको छ । कांग्रेसले नयाँ प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालमा पार्टीको पहिलो प्राथमिकता पाँच वर्षभित्र भ्रष्टाचारमुक्त मुलुक बनाउने रहेको पनि उल्लेख गरेको छ ।
जहाँ भनिएको छ नेपाली कांग्रेस सरकारको सञ्चालन सिंहदरबारका बन्द कोठामा बसेर होइन जनताको प्रश्न र निगरानीका बीचमा रहेर हुनेछ । नेपाली कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर निर्वाचनपछि पार्टी सरकारमा गएमा कार्यान्वयन गर्ने विभिन्न योजना सार्वजनिक गरेको हो ।
कांग्रेसले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने संकल्पपत्र तयार गरेको पनि बताएको छ । कृषि, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रगत विधामा योजना बनाएर रोजगारी सिर्जना गर्ने संकल्प कांग्रेसको छ ।
बिज्ञापन

























