प्रत्यक्ष तर्फको निर्वाचनका लागि ६३ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ।
बिज्ञापन
मतपत्र छपाइका काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले गरिरहेको छ । आयोगका अनुसार, कुल दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा एक करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भएको छ । आइतबारसम्म बाँकी ३० लाख मतपत्र छपाइ गरेसँगै सबै मतपत्र छपाइ सम्पन्न हुने जनाइएको छ । आयोगका अनुसार,हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकूम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बाग्लुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, नवलपरासी पश्चिम, मोरङ्ग, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्गजा, बर्दिया, रुकुम पूर्वी भाग, दाङ, बाँके, नवलपरासी पूर्व, पाल्पा, अर्घाखाँची, रोल्पा, प्युठान, रुपन्देही, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट र काभ्रेपलाञ्चोक गरी जम्मा ६३ जिल्लाको छपाई तथा प्याकिङ्ग सम्पन्न भई सकेको आयोगले जनाएको छ । फागुन १ गते विहानसम्ममा १ सय ३३ निर्वाचन क्षेत्रको छपाई सम्पन्न भइसकेको आयोगले जनाएको छ।
यस्तै,यही अवधिमा कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लाको १२ निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी कार्य सम्पन्न भइसकेको जनाइएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि मिति २०८२ पुष २२ गतेबाट नमुना मतपत्र दश लाख अन्ठानब्बे हजार दुई सय छपाई सम्पन्न गरी विभिन्न जिल्लाहरुमा पठाई सकिएको जनाएको छ ।
यस्तै, समानुपातिक मतपत्र दुई करोड आठलाख तीस हजार छपाई सम्पन्न गरी प्याकिङ्ग तथा रुजु समेतगरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार,पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका लागि आवश्यक पर्ने जम्मा मतपत्र सङ्ख्या दुई करोड तीन लाख तेइस हजार छपाई गर्नु पर्नेमा २०८२ माघ १६ गते देखि छपाई शुरु गरी मिति २०८२ फागुन १ गते सम्म विभिन्न क्षेत्रका जम्मा एक करोड एकहत्तर लाख त्रिसष्ठ्ठी हजार मतपत्र छपाई भई पन्ध्र हजार तीनसय एकहत्तर बाकस प्याकिङ्ग सम्पन्न भएको छ ।

























